• nepalkuwait.com




  • photos

  • Advertise Here

कुसंस्कारलाई अन्त्य गर्न अरू सुजाताहरू पनि अघि सर्नुपर्छ:-मैना धिताल


  सुजाता र दागबत्ती,

                      आइतबार साँझ सयपत्री, रक्तचन्दन र श्रीखण्डले सजाइएको पशुपति आर्यघाटस्थित १ नम्बर चितामा उनका ‘सानो बुबा’ चीरनिद्रामा थिए । त्यसो त उनको प्राण पखेरू अघिल्लो दिन १२ बजेर १० मिनेट जाँदा नै उडिसकेको थियो । तर, पञ्चतत्त्वले बनेको भौतिक शरीरलाई त्यसैमा विलय गराउन हिन्दु परम्पराअनुसार दागबत्ती दिनुपर्ने कर्म बाँकी थियो । उनको अन्त्येष्टिमा सिंगो देश शोकमग्न थियो । आर्यघाट क्षेत्रको साँघुरो भूगोलले उनका सबै शुभेच्छुलाई अटाउन नसके पनि घर र कार्यालयमा बसेर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्नेहरू निकै भावविह्वल थिए ।  

छोरी सुजाताले बाबुलाई दागबत्ती दिएको त्यो क्षणलाई कतिले सामान्य र कतिले नयाँ रूपमा लिए । त्यसो त छोरीले दागबत्ती दिएको यो घटना नेपाली समाजमा पहिलो होइन । यसअघि पनि यस्ता घटना’bout समाचार आइसकेका छन् । सुजाता सामान्य एउटा नेपाली महिला मात्रै नभएर ‘हाइप्रोफाइल’ हुन् । यसर्थ यो अरूभन्दा महत्त्वपूर्ण छ । यसलाई महिलाको सांस्कृतिक अधिकारको दिशामा ‘ट्रेन्ड सेटिङ’का रूपमा लिन सकिन्छ । भनिन्छ नि, ‘ठूलाबडा’ ले गरेका सामान्य काम पनि सर्वसाधारणका लागि प्रोत्साहन र नमुना हुनसक्छ । तसर्थ, सामान्य महिलाले दिने दागबत्ती र महानायक,युगनायकजस्ता उपमा पाएका पिताकी उपप्रधानमन्त्री छोरीले दिएको दागबत्तीमा पक्कै पनि ठूलो अन्तर छ र यसको सन्देश पनि अर्थपूर्ण हुन्छ । नेपाली संास्कृतिक क्रान्तिमा यो आयाम हुनसक्छ ।

 अहिले पनि समाजमा मर्दाखेरी छोराले दागबत्ती नदिए स्वर्ग गइन्न भन्ने मान्यता कायमै छ । छोरा नै किन चाहियो भन्ने प्रश्नमा अधिकांश आमाबाबुको तर्क हुन्छ, मरेपछि दागबत्ती दिनलाई । नत्र वैतणर्ी तरिन्न । सोही कारण सन्तानको थुप्रो लाग्दा पनि छोरा कुरेर बस्ने मानसिकताले मानिसलाई गाँजेको छ । ज्यानलाई जोखिममा राखेर परिवार र समाजका लागि छोरा पाई दिनुपर्ने बाध्यतामा महिलाहरू आज पनि छन् । छोरा नभएपछि छोरीको भ्रूणहत्या गर्ने प्रचलन पनि उत्तिकै छ ।

यो घटनाले सन्तान सबै समान हुन् भन्ने छाप दिलाउन महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ । यस्ता घटनाबाट आममानिसमा सकारात्मक मनोवैज्ञानिक असर पर्न सहयोग पुग्छ । सांस्कृतिक परिवर्तन जबर्जस्ती ल्याउन खोजेर होइन,देशका ठूला पदमा रहेका सार्वजनिक व्यक्तित्व बोकेका व्यक्तिले त्यसतर्फ अलिकति ध्यान दिने हो भने यसले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण पनि हो ।

अर्कोतर्फ यसले लोकतन्त्रमा महिलाहरू सबै समान छन् भन्ने सन्देश दिएको छ । महिलाप्रति स्वर्गीय कोइरालाको ठूलो आदर थियो । छोरा चाहने बाबु र छोरी चाहने आमाबीचको विवादमा जन्मिएका थिए । ‘छोराको रूपमा जन्मिएर मैले आमालाई निराश तुल्याएँ’,उनले आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । ‘आमाले भन्नुहुन्थ्यो महिला र पुरुष बग्गीका दुई चक्का हुन्, दुबैलाई सँगसँगै लिएर जानुपर्छ’,उनले आत्मकथामा भनेका छन्,आमाको त्यही बचनका कारण जीवनभर मैले महिलाको सम्मान गर्नुपर्छ भन्ने मान्यता छोडिनँ ।’

कोइरालाको कार्यकालमा महिलाहरूले धेरै ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । सम्पत्तिमाथिको समान अधिकारदेखि संविधानसभामा ३३ प्रतिशत महिला सहभागितालगायत थुप्रै अन्य अधिकार स्थापित भएका छन् । बेलाबखत उनले महिलाहरूको कार्यक्रममा दिएका ‘म आधा महिला भएँ’,जस्ता वक्तव्यलाई लिएर गरिने ठट्यौला टिप्पणी पनि हुने गर्थे । तर त्यसभित्र उनको त्यो महिलाप्रतिको सम्मान र समान अधिकारको भावना दर्शिएको कुरा बिर्सन मिल्दैन । तिनै बाबुकी छोरी सुजाताले दिएको दागबत्ती नेपाली महिला अधिकार र सांस्कृतिक आन्दोलनको टर्निड प्वाइन्टहो । अझ सुजाताले आफंै काजकिरियाको काम सम्पन्न गरेको भए अझ उनको उचाइ बढ्ने थियो । । जेहोस्,जिम्मेवारी बहनका हिसाबले विस्तारै अघि बढ्दै गएका महिलाहरूलाई धार्मिक शोषणबाट पनि बाहिर निस्कन यस्ता घटनाले पक्कै पनि महत्त्वपूर्ण सन्देश दिन्छ । आफ्ना छोरा नभए नजिकको छोरा वा बनाएर भए पनि दागबत्ती र काजकिरिया गर्न लगाउने रूढीवादी संस्कारलाई यसले चुनौती दिएको छ । धर्मलाई गलत रूपमा व्याख्या गरिएको कुसंस्कारलाई अन्त्य गर्न अरू सुजाताहरू पनि अघि सर्नुपर्छ ।

One Response

  1. Best Artical and good profecational writer.best of luck R.B.Sir.

टिप्पणी छोड्नुहोस्