मलेसियाबाट देशराज अचेत अवस्थामा घर फिर्ता


योगेन्द्र ‘संघर्ष’ / मलेशिया

पैसा कमाउन विदेश गएका कञ्चनपुरका एक युवा अचेत अवस्थामा घर फर्केका छन् । मलेसिया बाट नांगै नेपाल फर्काइएका दभीमत्त नगरपालिका-१ भाँसीका ३३ वर्षीय देशराज बोहराको अहिलेसम्म होस खुलेको छैन । काम गरिरहेको अवस्थामा दुर्घटनामा परी घाइते भएका देशराज बोलचाल गर्न सक्दैनन् । उनलाई नाकको प्वालमा लगाएको पाइपबाट औषधि र झोल पदार्थ खुवाउनुपरेको छ । दिसा पिसाब पनि पाइपबाटै गर्नुपरेको छ । राम्ररी उपचार नगरी मलेसियाबाट उनलाई घर फर्काएको छ ।

गतवर्ष कात्तिकमा मलेसिया गएका देशराजले जानेबित्तिकै कम्पनीले भनेअनुसारको काम पाएनन् । तर पनि उनी मलेसियामा काम गर्दै आएका थिए । ‘राम्रो काम छैन, घर फर्किन्छु भन्थ्यो,’ उनका ५८ वर्षीय बुबा माधवसिंह बोहराले भने, ‘यहाँबाट पैसा पठाउन सकिनँ, ऊ र्फकन सकेन ।’ केही महिना मलेसियामा अलपत्र देशराजले नेपालीको सहयोगमा काम गर्न थालेका थिए । गत कात्तिकमा काम गरिरहेको अवस्थामा दुर्घटनामा परेपछि उनी जीवनमरणको दोसाँधमा पुगेका हुन् । ‘११ कात्तिकमा फोन गरेर केही दिनमा पैसा पठाउँछु भनेको थियो,’ उनकी २८ वर्षीया श्रीमती हीराले भनिन्, ‘पैसा त के आउँथ्यो, उल्टै १५ कात्तिकमा दुर्घटनामा परेको खबर आयो ।’ काम सकेर घर फर्किंदै गर्दा दुर्घटनामा परेपछि उनको परिवारलाई खबर आएको थियो । उनको उपचार मलेसियामा भइरहेको थियो । ६ महिनासम्म पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई नेपाल पठाइएको हो । दुर्घटना परेदेखि उनी होसमा आएका छैनन् । देशराज मलेसियाबाट अचेत अवस्थामै २१ कात्तिकमा नेपाल ल्याइएका हुन् ।

‘नयाँ लुगाकपडा किनेर पठाएको छोरो, यस्तो अवस्थामा फक्र्यो,’ उनका बुबा माधवसिंहले भने ‘नांगै आयो, लगाएका लुगा पनि उतै रहे ।’ देशराजलाई दुईजना चिकित्सकसमेत सँगै राखेर मलेसियन सरकारले नेपाल पठाएको हो । नाक र लिंगमा नली जोडेकै अवस्थामा अस्पतालको शय्यामा राखेझैँ गरी उनलाई नेपाल ल्याइएको हो । देशराजलाई काठमाडौंबाट परिवारले दुई दिनअघि महेन्द्रनगर पुर्‍याएका छन् । ‘काठमाडौंमा कट्टु किनेर यस (देशराज)लाई लगाएर ल्याएँ,’ रुँदै उनका बुबाले भने, ‘लास छोपेझैँ अस्पतालको हरियो कपडाले छोपेर ल्याएछन् ।’

६ महिनासम्म निको नभएपछि नेपाल फर्काइएका देशराजलाई उनको परिवारले घरमै राखेका छन् । नाकमा जोडिएको पाइपबाट झोल पदार्थ र औषधि खुवाउने गरेका छन् । उनी हलचल, बोलचाल केही गर्न सक्दैनन् । ‘कति बेला आँखा खोल्छन्, आँसुमात्रै झार्छन्,’ उनकी श्रीमती हीराले भनिन् । चिकित्सकले झोलऔषधि र झोलपदार्थमात्रै खुवाउनू भनेका छन् । घरमा आफूलाई खानसमेत केही नभएको बताउँदै उनकी आमाले पार्वतीले भनिन्, ‘भातको माड खुवाउँछौँ, अरू के हुन्छ ?’

सशस्त्र द्वन्द्वपीडित उनको परिवार डँडेलधुराबाट महेन्द्रनगर विस्थापित भएको हो । तत्कालीन विद्रोही माओवादी र सरकार दुवैले सताएपछि घरजग्गा छाडेर उनको परिवार महेन्द्रनगर आएको थियो । द्वन्द्वमा सबैथोक गुमाएका माधवसिंहले ऋण तिर्न एक्लो छोरा देशराजलाई ऋण काढेर विदेश पठाएको बताए । छोरालाईर् विदेश पठाउन लागेको एक लाख ५० हजार ऋण तिर्न उनले सकेका छैनन् । ‘कति बेला त मरिदिऔँ जस्तो हुन्छ,’ ओछयानमा पल्टाइराखेको छोरालाई देखाउँदै उनले भने, ‘नातिनातिनी मुख देख्दा रोकिन्छु ।’ देशराजका ३ वर्षकी छोरी र दुई वर्षको छोरा छन् । उनकी ५६ वषर्ीया आमा पनि बिरामी छिन् ।

पैसा कमाउन विदेश गएको एकमात्र छोरा अचेत अवस्थामा घर पुगे पनि उनलाई अस्पताल भर्ना गर्नसमेत सकिएको छैन । ‘अस्पताल भर्ना गर्न पैसा चाहियो,’ बृद्ध माधवसिंहले डाक्टरलाई घरमै बोलाएर नाक र लिंगमा जोडिएको पाइप बदलेको बताए । सरकारबाट उपचारका लागि सहयोगको अपेक्षा गरेका उनले छोरालाई छामेर रुँदै भने, ‘बेक्कारमा विदेश पठाएछु, यस्तो कसैलाई नहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: