०६६ का १० ‘न्युजमेकर’


‘राजतन्त्र समाप्त भएको छैन’ भन्ने आशयको अभिव्यक्तिले वर्षको अन्त्यतिर पूर्वराजा ज्ञानेन्द्रलाई अचानक चर्चाको केन्द्रमा ल्यायो । सामान्य नागरिकका रूपमा वर्षभरि विवादमुक्त समय गुजारेका ज्ञानेन्द्र गत रामनवमीका दिन जनकपुरमा रवाफपूर्ण शैलीमा देखिएका थिए ।

उनले एउटा निजी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भने, ‘राजतन्त्र समाप्त भएको कुरा काल्पनिक हो । यो त समयक्रममा आउने र जाने भइरहन्छ ।’ उनको यही अभिव्यक्तिले सिर्जना गरेको तरंग अझै थामिएको छैन । कतिपयले उनको यसै भनाइलाई आधार मानेर पूर्वराजाले फेरि सक्रिय बन्ने मौका हेरिरहेको अड्कल काटेका छन् । पूर्वराजाको यस्तो अन्तर्वार्तालगत्तै नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट संवैधानिक राजतन्त्र ब्यँँताउनुपर्छ भन्ने विज्ञप्ति आउनुलाई गम्भीर रूपमा लिइएको छ । स्रोतका अनुसार नारायणहिटीबाट निकालिएर नागार्जुनमा बस्दै आएका शाह यतिबेला विभिन्न तह र तप्काका व्यक्तिहरूसित सम्पर्क र परामर्शमा व्यस्त छन् । ‘पूर्वराजाको पछिल्लो व्यवहारबाट उनले कुनै किसिमको सक्रियता चाहिरहेको देखिन्छ,’ ज्ञानेन्द्रका एक निकटवर्ती भन्छन् ।

गणतन्त्र स्थापनापछि राष्ट्रपति जाने कार्यक्रमहरूमा पूर्वराजा पनि जाने गरेका छन् । पनौतीको मेला होस् या काठमाडौंको पशुपतिनाथ मन्दिर राष्ट्रपतिलाई पछ्याउँदै पूर्वराजा गए । आमनागरिक र सञ्चारकर्मीको आकर्षण पनि राष्ट्रपतिभन्दा ज्ञानेन्द्रमै बढी केन्दि्रत छ ।

कालीबाबा नामका एक साधुले नेपाललाई हिन्दूराज्य कायम गर्नुपर्ने माग गर्दै वनकालीमा आयोजना गरेको महायज्ञमा पनि ज्ञानेन्द्र सहभागी भएका थिए । त्यहाँ उनले कांग्रेसनेता खुमबहादुर खड्काबाट न्यायो स्वागत पाए । पूर्वराजा ज्ञानेन्द्र यसै वर्ष नागरिक हैसियतमा भारत भ्रमण गएर लामो समय बिताएका थिए ।

 

सक्रिय-निष्त्रिmय-सक्रिय

परमानन्द झा

साढे पाँच महिनाको निष्त्रिmयतापछि फेरि सक्रिय भएका उपराष्ट्रपति परमानन्द झा यो वर्ष निकै समय चर्चामा छाए । हिन्दीमा शपथ खाएर विवादमा आएका उनले २४ माघमा नेपालीमा पुनः शपथ खाएर आफूलाई सुधारेका छन् ।

०६५ साल साउन ५ गते उपराष्ट्रपतिमा निर्वाचित भएका झाले ८ साउनमा संविधानविपरीत हिन्दीमा शपथ खाएपछि विवाद उब्जेको थियो । १० साउनमा अधिवक्ता बालकृष्ण न्यौपानेले उनीविरुद्ध सर्वोच्चमा रिट दायर गरे । यस रिटउपर ७ भदौमा सर्वोच्चले सात दिनभित्र नेपाली भाषामा शपथ नलिए पदको क्रियाशीलता समाप्त हुने फैसला सुनायो । झाले नेपाली भाषामा शपथ नलिने अडान लिएपछि उनी निष्त्रिmय बने र सरकारले उनलाई दिँदै आएको सुविधा फिर्ता लियो । उनको निवासबाट राष्ट्रिय झन्डा हटाइयो भने सरकारी सुविधा पनि खोसियो ।

विवाद बढ्दै गएपछि दलहरूले उनलाई फेरि सक्रिय बनाउने उद्देश्यले संविधानमै संशोधन गरी मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरे । २४ माघमा झाले दोस्रोपटक शपथग्रहण गरेपछि झा फेरि सक्रिय भए । पहिलो शपथमा धोती-कुर्ता लगाएर उपस्थित भएका झा दोस्रोपटक भने नेपाली राष्ट्रिय पोसाकमा सजिएका थिए । साथै उनले मातृभाषा मैथिली र त्यसपछि नेपाली भाषामा पनि शपथ लिएपछि शपथकाण्डको पटाक्षेप भयो । त्यसलगत्तै उनको निवासमा फेरि राष्ट्रिय झन्डा र सुरक्षाकर्मी फिर्ता भए ।

दोस्रोपटकको शपथग्रहणपछि जनस्तरमा लोकपि्रय हुन प्रयासरत छन् उपराष्ट्रपति झा । आजभोलि उनी सार्वजनिक कार्यक्रमहरूमा नेपाली राष्ट्रिय पोसाकमै प्रस्तुत हुन्छन् । पहिले आफू कामविहीन भएको भनेर पटकपटक गुनासो गर्ने गरे पनि अचेल गर्न छाडेका छन् । पटक गुनासो गर्ने गरे पनि अचेल गर्न छाडेका छन् ।

 

पुल्पुलिएकी सुजाता

सुजाता कोइराला

कांग्रेस केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री सुजाता कोइराला ०६६ सालभरि विभिन्न कारणले चर्चामा रहिन् । माओवादी नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्ने कदमलाई समर्थन गरेर वर्षको प्रारम्भमा चर्चित बनेकी सुजाता पछिल्लो समय एमआरपी प्रकरणका कारण चर्चामा छिन् ।

पार्टीका वरिष्ठ पदाधिकारी र केन्द्रीय सदस्यहरूको तीव्र असन्तुष्टिका बीच बाबु गिरिजाप्रसाद कोइरालाको हठका कारण सुजाताले सरकारमा सहभागी हुने मौका पाएकी थिइन् । कोइरालाले २१ जेठमा छोरी सुजाताको नेतृत्वमा सरकारमा सहभागी हुने ६ जना मन्त्रीको नाम प्रधानमन्त्री माधवकुमार नेपाललाई पठाएका थिए । यसको पार्टीका अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यले विरोध गरेका थिए ।

आफूलाई उपप्रधानमन्त्री नबनाएपछि परराष्ट्रमन्त्री रहेकी सुजाताले प्रधानमन्त्री माधवकुमार नेपालसँगको भारत भ्रमण रद्द गरिन् । उनले पूर्वसहमति पालना नगरेको भन्दै भ्रमण रद्द गरेकी थिइन् । पार्टीलाई समेत कुनै जानकारी नदिई भ्रमण रद्द गरेको भन्दै सुजातालाई संसदीय दलले ५ भदौमा स्पष्टीकरण मागेको थियो । ९ भदौमा बसेको कांग्रेस संसदीय दलको बैठकले सुजाताले दिएको स्पष्टीकरण चित्तबुझ्दो भएको भन्दै सफाइ दिने निर्णय गरेको थियो । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको पटक-पटकको दबाबपछि प्रधानमन्त्री माधवकुमार नेपालले २६ असोजमा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

मेसिन रिडेबल पासपोर्ट सुजाताकै हठका कारण भारतलाई छपाउन दिने निर्णय भएको छ । यस सम्बन्धमा भारतीय कम्पनीसित सम्झौता भइसके पनि सर्वोच्चले त्यसलाई कार्यान्वयन नगर्न आदेश दिएपछि सुजाता अप्ठेरोमा परेकी छिन् ।

 

लगामहीन बोली

विद्यादेबी भण्डारी

 

आफ्नो बोलीमा लगाम कस्न नसक्दा रक्षामन्त्री विद्या भण्डारी वर्षभरि पटक-पटक विवादमा तानिइन् । उनले कहिले आफ्नै पार्टीअध्यक्षको खिलाफमा बोलिन् त कहिले शान्तिसम्झौताविरुद्ध अभिव्यक्ति दिइन् ।

अध्यक्ष झलनाथ खनालको प्रधानमन्त्री बन्ने कुण्ठाका कारण पार्टीमा अराजकता बढेको बताएकी थिइन् भण्डारीले । त्यसैगरी शान्तिसम्झौताविपरीत उनले नेपाली सेनामा माओवादी लडाकु समायोजन गर्न रक्षा मन्त्रालय बाध्य नभएको भनाइ पटक-पटक सार्वजनिक गरिन् । त्यसक्रममा उनी आफ्नै पार्टीका प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत चुनौती दिन चुकिनन् । साथै उनले नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको पनि खुलेर आलोचना गरिन् । आफ्नै मन्त्रीलाई नियन्त्रण गर्न नसकेका प्रधानमन्त्री नेपालले रक्षामन्त्रीको भनाइ खण्डन गर्दै हिँड्नुपर्‍यो ।

सेनालाई नियमित अभ्यासका लागि विदेशबाट हतियार झिकाइनु शान्तिसम्झौताअनुरूप नै भएको पनि उनको जिकिर रहँदै आएको छ । मन्त्री भण्डारीका अभिव्यक्तिहरू विशेषगरी माओवादीविरुद्ध लक्ष्यित रहने गरेका छन् । शान्तिसम्झौताका नाममा लामो कालखण्डसम्म सेनालाई कमजोर र विद्रोही लडाकुको मनोबल बढाउने काम गरिनु नहुने भन्दै उनले नेपाली सेनाबाट भएका गलत कामको समेत बचाउ गर्ने प्रयास गरेकी छिन् । मैना सुनुवार हत्या-प्रकरण तथा मानवअधिकार उल्लंघनसम्बन्धी आरोपमा मुछिएका सेनाका मेजर निरञ्जन बस्नेतको मुद्दामा समेत भण्डारीले सेनाको कडा बचाउ गरेकी थिइन् । उनका अभिव्यक्ति र व्यवहारलाई लिएर प्रमुख प्रतिपक्षी माओवादीले धेरैपटक आपत्ति जनाइसकेको छ । भण्डारीको अभिव्यक्तिबाट मुलुकको शान्तिप्रक्रिया संकटमा परेको माओवादीले बताउँदै आएको छ ।

पछिल्लोपटक बर्दिया राष्ट्रिय निकुञ्जमा भएको गोलीकाण्डमा समेत सेनालाई जोगाउन खोज्दा उनी आलोचित बनेकी छिन् । सो घटनामा सेनाद्वारा मारिएका सर्वसाधारणलाई उनले चोरीसिकारीको संज्ञा दिएकी थिइन् ।

 

कीर्तिमान र विवाद

दीपक विष्ट

दक्षिण एसियाली खेलकुद -साग) मा चौथोपटक सहभागिता जनाउँदा तेक्वान्दो स्टार दीपक विष्टले आफूलाई सर्वकालीन महान् खेलाडीको सूचीमा उभ्याएका छन् । सागमा लगातार चारपटक स्वर्णपदक जित्ने उनी पहिलो दक्षिण एसियाली खेलाडी बने ।

१९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा पहिलोपटक स्वर्णपदक जितेका विष्टले त्यसको ११ वर्षपछि ढाकामा चौथो स्वर्णपदक जितेका हुन् । इस्लामावादमा सम्पन्न नवौँ दक्षिण एसियाली खेलकुदको फाइनलमा खुट्टा भाँचिए पनि उनी स्वर्णपदकबाट वञ्चित भएनन् । गत माघमा ढाकामा सम्पन्न ११औँ सागमा खुट्टाकै चोटका कारण डाक्टरहरूले नखेल्न सल्लाह दिएका थिए । तर, उनले त्यो मानेनन् ।

उनको अनुभव, आत्मविश्वास र साहस नै ढाका सागमा सफलताको कसी बन्यो । देशलाई ऐतिहासिक सफलता दिलाउने विष्टको सम्मानमा सारा मुलुक लाग्यो । तर, वर्षको अन्त्यतिर नेपाल ओलम्पिक कमिटीले पनि सम्मानकै रूपमा उनलाई सिंगापुरमा हुने युथ ओलम्पिक खेलकुदको तयारी बैठकमा भाग लिन सेफ द मिसनका रूपमा त्यहाँ पठायो । त्यहीबीचमा राष्ट्रिय खेलकुद परिषद् र कमिटीबीच मनमुटाव बढ्न थालेको थियो । ती दुई संस्थाबीचको जुँगाको लडाइँले गर्दा नै परिषद्ले दीपकमाथि एक वर्षको प्रतिबन्ध लगायो ।

दीपकले आफूबाट गल्ती भएको स्वीकार गरेपछि भने परिषद् आफ्नो निर्णयबाट पछि हटेको छ । ऐतिहासिक सफलतापछि पश्चिम नेपालका दीपकले अन्य कुनै नेपाली खेलाडीले नपाएको सम्मान पाएका छन् । ढाका सागपछि उनले नगद सम्मानका रूपमा नै लाखौँ रुपैयाँ कमाइसकेका पनि छन् ।

 

अटेरी सेनापति

रुक्मांगद कटवाल

रुक्मांगद कटवाल सम्भवतः नेपाली सेनाको इतिहासमै सर्वाधिक विवादित सेनापति बने । उनलाई बर्खास्त गर्न खोज्दा माओवादीले सरकारबाटै बाहिरिनुपर्‍यो ।

करिब तीन महिना प्रधानसेनापतिको कार्यकाल बाँकी रहेका वेला तत्कालीन माओवादी नेतृत्वको सरकारले कटवाललाई प्रधानसेनापतिबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । त्यही प्रकरणले राष्ट्रिय विवादको रूप लिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भए । प्रधानसेनापति हुँदा कटवालले सरकारको आदेश बारम्बार अवज्ञा गरे । नेपाली सेनाले लिएको नयाँ सैन्य भर्ना रोक्ने सरकारी आदेश उनले टेरेनन् । सर्वाेच्च अदालतको आदेशपछि रक्षा मन्त्रालयलाई नसोधी आठ जर्नेललाई जंगी अड्डामा हाजिरी गराए । यसैगरी, राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद प्रतियोगितामा माओवादी लडाकु सामेल भएको निहुँमा उनले सेनाले प्रतियोगिता नै बहिष्कार गर्‍यो । त्यस विषयमा ६ वैशाखमा मन्त्रिपरिषद्ले कटवाललाई स्पष्टीकरण सोधेको थियो । कटवालले ८ वैशाखमा पेस गरेको स्पष्टीकरण चित्त नबुझेको भन्दै २० वैशाखमा मन्त्रिपरिषद्को बैठकले कटवाललाई सेनापतिबाट बर्खास्त गरेको थियो । तर, कटवाललाई बर्खास्त गर्ने क्याबिनेटको निर्णय राष्ट्रपति डा. रामवरण यादवले उल्टाइदिए । प्रधानसेनापतिलाई बर्खास्त गर्ने निर्णय राष्ट्रपतिको निर्णयबाट कार्यान्वयन हुन नसकेपछि प्रधानमन्त्री प्रचण्डले २१ वैशाखमा पदबाट राजीनामा दिएका हुन् । त्यसपछि माधवकुमार नेपालको नेतृत्वमा ९ जेठमा बनेको सरकारले कटवाललाई बर्खास्त गर्ने पूर्ववर्ती सरकारले गरेको निर्णय फिर्ता लिएको थियो । पदावधि सकिएपछि कटवालले भदौमा अवकाश पाएका छन् । यसैबीच, शुक्रबार मात्र उनले पत्रकारसँग बोल्दै हिन्दूराज्य, राजतन्त्र र संघीयताका विषयमा जनमतसंग्रहले मात्र निर्णय गर्न सक्ने भनाइ सार्वजनिक गरेका छन् ।

 

करिमाको करामत

करिमा बेगम

‘नाम होस् बद्नाम होस् तर गुमनाम नहोस्’ भन्ने भनाइलाई कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले राम्रैसित आत्मसात् गरेकी छिन् । प्रमुख जिल्ला अधिकारीलाई हातपात गरेको घटनाले उनलाई यस वर्ष चर्चामा ल्यायो । आफूले भनेजस्तो गाडी उपलब्ध नगराएको निहुँमा गत कात्तिकमा उनले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई कार्यलयभित्रै कुटेकी थिइन् । कुटाइ प्रकरणले उनीसँगै प्रजिअ भण्डारी पनि चर्चामा आए । यस घटनाको सबैतिर विरोध भयो । घटनाको विरोध गर्दै कर्मचारीहरूले आन्दोलन गरे र मन्त्रीको राजनीनामा मागे । तर, प्रधानमन्त्रीले उनलाई कुनै किसिमको कारबाही गर्न सकेनन् ।

करिमाले यस घटनाबारे थरी-थरीका बयान दिँदै आएकी छिन् । कहिले प्रजिअले आफ्नो हात समातेको बताइन् भने कहिले जिल्लामा सुरक्षा कायम गर्न नसकेकाले एक्सन लिएको दाबी गरिन् । प्रजिअ भण्डारीले भने उनको भनाइ प्रायोजित भएको दाबी गरेका थिए ।

करिमालाई कारबाही गर्नुपर्ने माग राखेर निजामती कर्मचारी संघ/संगठनहरूले आन्दोलन गरेपछि उनलाई पर्साबाट पक्राउ पुर्जीसमेत काटिएको थियो । त्यसपछि उनी काठमाडौंमा आए पनि प्रहरीले समातेन । उनलाई प्रधानमन्त्री माधवकुमार नेपालले अप्रत्यक्ष संक्षरण गरे ।

करिमाले कुटपिट गरेको घटनालाई लिएर उनको पार्टी लोकतान्त्रिक फोरमभित्रै विरोध भएको थियो । करिमालाई कारबाही गर्न विभिन्न दलका नेताहरूले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए भने केहीले नैतिकताको आधारमा करिमाले राजीनामा गर्नुपर्ने माग पनि गरे । तर, न त उनले राजीनामा गरिन् न उनीमाथि कुनै कारबाही भयो । बरु उल्टै करिमाले कुटपिट गरेका प्रजिअ भण्डारीलाई गृह मन्त्रालयमा सरुवा गरियो । लोकतान्त्रिक फोरमबाट निर्वाचित सभासद् करिमा पहिलोपटक मन्त्री भएकी हुन् ।

 

मिलनका सूत्रधार

कालीबाबा

नेपाललाई हिन्दूराज्य कायम गरिछाड्ने उद्घोष गर्दै एकजना रुद्राक्षधारी साधु ०६६ सालमा चर्चामा आए । उनको यस उद्घोषलाई गम्भीर रूपमा लिइँदैन थियो होला, यदि पूर्वराजादेखि राजनीतिक दलका शीर्ष नेताहरूसम्म उनको पहुँच र सम्बन्ध नरहेको भए ।

साधु कालीबाबाले काठमाडौंमा ९ दिनको रुद्राक्ष अखण्ड महायज्ञ सम्पन्न गरे, जसको मूल ध्येय थियो नेपाललाई हिन्दू अधिराज्यका रूपमा पुनस्र्थापित गराउने । महायज्ञमा त्यतिवेला सबैको ध्यान तानियो, जब पूर्वराजा ज्ञानेन्द्रको त्यहाँ आगमन भयो र उनले कांग्रेसनेता खुमबहादुर खड्काबाट ‘भव्य’ स्वागत पाए । खुमबहादुरले खुलेरै धर्मनिरपेक्षको घोषणा खारेज गरी हिन्दूराज्य कायम राख्नुपर्ने माग गरे । यता, ज्ञानेन्द्रले घुमाउरो रूपमा त्यसको समर्थन गर्दै भने, ‘यदि जनताले चाहे भने हिन्दूराष्ट्र फिर्ता हुन सक्छ ।’

ज्ञानेन्द्र र खड्काको मिलनका सूत्रधार थिए कालीबाबा । महायज्ञभन्दा अगावै उनले देशका ‘ठूला मान्छेहरू’ सित भेट गरी हिन्दूराज्यको पक्षमा वकालत गरेका थिए । विभिन्न दलका नेताहरूलाई भेटेका उनको दाबी छ, ‘उहाँहरूले

हिन्दूराज्य फर्काउने मेरो अभियानमा साथ दिने वाचा गर्नुभएको छ ।’

झट्ट नाम सुन्दा उनलाई धेरैले भारतीय ठान्छन्, तर उनी विशुद्ध नेपाली साधु हुन् । ५६ वषर्ीय कालीबाबाको वास्तविक नाम कालीदास दाहाल हो, जो अहिले श्री श्री १००८ श्री बाबा कालीदासजी महाराज श्री कृष्णानन्द परम्हंस हो ।

ओखढुंगामा स्थायी घर भएका यिनी धेरै समय भारतमा बिताउँछन् र वेला-वेला नेपाल आउने गर्छन् । भारतका ‘ठूलाबडा’ सित पनि यिनको संगत रहेको बताइन्छ । तर, अपत्यारिलो कुरा के छ भने कालीदास विज्ञानका विद्यार्थी हुन् र उनले काठमाडौंको क्याम्पसमा भौतिकशास्त्रको अध्यापनसमेत गरेका थिए ।

 

टक्करपछि ठक्कर

रिजवान अन्सारी

आफ्नै पार्टीका प्रधानमन्त्री माधवकुमार नेपाल र विभागीय मन्त्री भीम रावललाई चुनौती दिएर तत्कालीन गृहराज्यमन्त्री रिजमान अन्सारी निकै चर्चामा आए । मन्त्री रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका उनले पार्टी नेतृत्व र प्रधानमन्त्रीसमेतले आफ्नो समस्या समाधान गर्न चासो नदेखाएको भन्दै राजीनामा नै दिए । उनी वर्तमान सरकारमा प्रतिनिधित्व गर्ने एमालेका एक मात्र प्रत्यक्ष निर्वाचित सभासद् थिए ।

काठमाडौंको सुरक्षित स्थान मानिने लाजिम्पाटको व्यस्त सडकमा सञ्चार उद्यमी जमिम शाहको दिउँसै हत्या भएपछि गृह प्रशासनको चौतर्फी आलोचना भएको थियो । देशभरि गृहमन्त्री रावलको राजीनामा मागियो । राज्यमन्त्री अन्सारीले शान्ति-सुरक्षाको स्थिति दयनीय हुँदै जानुमा मन्त्री रावलको कार्यशैली जिम्मेवार रहेको सार्वजनिक अभिव्यक्ति दिए । उनले पत्रकार सम्मेलन नै गरेर एक हप्ताभित्रै आफूलाई जिम्मेवारी नदिइए नैतिकताका आधारमा राजीनामा दिने घोषणा गरे ।

अन्सारीले सञ्चार उद्यमी शाहको शव आफंैले बोकेर सर्वसाधारणको सहानुभूतिसमेत बटुलेका थिए । गृहमन्त्री रावलविरुद्ध भने उनले लगातार सार्वजनिक अभिव्यक्ति दिइरहे । सरकारविरुद्ध नै आएको राज्यमन्त्री अन्सारीको सार्वजनिक अभिव्यक्तिलाई प्रधानमन्त्री नेपालले भने आफ्नो घाउमा नुनचुक दलेझैँ ठाने । र, अन्सारीले राजीनामा दिने घोषणा गरेको हप्ता दिन नबित्दै बालुवाटार बोलाएर राजीनामा मागे । २६ फागुनको दिउँसो राजीनामा दिएपछि उनले प्रधानमन्त्री नेपालसित सोधे, ‘मुलुकभरि गृहमन्त्रीको राजीनामा मागिँदै छ, तपाईंले मेरो राजीनामा माग्नुभयो, किन ?’ तर जवाफ पाएनन् । प्रधानमन्त्री र मन्त्रीसितको भिडन्तले अन्सारीको पद त गयो तर उनको राजनीतिक उचाइ बढाउनमा भने मद्दत नै पुर्‍यायो ।

 

अश्लील नायिका

नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठलाई भलाद्मी स्वभावकी आशलाग्दी प्रतिभाको रूपमा हेरिएको थियो । दर्जनौँ चर्चित म्युजिक भिडियोमा छाएकी नम्रताले ०६६ मा रिलिज भएको चलचित्र मेरो एउटा साथी छ बाट निकै तारिफ बटुलेकी थिइन् । तर, गत असोजमा डिजे तान्त्रिकसँग सहवासको अश्लील भिडियो सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनको उदीयमान करिअरमा दाग लागेको छ ।

सेक्स भिडियोका कारण उनी थुप्रै अवसरबाट वञ्चित हुनुपर्‍यो । उनको अश्लील भिडियो मानिसका हातहातमा पुग्यो । भद्र नायिका अश्लील नायिकामा परिणत भइन् ।

धेरैले ठानेका थिए, नम्रताको करिअर त्यहीँ सकियो । हुन पनि उनी केही समय गुप्तबासजस्तै बसिन् । तर, झन्डै तीन महिनाको गुमनाम जीवनबाट बाहिर निक्लेर नम्रता फेरि सार्वजनिक स्थानमा देखिन थालेकी छिन् । अहिले उनी आफ्नो डुबेको करिअरलाई ब्युँताउन फेरि लागिपरेकी छिन् । यद्यपि पछिल्लो समय उनलाई नायिका बन्न कुनै फिल्मबाट अफर आएको छैन । उनले एचआइभीपीडित एकता महतको वास्तविक जीवनमा बन्न लागेको एउटा फिल्ममा लागूऔषध दुव्र्यसनीको पात्रमा अभिनय गर्न लागेको चर्चा चल्यो । यद्यपि अहिलेसम्म त्यो फिल्म निर्माण भएको छैन । बीचमा उनलाई चलचित्र प्राविधिक संघको फिल्म अवार्डमा होस्ट बनाउनसमेत ठूलो कसरत भएको थियो । सर्वत्र विरोधका कारण त्यो योजना सफल हुन सकेन । तर, केही समयअघि उनलाई बिचक्रिकेटका लागि ‘गुडविल एम्बेसडर’ बनाइयो । त्यसमा उनका सहकर्मी नायिकाहरूले खुलेर विरोध नगरे पनि भित्रभित्र भने असन्तुष्टि पोखिरहेका छन् ।

नम्रताको सेक्स भिडियोलगत्तै कात्तिकमा अर्की मोडल तथा नायिका पूजा लामाको पनि उस्तै प्रकृतिको भिडियो सार्वजनिक भएको थियो । डिजे शिशिरसँगको उक्त भिडियोका कारण पूजा र शिशिरले कात्तिक १५ गते भद्रकाली मन्दिरमा अकस्मात् बिहे नै गरे । वैवाहिक सम्बन्धसमेत टिक्न नसकेपछि पूजा केहीअघि मात्र विदेश पलायन भएकी छिन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: