एसएलसी झलक,मोरङमा दलहरूका आ-आफ्ना परीक्षाकेन्द्र/परीक्षा हलमै छोरी जन्माइन्


            काठमाडौ, चैत्र १२ – बिहीबारदेखि सुरु भएको प्रवेशिका परीक्षा केन्द्रमा भागबण्डाका आधारमा केन्द्राध्यक्ष तोक्ने विषयमा मोरङमा चर्को विवाद भएपछि तोकिएको एक परीक्षाकेन्द्र रातारात  परिवर्तन गरिएको छ ।शिक्षा कार्यालयमा भएको छलफलमा यसअघि निर्धारण गरिएको केन्द्र मधेसवादी दलको विरोधपछि परिवर्तन गरिएको हो ।

शिक्षा कार्यालयले बुधबार प्याब्सनको कोटामा परेको एभरेष्ट बोर्डिङ स्कुलको परीक्षाकेन्द्र रद्द गरी गोग्राहा उच्च माध्यमिक विद्यालयमा सारिएको हो । प्याब्सन मोरङले परीक्षामा दलहरूले भागबण्डा गरेको भन्दै आपत्ति जनाएको छ ।

विवादपछि मोरङको स्टार स्कुलका प्रमुख उद्धव पोखरेलले परीक्षाका लागि प्राप्त सामग्री र नगदसमेत फिर्ता गर्ने बताए पनि पछि फिर्ता नगरी सहमतिमा मिलाइएको छ ।

पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम पुरीले मोरङका ५१ परीक्षा केन्द्रमध्ये एमाले, काङ्ग्रेस र माओवादीले १२/१२ वटा, मधेसवादी दलहरूले ११ वटा र प्याब्सनले चारवटा कोटा पाएको जानकारी दिए ।

जिल्ला शिक्षा कार्यालय, मोरङका उपसचिव उपेन्द्र दाहालले भागबण्डा नभएर सबैको सहभागिता गराइएको प्रतिक्रिया दिए  । परीक्षा सञ्चालन गर्न कम्तीमा पाँच दिनअघि नै केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण गर्नुपर्नेमा विवादका कारण सो हुन सकेन ।

प्रवेशिका परीक्षा केन्द्रमा आˆनो विद्यालयका विद्यार्थी उत्तीर्ण गराउन केन्द्र रहेको विद्यालयका शिक्षकलाई नै प्याब्सनले केन्द्राध्यक्ष बनाउन जोड दिएको भन्दै शिक्षक सङ्गठनले विरोध गरेको थियो । 

प्रवेशिका परीक्षामा मोरङ जिल्लाका ५१ परीक्षा केन्द्रमा  १५ हजार ७९५  विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय, मोरङले जनाएको छ ।     दाङ  आजबाट सुरु भएको प्रवेशिका परीक्षामा  दाङको एक परीक्षाकेन्द्रमा परीक्षा सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी महिलाले पाएका छन् ।

जनता संस्कृत माध्यमिक विद्यालय,विजौरीमा केन्द्राध्यक्षदेखि सुरक्षाकर्मीसम्मको जिम्मेवारी महिलालाई दिइएको जिल्ला शिक्षा कार्यालय, दाङले जानकारी दिएको छ ।

सो केन्द्रको केन्द्राध्यक्ष सरिता देवकोटा रहेकी छन्  भने प्रहरी सहायक निरीक्षक नन्दा खड्काको नेतृत्वमा १० महिला सुरक्षाकर्मी खटाइएको छ । अन्य परीक्षाका गार्डहरू पनि महिला नै भएको केन्द्राध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

    दाङमा पहिलोपटक महिलालाई दिइएको यो कार्यको थालनीले समान अधिकारको सिद्धान्तलाई अवलम्बन गरेको बताउँदै देवकोटाले यसबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया दिइन ।

  महोत्तरी  आजदेखि सुरु भएको प्रवेशिका परीक्षामा महोत्तरी जिल्ला डाम्हीमडै-८ का ४८ वर्षीय भगिरथ यादव २३औं पटक सहभागी भएका छन् ।

जिल्लाको जनता माध्यमिक विद्यालय, डाम्हीमडैबाट पहिलोपटक २०४३ सालमा प्रवेशिका परीक्षामा सामेल भएका यादव लगातारको असफलताबाट निरास नभई यो पटक पनि परीक्षामा सहभागी भएका हुन् ।

भ्रमरपुरा परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका यादवको प्रवेशिका उत्तीर्ण गरी सुरुमा हुलाकमा जागिर खाने इच्छा थियो । तर उमेरको हदले सो नहुने भएपछि अब विद्यार्थीलाई ट्यूसन पढाउने आफ्नो ईच्छा रहेको उनले बताए । यसपटक भने प्रवेशिका उत्तीर्ण भएरै  छाड्ने उनको दाबी छ । सप्तरी

 आजदेखि सुरु भएको प्रवेशिका परीक्षाको पहिलो दिन सप्तरीको छुट्टाछुट्टै परीक्षा केन्द्रबाट प्रहरीले तीन नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

बभनगामाकट्टी, हनुमाननगर र राजविराजस्थित केअमाविको परीक्षा केन्द्रबाट ती नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।   

राजविराजको केअमाविमा पविमाविका विद्यार्थी ओमप्रकाश यादवको ठाउँमा परीक्षा दिन बसेका दीलिपकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी हनुमाननगर परीक्षा केन्द्रमा बभनगामाकट्टी माविका भगवती यादवको सट्टामा परीक्षा दिन बसेका शैलेशकुमार मण्डल र बभनगामाकट्टी परीक्षा केन्द्रबाट हनुमाननगरका विद्यार्थी विद्यानन्द मुखियाको सट्टामा परीक्षा दिन बसेका भुवनेश्वर मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ । यस्तै सोही केन्द्रबाट चिट चोराउने तीनजनालाई समेत पक्राउ गरिएको छ ।

यसैगरी अभिभावकको भीड हटाउने क्रममा प्रहरीले सामान्य लाठीचार्ज गर्दा एक अभिभावकको खुट्टा भाँचिएको छ । घाइते भएका लौनिया निवासी जितेन्द्र मण्डलको राजविराजमा उपचार भइरहेको छ ।

यस वर्षको प्रवेशिका परीक्षा मर्यादितरूपमा गराउन  हरसम्भव प्रयास गर्ने र पक्राउ परेकाहरूमाथि कानुनबमोजिम कारबाही गर्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले बताए ।बनेपा

खुला शिक्षा अन्र्तगत काभ्रेमा ५३ बर्षीया अर्चना राजभण्डारी ३३ बर्षपछि एसएलसीमा सहभागी भएकी छन् ।  २०३४ सालमा एसएलसीमा अनुतिर्ण भएपछि खुला शिक्षा अन्र्तगत यसपटक उनी पुनः एसएलसीमा सहभागी भएकी हुन् । खुला शिक्षा अन्तर्गत काभ्रेमा ६० जनाले एसएलसी दिइरहेका छन् । ८ हजार ८ सय ८३ जनामध्ये काभ्रेमा दुई जना दृष्टिबिहीन र ५ जना कैदीबन्दीले पनि परीक्षा दिइरहेका छन् ।बैतडी एसएलसी परीक्षा दिदै गरेकी एक युवतीले परीक्षा हलमै बच्चा जन्माएकी छिन । खेती उच्च मावि तल्लादेही केन्द्रबाट उनी परीक्षा दिईरहेकी तल्लादेही-९ सिलंगाकी २१ वर्षीया आरती थापाले बिहीबार परीक्षा सुरु भएको २० मिनेट पछि छोरी जन्माएकी हुन ।

०७५१४९५ ‘टी’ सिम्बोल भएकी थापा परीक्षा सुरु हुनु अगाडि सकुशल रहेकी थापालाई एक्कासि प्रसब ब्यथाले च्याप्ने बित्तिकै छोरी जन्मेको केन्द्राध्यक्ष गजबहादुर बिष्टले बताए ।  चितवन

कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठ हत्याकाण्डका दोषी गोविन्दबहादुर बटालाले पनि यसवर्षको एसएलसी परीक्षा दिएका छन् । उनले कारागार शाखाबाट एसएलसी दिएका हुन् । चितवनमा माओवादी लडाकुले पृथ्वी उच्च मावि, जुटपानी र चतुर्मुखी मावि शक्तिखोरबाट परीक्षा दिइरहेका छन् ।

 चितवनस्थित शक्तिखोरको तेस्रो डिभजनका ५ सय ९६ जना लडाकु जनसेना  बिहीबारदेखि सुरु भएको एसएलसी परीक्षामा सहभागी छन् ।  ती मध्ये १ सय ३५ छात्रा छन् ।    

प्रवेशिका परीक्षामा  चितवनबाट कुल १० हजार ४ सय ६१ विद्यार्थी सामेल भएका छन् । पोखरा

प्रवेशिका परीक्षामा कास्कीबाट ६ दृष्टिविहीन र ११ बहिरा विद्यार्थी सहभागी छन । अमरसिंह उच्चमावि पोखराका ६ दृष्ट्रिविहीन र सृजना बहिरा उमावि लेखनाथबाट ११ जना सुस्तश्रवण विद्यार्थी पनि सहभागी भएका हुन । यसैगरी खुला विद्यालयतर्फ २८ जनाले परीक्षा दिईरहेका छन ।

महेन्द्र मावि लामाचौरका विद्यार्थी राजन पौडेल आमाको र  विन्ध्यावासिनी उच्च माविका हितमान विक बाबुको काजक्रिया गरिरहेकै अवस्थामा परिक्षा दिईरहेका छन । यस्तै लागुऔषध मुद्धामा थुनामा रहेका विन्ध्यावासिनी उच्च मावि सराङकोटका विद्यार्थी सनम गुरुङले कास्की जिल्ला कारागारबाटै परीक्षा दिईरहेका छन । कास्कीमा ९८ सामुदायीक र एकसय २८ संस्थागत विद्यालयबाट ९ हजार ३१ विद्यार्थीले परिक्षा दिदैछन । सिन्धुली  यस वर्षको एसएलसी परिक्षामा सदरमुकामको फोस्रेटार परिक्षा केन्द्रबाट बाबु,छोरीलेसँगै परिक्षा दिएका छन् । नियमित तर्फबाट १५ वर्षीया छोरी जुना भुजेल तथा जिल्ला हुलाक कार्यालयमा कार्यालय सहायक रहेका ३८ वर्षीय लालवहादुरले नियमित खुलातर्फबाट एसएलसी परिक्षा दिएका हुन् ।

    त्यस्तै घरपरिवारको लाजले धुराबजारका काजी सुनुवार समेत खुलातर्फबाट एसएलसी परिक्षामा सामेल भएका छन् । छोराछोरी सबैले उच्च शिक्षा हासिल गरेकाले लाज बचाउन उनी परिक्षामा सामेल भएको बताउँछन् । ८ कक्षा पास उर्तिण गरेर प्राइभेट टेष्ट परिक्षा दिइ पास भएकाहरु खुलातर्फबाट एसएलसी परिक्षामा सामेल भएका छन् ।

    मालपोत कार्यालय काठमाण्डौमा कार्यरत सुव्वा गणेश भट्टराइ पेन्सनमा सुबिधा हुने भएकाले एसएलसी परिक्षामा समेल भएको दावी गर्छन् । सिचाइ डिभिजन कार्यालयका खरिदार कुसबहादुर कार्की पनि सुबिधा हुने भएकालेनै परिक्षामा सामेल भएको धारणा  राख्छन ।

    खुलातर्फका परिक्षार्थीहरु मध्ये जिल्ला शिक्षा कार्यालयका गाडि चालक अनिल मिश्रको धारणा भने बेग्लै छ । एसएलसी पास भएको गुरुजी बन्नलाइ परिक्षामा सामेल भएको उनको भनाइ छ । चालकहरुको पढाइ कम हुने भएकाले आफू अव्वल हुन एसएलसी पास गरेरै छाड्ने उनको धोको छ ।

त्यस्तै दुधौलीमा रहेको माओवादी लडाकुको २ नम्बर डिभिजन शिबिरका ६० जना लडाकुले स्थानीय लदाभिर केन्द्रबाट परिक्षामा सहभागि भएका छन् । शिक्षा कार्यालयका अनुसार यस वर्षको एसएलसी परिक्षामा नियमित तर्फबाट ४ हजार ८ सय ८७ र एक्जाम्टेड तर्फबाट १ सय ६० परिक्षामा सामेल भएका छन् ।    पाल्पा  पहिलो दिन विहिवारको अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

जिल्लाशिक्षा कार्यालयका अनुसार एसएलसी परीक्षाको लागि पाल्पाका शहर र ग्रामिण भेगमा २२ केन्द्र तोकिएको थियो । गतवर्ष २० केन्द्र थिए । यसवर्ष दुई परीक्षा केन्द्रथप भएका छन् ।

परीक्षा केन्द्र र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको छनौट, सुरक्षाकर्मीको व्यवस्था लगायतका विषयमा समन्वय राम्रो भएकोले परिक्षा पनि शान्तिपूर्ण भएको शिक्षा कार्यालयले बतायो ।

जिल्लाका ५ हजार ६ सय ३० जना विद्यार्थीले एसएलसी दिएका छन् । विहीबारको अंग्रजी विषयको परिक्षामा नियमित तर्फ १२ जना र एक्जाम्टेडका ३९ जना अनुपस्थित भएका छन् । झडेवा, रिङ्गनेरह र गल्धामा फोन सम्पर्कमा कठिनाई भएकोले अनुपस्थितको संख्या आउन नसकेको शिक्षा कार्यालयका लेखापाल लिला अर्यालले बताए ।

नियमित तर्फ २ जना दृष्टिविहिनले परीक्षा दिए । दमकडा उच्च मावि केन्द्रवाट सोहि विद्यालयका दुईजना दृष्टिविहीनलाई सहयोगी राखेर परिक्षा दिलाइएको छ । दृृष्टिविहीन कपिलबस्तुकी विन्दु अर्याल र पाल्पाका गणेश विक सहित ४ हजार ९ सय ७३ जनाले एसएसलीमा सहभागिता जनाएका छन् ।

एक्जाम्टेड तर्फ ६ सय ५७ छन् । यस बर्षको एसएलसी परीक्षामा सवैभन्दा बढि विद्यार्थी जनता नमुना उच्च मा.वि तानसेनवाट २ सय ८ जना र सवैभन्दा कम देववाणी संस्कृत माध्यमिक  विद्यालय तानसेनवाट ९ जना सहभागी भएकाछन् ।

यसैबीच पाल्पामा एमाले, कांग्रेस र माओवादी निकट संगठनका व्यक्तिलाई भागवण्डा गरेर केन्द्राध्यक्ष तोकिएको छ । परीक्षा समन्वय समितिले शिक्षक यूनियनलाई मिलाउने जिम्मा दिएको थियो । यूनियनले २२ केन्द्र मध्ये ७/७ स्थानमा नेपाल शिक्षक संघ, शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनलाई भागवण्डा गरेको छ । एक स्थानमा प्याव्सनलाई कोटा दिएकोछ ।

यूनियनका अध्यक्ष लक्ष्मण बस्यालका अनुसार संघ, संगठन र अखिल नेपाल शिक्षक संगठनबीच बसेर छलफल गरी सबैलाई बरावर केन्द्राध्यक्ष दिलाएको हो । यसवर्षको एसएलसी परीक्षामा नेपाल शिक्षक यूनियनको पहलमा प्राथमिक तहका शिक्षकहरुलाई मात्रै निरीक्षक राखिएको छ । चिट चोराउने प्रवृत्तिलाई निरुत्साहन गर्न सबै केन्द्रमा यस्तो व्यवस्था गरिएको उनले बताए ।    

सङ्खुवासभा एसएलसी परीक्षामा २१ वर्षदेखि सामेल हुँदैआएकी कमला राईले यसवर्षको एसएलसीमा पुनः परीक्षा दिएकी छिन् ।

महेन्द्र मावि पाङ्मामा अध्ययन गरेकी वर्ष ४० की कमला राई हिमाल उच्चमावि परीक्षा केन्द्रबाट २१सौ पटक परीक्षामा सामेल भएको जिल्ला शिक्षा अधिकारी दीर्घध्वज चापागाईंले जनाएका छन् ।

त्यसै सोही परीक्षा केन्द्रमा ३८ वर्षकी मेनका कट्टेलले समेत कैयौपटक प्राइभेट परीक्षा दिदैआएकी केन्द्रका अध्यक्ष हेमराज रोक्काले जनाएका छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: