पशुपतिनाथको कृपाले चलेको देश र केही निराशाका कुरा


दीपक अर्याल

गिरिजाप्रसादको निधनपछि धेरैको प्रश्न छ, “अब के हुन्छ? अनि धेरैको उत्तर छ, “यो देशमा केही हुँदैन।“ यी प्रश्न-उत्तरले भविष्यप्रति आश्वस्त हुन नसकेका आम नेपालीहरूले नेताहरूप्रति देखाएको अविश्वासलाई प्रतिविम्बित गर्छ। यो देशमा जे सुकै भए पनि नयाँ केही हुँदैन भन्ने मान्यताले जरो गाडेको छ र यो केही हदसम्म सत्य पनि देखिन्छ। कतिपयले देश “पशुपति नाथको कृपाले चलेको” भन्छन्। यसमा पूर्ण सत्यता त हुने कुरा भएन तर देश के ले चलेको छ र के ले चल्नेछ भन्नेच कुराको कुनै उत्तर नभएकाले देश जसरी चलि रहेको छ त्यो पक्कै कुनै दैवी शक्तिको भरोसामा चलिरहेको छ भन्दा फरक नहोला।

देश कानूनले चलेको छैन, विधी-विधानले चलेको छैन, कुनै पद्धतीले चलेको छैन। देशका नागरिकहरू न्याय पाउने कुरामा, आर्थिक प्रगतिका कुरामा अनि सामाजिक सुरक्षा, प्रहरी-प्रशासन, सरकार, नेता तथा कर्मचारीतन्त्र वा सामाजिक सम्बन्धहरूसँग विश्वस्त हुन सकेको छैनन्। सबैलाई सबैमाथि शंका लाग्छ। आफुले बाहेक अन्य सबैले देश विगारेको वा काम नगरेको महशुस हुन्छ। कसैले कसैको हितमा कुरा गरिरहेको छ भने पनि त्यहाँ कुनै स्वार्थ रहेको हुनसक्ने अनुमान गरिन्छ र उक्त कुरामा विश्वास गरिंदैन।
यो देशका नागरिकले बसको छतमा बस्दा दुर्घटना हुन सक्छ भनेर सम्झाउने बस चालकको मानवीयतामाथि विश्वास गर्दैन र उसलाई छतबाट धकेलेर मारिदिन्छ। यो देशका बस-चालकहरूले १० रूपैयाँका लागि सडक किनारामा हिडिरहेको मान्छेलाई मार्छ र त्यसमाथि गर्व गर्छ अनि कुनै संघ-संगठन वा एसोसिएसनले उक्त ज्यानमाराका पक्षमा आन्दोलन गरिदिन्छ। साँच्चै यो देश केले, कसका लागि, कसरी चलिरहेको छ? यो देश त्यस्तो देश बनेको छ, जहाँका डाक्टरहरू आफ्नो स्वार्थका लागि हड्ताल गर्न र विरामी मार्न अभ्यस्त हुन्छन् अनि उनीहरूलाई कुनै कानून लाग्दैन। उनीहरूलाई यस बापत कुनै घीन लाग्दैन, कुनै पश्चाताप छैन र ग्लानी छैन तैपनि दु:खी नेपाली जनताहरूले उनीहरूकै मुख ताक्नर वाध्य छन् र उनीहरूलाई नै देवता मान्नन वाध्य छन्।

यो देशमा जनताको करबाट पालिएको राज्यको सेनाले असहाय, उत्पिडित र गरिब समुदायको प्रतिनिधित्व गर्ने जनताको सामूहिक हत्या गर्छ अनि उक्त हत्याको वचावट गर्दै “कम्युनिष्ट पार्टीको प्रतिनिधित्व” गर्ने रक्षामन्त्रीले चोरी शिकारीको हत्या गरेकोमा सेनालाई स्यावासी दिन्छिन् र उसको पक्षपोषण गर्छिन्। यो देश त्यहीँ हो, जहाँ जनताको जीउ र धनको सुरक्षा गर्ने जिम्मा लिएका सुरक्षाकर्मीहरूबाट आफ्नै सहकर्मीको बलत्कार हुँदा गृहमन्त्रीले बलात्कार गर्नेलाई दण्ड होइन प्रोत्साहन दिन्छन्। यो त्यहीँ देश हो जहाँ उद्योगपति, सञ्चारकर्मीको हत्या प्रहरी प्रशासनकै मिलेमतो हुने गर्छ तर खोजविन र कारवाही हुँदैन। सायद हत्यामा संलग्न प्रहरी –प्रशासनलाई पुरस्कृत गरिन्छ।

तैपनि देश चलिरहेको छ। प्रगति, उन्नती र विकासको कुरा गरिरहेको छ। कसले गरिदिने हो, प्रगति, कसले गरिदिने हो विकास अनि केलाई मान्नेु हो उन्नती र प्रगति? अचम्म लाग्छ! साँच्चै यो देश कसले चलाइरहेको छ, कसरी चलिरहेको छ? शायद, यो कसैले चलाएर, कसैले चाहेर चलेको देश होइन। त्यसैले त मान्छेहरू “यो देश पशुपतिनाथको कृपाले” चलेको छ भन्छन्।

स्कुले विद्यार्थी विहान सात बजेदेखि कलेज वा विद्यालय होइन डान्स वार र बङ्कर पार्टी धाउँछन् अनि त्यसका विषयमा बोल्दा व्यक्तिगत स्वतन्त्रता हनन भएको मान्छन् भने त्यो देशको भविष्य के हुनेवाला छ धेरै विश्लेषण गर्नु पर्दैन र सकारात्मक भविष्यको मात्र आशा गर्नु त्यति उपयुक्त लाग्दैन। जुन देशका स्कुले वा कलेज पढ्ने युवा-युवतीको ध्याउन्न् पढ्ने भन्दा लड्ने, काट्ने, मार्ने वा ड्रग्स र मदिरामा हुन्छ त्यस्ता भविष्यका कर्णधारहरूबाट देशले कति आश गर्न सक्छ भन्नन गाह्रो छ। यसको अर्थ सबैलाई एउटै घानमा हाल्नु कदापी होइन तर समाज वा राष्ट्रमा बस्नेह प्रत्येक नागरिकका आफ्ना–आफ्ना कर्तव्य र भूमिका हुन्छन् र त्यो पुरा गर्नै पर्छ। पढ्नु पर्ने विद्यार्थीले नपढ्ने, पढाउनु पर्ने शिक्षकले नपढाउने, सोच्नु पर्ने र देश तथा समाजलाई मार्गनिर्देश गर्नु पर्ने वौद्धिक वर्गले सो नगर्ने, राष्ट्रलाई सही बाटोमा लग्नुम पर्ने नेताहरूले सो नगर्नु, शान्ति सुरक्षाको जिम्मेवारी लिएकाहरूले त्यो कर्तव्य पुरा नगर्न, अनि ज्यान बचाउने जिम्मा पाएका डाक्टरहरूले मानवाधिकारका नाममा वा आफ्ना फाइदा र राजनीतिक स्वार्थले हडताल गरेर मान्छे मार्नुलाई व्यक्तिगत स्वतन्त्रताका रूपमा बुझ्न सकिंदैन र मान्नर मिल्दैन। सबै स्वतन्त्रताहरूका सीमा हुन्छन् र स्वतन्त्रताका नाममा आफ्नो कर्तव्य तथा जिम्मेवारीबाट पन्छन मिल्दैन र पाईँदैन।

देशमा केही हुनका लागि आधार चाहिन्छ, त्यो आधार नै नभएपछि के का आधारमा देश प्रगति वा दुर्गतीतिर बढ्ने? त्यसैले गिरिजाप्रसादको निधनले देशलाई कुनै असर पार्दैन। उनको निधनले न त कसैलाई भविष्यप्रति चिन्तित बनाउनेछ न त उनीबाट वर्तमान नेताहरूले कुनै कुरा सिकेका र प्रेरणा लिएका छन् जसका आधारमा भविष्यको सुखद कल्पना नै गर्न सकियोस्।

२-४ दिन रूने र शोक मनाउने अनि विर्सने नेपाली बानीलाई गिरिजाप्रसादको निधनले पनि फरक बनाउने छैन। उनको निधनले उनीप्रति साँच्चै आदर गर्नेहरूलाई बाहेक अन्यको जीवनमा, विचारमा, काम-कार्यवाही र सोचाइमा कुनै परिवर्तन आउने छैन। हिजो जो जहाँ थियो, जस्तो सोचेको थियो, जे गरेको थियो त्यो नै गर्नेछ त्यो नै सोच्नेछ र त्यसरी नै अगाडि बढ्नेछ। समग्र मुलुकको मानसिकता वा ऐतिहासिक पृष्ठभूमि यस्तै थियो र हुनेछ। जतिसुकै एकताका कुरा गरे पनि, जतिसुकै मेलमिलापका कुरा गरे पनि र जतिसुकै गिरिजाप्रसादको नाम भजे पनि हाम्रो मानसिकतामा परिवर्तन हुनेछैन। हाम्रो कार्यसूचीहरू प्रभावित हुनेछैनन्।

हाम्रो काम, कारवाही, हाम्रो चिन्तन र हामीले अबलम्बन गर्ने कार्यप्रणालीहरूमा परिवर्तन हुनेछैन। यस्ता खोक्रा वाचा र प्रतिवद्धताहरू हामीले प्रत्येक मान्छेहरू मर्दा गर्ने गर्छौ र प्रतिवद्धता गरेको तेस्रो दिनमा विर्सनेछौं। हामी हाम्रो दिमागले, हाम्रो मनले, हाम्रो विचार र हाम्रो प्रतिवद्धताले चल्दैनौ। यो देश पनि चल्दैन। त्यसैले जे हुन्छ, त्यो पशुपतिनाथको कृपाले मात्र हुन्छ र हुनेछ। हाम्रो सोच, बुद्धि, विवेक वा योजनाले हुनेछैन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: