चिता जलिरह्यो, आँसु बगिरह्यो


वाकिटाकी बोकेका भीआईपीका अंगरक्षकसमेत सुकसुकाउन

मन्टिखाटारबाट बिहान ७ बजे निकालिएको कोइरालाको पार्थिव शरीर १२ घन्टापछि पशुपति आर्यघाट पुग्दा अन्त्येष्टिमा सहभागी हजारौंका आँखा रसाउने क्रम बढ्यो । अपराह्नदेखि आर्यघाटमा भेला भएकामध्ये केही ‘कोइराला अमर रहुन्’ भन्दै नारा चर्काउन थाले ।   रक्तचन्दन, श्रीखण्ड र सयपत्रीले सजाइएको चितामाथि चीरनिन्द्रामा सुतेका पिताको पार्थिव शरीरलाई जब छोरी सुजाताले दागबत्ती दिइन् त्यसपछि उनकै आँखा पनि ओभानो रहन सकेनन् । हल्का पहेंलो रंगको धोती पहिरिएर दागबत्ती दिइरहेकी उनी चिताछेउ उभिनै नसक्ने भएपछि पशुपति विकास कोषका कर्मचारी, कांग्रेसका वरिष्ठ नेता र कार्यकर्ताले सम्हाल्दै मलामीघरको पेटीमा सारे ।

दागबत्तीसँगै वाग्मतीवारि पन्ध्रशिवालयको पेटीमा शिर झुकाएर सलामी अर्पण गरिरहेका नेपाली सेनाले राष्ट्रिय गान बजाएपछि केही डाँको छाडेरै रुन थाले । त्यसमा पनि महिला सभासद र नेतृ बढी देखिन्थे । शंखको धून, शुभचिन्तकको रुवाइ, लामाहरूको शान्तिमन्त्र र धूपको बासनाले आर्यघाटको माहौललाई शोकमा डुबाउँदै लग्यो । चिताछेउ कोइरालाका परिवारजनसँगै बसेका मन्त्री, सभासद, वरिष्ठ नेता, विशिष्ट कर्मचारी, कलाकार, पार्टी कार्यकर्तालगायतका सहभागी रुमाल झकिदै रसाएका आँखा  पुछ्न थाले ।

वाकिटाकी बोकेका भीआईपीका अंगरक्षकसमेत सुकसुकाउन

थाले । ८ बजेको अँध्यारो साँझमा चिता बलिरहँदा कोइरालालाई प्रेरणाको स्रोत मानेर आर्यघाटमा पुगेका शुभचिन्तक युवायुवतीले राष्ट्रिय र चारतारे झन्डा फहराउँदै चर्को स्वरमा नाराबाजी गरिरहे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शवयात्रा ननिस्किनुअघि नै पशुपति आर्यघाट सर्वसाधारणले भरिसकेको थियो । भीड बढ्न थालेपछि  सुरक्षाकर्मी र कोषका कर्मचारीले जीर्ण सत्तल, देवल, मन्दिर लगायतका सम्पदामा दुर्घटना हुनसक्ने भएकाले भीड नगर्न सचेत गराएका थिए । आर्यघाटका दुई जीर्ण पुलमा सुरक्षाकर्मीले दिनभर भीड नै हुन दिएनन् ।  चिता वरिपरि भीआईपी र तोकिएकाबाहेकलाई उभिन कडाइ गरिएपछि आर्यघाटमा ओइरिएका सर्वसाधारणले पन्ध्रशिवालय, ब्युटिफुल डाँडा, विरुपाक्ष मन्दिर, बिरामी कुरुवा सत्तल, गंगामाई, नागिनी कुटी भरिए । त्यसमा पनि भत्केका पाटी, सत्तल, बार्दली, छानालगायतका सम्पदामा पनि सर्वसाधारण भरिएका देखिन्थे ।

दागबत्ती हेर्ने धोको बोकेर आएका केही युवा मृगस्थलीछेउका बाँदर बस्ने सिलिङ्गे र मयलका रूखमा दिउँसैदेखि बसेका थिए । शवयात्रा आर्यघाट पुग्नुअघि नै नदी किनारामा उभिएका सर्वसाधारण शव ल्याइएपछि वाग्मती नदीमै अबेरसम्म उभिनै रहे ।

आर्यघाटमा स्थान अभाव भएकाले प्रहरीले किरियापुत्रीघर र पोडेपाटीबाटै सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको थियो । सर्वसाधारणका लागि तिलगंगाको काउन्टर रहेको मार्गचाहिँ खुला गरिएको थियो । आर्यघाटको चिता आसपास खाली स्थान नभेट्ने सर्वसाधारण साना मन्दिरभित्र मूर्तिसँगै खाँदिएर बसेका थिए ।

सरकारले कोइरालालाई राजकीय सम्मान दिने घोषणा गरेपछि कोषका कर्मचारीले वाग्मती नदीलाई आइतबार बिहानै थुनेका थिए ।

जागे, गन्जी, पन्जा र गम्बुट लगाएका उपत्यका सशस्त्र प्रहरी गणका जवानसहित कोषका कर्मचारीले थुनेको नदीको सतह सफा गरेका थिए । नदी सफाइपछि कोषले पानीमाथि सयपत्री फूल छरेर सजाएको थियो ।

हात-हातमा थुन्चे र कुचो बोकेका उनीहरूले पशुपति मन्दिर, आर्यघाट, सूर्यघाट र सडक पनि सफा गरेका थिए । नदी सफासँगै पशुपतिमा खटिएका सशस्त्र प्रहरी जवानले करिब ४ सय बोरा बालुवाले आर्यघाटको एक नम्बर चिता फराकिलो बनाएका थिए ।

 कोषका अनुसार दरबार हत्याकाण्डमा परेका तत्कालीन राजा वीरेन्द्र, युवराज्ञी श्रुति र दीपेन्द्रको शव जलाइएको चितामा यसअघि माओवादीनिकट दुई कार्यकर्ताको अन्त्येष्टि गरिएको थियो । उक्त चितामा कोइरालाको शव तेस्रो

थियो । २०५४ साल यता घाट व्यवस्था समितिले शव दर्ता गर्दै आएको छ । त्यसयता कोइरालाको शव ७९ हजार १ सय २० नम्बरमा परेको थियो । अन्य सर्वसाधारणलाई १ हजार ५० शुल्कमा २ सय ५० किलो दाउरा उपलब्ध गराउँदै आएको कोषले कोइरालाका लागि ५ सय किलो दाउरा र २ सय ५० किलो रक्तचन्दन छुट्याएको थियो । ‘दरबार हत्याकाण्डपछि राजकीय सम्मान पाउने उहाँ पहिलो व्यक्ति हो,’ कोषका अधिकृत सीताराम रिसालले भने । उनका अनुसार आइतबार कोषका ३ सय कर्मचारी अन्त्येष्टिमा खटेका थिए ।

कोषले २ हजार बढी सयपत्रीका मालाले वाग्मती नदी, चिता र वरिपरि सजाएको थियो । कोइरालाको अन्त्येष्टि गरिनुअघि कोषका सदस्य सचिव सुशील नाहाटासहित कर्मचारीले पैयुँका हाँगा, दुबो, काँचो धागो, कपुर, धूप र कात्रोले चिता सजाएका थिए ।

चिता सजाउने  व्यवस्थापनमा संस्कृतिमन्त्री मिनेन्द्र रिजाल, कांग्रेस नेता नारायण खडका पनि खटिएका थिए । यसअघि बिहानै सुजाताले चिताको निरीक्षण गरेकी  थिइन् ।

अव्यवस्थित भीडमा एक प्रहरीसहित ९ जना बेहोस र एक घाइते भएका थिए । तीनवटै सुरक्षा निकायका प्रमुखसमेत सहभागी भए पनि आर्यघाटमा प्रहरीले भीड व्यवस्थान गर्न सकिरहेको थिएन ।  

मौखिक, इशाराका भरमा तर्साउँदै, हप्काउँदै र बल प्रयोग गरी  प्रहरी सर्वसाधारणलाई नियन्त्रण गर्न खोजिरहेको थियो । सर्वसाधारण उभिएको स्थानमात्र नभई प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्ति उभिने आर्यघाटको बिरामी कुरुवाघरमा समेत प्रहरी भीड व्यवस्थापन गर्न सकिरहेको थिएन । कुर्ची नभएकाले विशिष्ट व्यक्ति पेटी र भुइँमा थुचुक्क बस्न बाध्य थिए । आर्यघाटमा देखिएका अधिकांश प्रहरीका विशिष्ट अधिकृत एउटै काममा बारम्बार कनिष्ठ कर्मचारीलाई अर्‍हाउँथे । उनीहरू निष्कर्ष दिन र खट्न सकिरहेका थिएनन् । विशिष्ट व्यक्तिलाई पानीका बोतल भए पनि सर्वसाधारणले पानी र शौचालयको व्यवस्था नगरेकामा गुनासो गरेका थिए । अधिकांश महिला तथा बालबालिकाले सञ्चारकर्मी र प्रहरीसँग पानी मागिरहेका थिए । कमजोर व्यवस्थानमा पनि अधिकांश शुभचिन्तक चिता जलिरहुँन्जेल आर्यघाटमै सुकसुक गरिरहेका थिए । अँध्यारो बढ्दै गएपछि सबैका आँखा चितामै केन्दि्रत देखिन्थे । आर्यघाटमुन्तिर जलिरहेका दुई सर्वसाधारणका चिताका मलामी पनि कोइरालाकै चितालाई टुलुटुलु हेरिरहेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: