के भन्छन त पूर्व राजा ज्ञानेन्द्र शाह


सुमन गिरी, सुजितकुमार झा

प्रश्न : राजतन्त्र समाप्त भएपछि देश र जनता जुन मोडबाट गुजि्ररहेका छन् तपाईंले के महशुस गरि रहनुभएको छ यतिखेर ?

उत्तर : बहुमत जनताले जे चाहेका छन् यतिखेर त्यो नै हाम्रो चाहना हो । मेरो पनि त्यही हो, अहिले देशमा सर्वसाधरण जनताको जिउधन सुरक्षाको खाँचो छ जस्तो लाग्या छ मलाई । र हाम्रो प्रार्थना पनि त्यही छ देशमा शान्ति होस् नेपाली जनता र नेपाली दाजुभाइहरुले जे खोज्नु भएको छ त्यही होस्, सकेसम्म चाँडो होस् शान्तिपूर्वक होस्, सवैलाई अटाउने ठाउँ होस् र हाम्रा पुर्खाहरुले जसरी यो देशलाई एकताको सुत्रमा वाँधेका थिए त्यो माला कहिले पनि नचुँडोस् भन्ने हाम्रो चाहना हो ।

प्रश्न : राजतन्त्रको अन्त्य भएर मुलुकमा गणतन्त्र स्थापना भएपछि मुलुक कुन बाटोमा अघि बढेको भान हुन्छ ? मुलुकमा दण्डहीनता र अराजकता बढिरहेको छ र केही दिन अघि मात्र शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको निधन भएको छ । यतिखेरको मोडमा नेपाली राजनीति कतातिर अगाडि बढ्छ जस्तो लाग्छ यहाँलाई ?
उत्तर : यो कुरा मैले भन्नु भन्दा पनि सर्बसाधारणहरुलाई सोध्नु र उहाँहरुबाट त्यसको जवाफ लिनु तपाईंहरुलाई फाइदा हुन्छ जस्तो लाग्छ ।

प्रश्न : अब नेपाली जनताले यो देशमा राजतन्त्र कायम गर्न चाहे भने तपाईं तयार हुनुहुन्छ ?उत्तर : त्यो ‘हाइपोथेटिकल’ कुरा जस्तो तपाईंले सोध्नु भो तर राजसंस्थाको विषयमा होस् वा कुनै पनि राष्ट्रिय सवालको विषय होस् जनताको विचार, जनताको भनाइ, जनता जनार्दन नै हुन्छन् त्यसमा त्यसैले सबैले त्यो मान्नै पर्छ जस्तो लाग्छ मलाई ।

प्रश्न : राजतन्त्रको अस्तित्व समाप्त हुनुमा कहाँनेर कमजोरी भयो जस्तो लाग्छ यहाँलाई ब्यक्तिगत रुपमा ?

उत्तर : समाप्त भैसकेको छ जस्तो लाग्दैन, सर्बप्रथम । त्यसैले त्यो पनि अलि ‘हाइपोथेटिकल’ नै भयो । यो अब देशको इतिहासको पानाहरु पल्टाएर हेर्दा यो माथि जाने तल आउने, भित्रने बाहिरिने यस्तो कुराहरु भइराख्छ जस्तो लाग्छ मलाई । त्यसैले फेरि पनि म दोहोर्‍याउँछु यो कुरालाई जनताले नै यो कुरालाई गहन र जिम्मेवारीकासाथ विचार गरेर जे निधो गर्छन् त्यही नै सबैले मान्नु पर्छ ।

प्रश्न : पूर्व राजा ज्ञानेन्द्र बाहिर बसेर शक्तिको राजनीति गरिरहेको छ भन्नेहरु पनि छन् नि, तिनीहरुलाई के जवाफ दिनुहुन्छ ?
उत्तर : त्यसो भए त धेरै अगाडि धेरै कुरा गरिसक्थें होला, हाम्रो त्यो विचारै छैन, न त्यो नियत नै हो । देशमा अमन चैन, शान्ति होस भनेर नै केही नमानेर हामीले छोडेका हौं । नेपाली जनताले त्यसको मान्यता त्यसको मूल्य बुझ्याछन् जस्तो लाग्छ अनि जनतालाई नै दाजुभाइहरुलाई नै छाड्नुपर्छ यस्तो प्रश्न ।

प्रश्न : तपाईंको दिन कसरी वितिरहेको छ आजभोलि ? जनतालाई चासो पनि छ ।

उत्तर : अब के भन्ने जंगलमा बस्दाखेरि फाइदा पनि हुँदोरहेछ । शान्ति पनि हुन्छ विचार गर्ने मौका पनि पाइन्छ, तर अहिले चिन्ता छ यहाँ, राष्ट्रकै छ, राष्ट्रिय एकताको छ र सर्बसाधारणको राम्रोसँग कस्न पाउन् सुखसँग बस्न पाउन् भन्ने नै चिन्ता हो । अहिले मेरो दिनचर्या यसरी नै वितिरहेको छ ।

प्रश्न : कुनै समय थियो जतिबेला नेपाली जनताले राजसंस्थालाई निकै सम्मान गर्थे, देवता समान मान्थे, र यतिखेर समय र परिस्थिति फेरिएको छ । यतिखेर तपाईं आम नागरिक हुनुहुन्छ र आज सर्बसाधरणसँगै यात्रा गरेर आउनुभयो, कस्तो महशुस गर्नुहुन्छ त्यो शक्तिशाली राजा र एक जना सर्वसाधरण नागरिक, त्यो बीचको भिन्नता के छ ?

उत्तर : सर्वप्रथम त यो एक दुईवटा भ्रम मेटाउनु पर्छ । कहिले पनि शक्ति खोजेको पनि छैन राजाहरुले । कहिले पनि कुनै पनि राजाले म देउता हो भनेर बोलेको पनि छैन । त्यसैले त्यो त जनताको माया भनौं, जनताको विश्वासले भएको कुरा हो जस्तो लाग्छ । अहिले पहिले पनि मलाई त ब्यक्तिगत रुपमा जनताको माझमा जानको लागि कुनै अप्ठेरो पनि थिएन अहिले पनि छैन । अहिले आज पनि भनौं हामी जानकीको नगरीमा जनकपुरमा आइकन रामनवमीको दिनमा जानकी मन्दिरमा दर्शन गर्न पाउँदा र यो स्नेह माया ममता सर्वसाधरणले हामीलाई देखाए त्यसको मैले जवाफै दिन सक्दिन त्यो त जे जति र जसो बुझ्या छ मैले भित्र राख्या छु मैले बुझ्याछु, यो त भए जति सबै जनतालाई मैले धन्यवाद नै दिनुपर्छ, अरु के भन्नु ।

प्रश्न : नारायणहिटी काण्ड र माघ १९ को कु पछि नेपाली जनताले राजसंस्थालाई विस्तारै कम माया गर्न थालेको त सत्य हो नि ?

उत्तर : दुइटा कुरा छ त्यसमा । एउटा के भन्नु पाठ जनताले सिकाउँछ पनि र नेता वालाहरुले सिक्नुपर्छ । जनताले हामीलाई पनि त्यस्तै एउटा सन्देश दिएको हो कि राजाहरु सक्रिय नभएकै जनताले खोज्या हो कि त्यही एउटा पाठ मैले पनि सिकेको छु । तर जनताले विर्सनु हुन्न, राजा भनेको अभिभावकको रुपमा पनि लिनु पर्छ कहिले अनि त्यसको लागि जे गर्नु पर्छ त्यो समयमा कदम उठाउनै पर्छ र सर्वसाधरणको सुरक्षा रक्षा गर्नु पर्ने अवस्था आउँछ । त्यो समयको यसो विचार गर्दाखेरि परिस्थिति अर्कै थियो । अहिले जनताले अर्कै परिस्थिति र अर्कै मोडमा गइसकेको छ त्यसैले त्यो पछाडि फर्केर हेर्नुलाई मात्रै अब समय गइसक्या छ अगाडि देश कस्तो हुन्छ, समृद्ध सफल त्यस्तो देश हामीलाई अव चाहिएको छ त्यसैले त्यतातिर हामी सवै जुटेर जानु पर्छ जस्तो लाग्छ मलाई ।

प्रश्न : दरवार हत्याकाण्ड र माघ १९ राजसंस्था ढल्नुको मुख्य कारण हो भनिन्छ । र दरवार हत्याकाण्डको रहस्य अहिलेसम्म पनि खुल्न सकिरहेको छैन, तपाईं के भन्नुहुन्छ यो विषयमा ?

उत्तर : (गम्भीर हुँदै) सर्बप्रथम त म काठमाडौंमै थिइनँ यो घटना हुँदाखेरि । र जो जति हाम्रो परिवार छन् त्यो दुर्घटनामा बाँचेर आएका उनीहरुले भनेको कुरा सुन्दा र तथ्य सत्य पनि आयोगहरुमार्फत बाहिर आइसकेको छ । अब यी कारणहरु हुन् जसले राजसंस्थालाई केही न केही अप्ठेरो पारेको हो भने र माघ १९ को कदम पनि भन्छु म त्यो चाहिं अलिकति पछाडि फर्केर हेर्दा र अगाडि हेरेर हिँड्दा त्यो हो होइन भन्ने हामीलाई अझ विचारणीय कुरा जस्तो लाग्छ । जनतालाई नै यो कुरा छाडौं जस्तो लाग्छ, मलाई अहिले ।

प्रश्न : शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न बाँकी छ र संविधान निर्माण बाँकी छ । राजसंस्था पछाडिको शासन प्रणालीलाई के भन्नुहुन्छ तपाईं ?

उत्तर : (गम्भीर हुँदै) जनताले यही चाहन्छन् भने ठीक छ भन्नुपर्छ । तर देशलाई, सर्बसाधारणलाई यही ठीक छ, यही बाटो नै हिंड्नु पर्छ भन्ने हो भने हामीले केही भन्नु हुन्न । तर उहाँहरुलाई चित्त बुझेको छैन, कुनै न कुनै कुरामा कहीं न कहीं ठाउँमा हो भन्देखि जसले अहिले शासन गरिराख्या छ उहाँहरुले पनि विचार गरेर जनताको कुरालाई मान्यता दिनुपर्छ, जनताको हित र राष्ट्रको हितलाई हेरेर नै काम गर्नुपर्छ भन्ने हामीलाई लाग्छ ।

प्रश्न : तपाईंको भावी योजना के छ ?

उत्तर : नेपालमै बस्ने, नेपालको सेवा गर्ने, नेपालीको सेवा गर्ने । मेरो योजना त पहिले पनि त्यही थियो अहिले पनि त्यही छ र फेरि पनि त्यही हुनेछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: