कोइरालाको देहावसानले देश स्तब्ध / बजार बन्द, चोकचोकमा शोकसभा, मुण्डनको लहर


                  (काठमाडौं), नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनले राष्ट्र शोकमग्न भएको छ। मन्त्रिपरिषद्को बैठक बसी आइतबार र्सार्वजनिक बिदा दिने घोषणा गरेपछि देशभर सरकारी एवम् निजी कार्यलयहरूसमेत बन्द भए। निधनको खबरले हिजो बिहानैदेखि देशभरका प्रमुख बजार बन्द रहे भने उद्योग, कलकारखाना सञ्चालन भएनन्। त्यसै गरी कांग्रेस कार्यकर्ता एवम् कोइरालाका शुभेच्छुकहरू चोकचोकमा भेला भई श्रद्धाञ्जली अर्पण गरेका समाचारहरू प्राप्त भएका छन्। 

कोइरालाको निधनमा शोक व्यक्त गर्दै आइतबार झापाको गौरीगन्जमा युवाहरूले सामूहिक केश मुण्डन गरेको झापा संवाददाताले जनाएका छन्। कोइरालाको निधनले एक जना युग पुरुषको अभाव महसुस गर्दै स्थानीय ३० जना युवाले स्वतःस्फूर्तरुपमा केश मुण्डन गरेका हुन्।

यसै गरी कोइरालाको निधनले उद्योगी व्यवसायीलाई ठूलो क्षति पुगेको महसुस गर्दै उद्योग वाणिज्य महासंघको आहवानमा झापाका साथै पूर्वाञ्चलका उद्योग व्यवसाय र बजारहरू प्रायः बन्द भएका छन्। महासंघको आहवानअनुरुप दमक उद्योग वाणिज्य संघमार्फ दमकका उद्योग व्यवसाय बन्द गरिएको छ। नेपाली कांग्रेस, माओवादी, एमालेलगायतका दल एवम् स्थानीयबासीको तर्फाट संयुक्त रुपमा शोकपुस्तिका राखी दमकमा कोइरालाको तस्वीरमा मार्ल्यापण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ।

कांग्रेसका झापा जिल्ला समितिले बिर्तामोडस्थित पार्टीकार्यालयमा र दमक नगर समितिको कार्यालयमा शोकपुस्तिका राखिएको जिल्ला सभापति सुधीरकुमार शिवाकोटीले बताएका छन्। त्यसै गरी लिम्बुवान संगठनहरूले बिर्तामोडचोकमा उसैगरी शोकपुस्तिका राखेका छन्। विभिन्न संघसंस्थाले जिल्लाको तोपगाछीमा शोकपुस्तिका राखी कोइरालामाथि भावपूर्ण श्रदाञ्जली व्यक्त गरेका छन्।

कोइरालाको निधनमा उहाँको गृह जिल्ला मोरङको सदरमुकाम विराटनगरलगायत सबै मुख्य बजारहरू आइतबार बन्द भएको मोरङ संवाददाताले जनँएका छन्। जिल्लाका मुख्य दुई उद्योग वाणिज्य संघहरू मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आइतबार सबै उद्योग व्यवसाय बन्द गरेर श्रद्धाञ्जली अर्पण गर्न आहवान गरेका थिए। विराटनगरका अतिरिक्त मोरङको पुरानो बजार रंगेली, उर्लाबारी, पथरी र बेलबारी पनि बन्द भए।

श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल ट्रेड युनियन कांग्रेससित आबद्ध नेपाल यातायात मजदुर संघको हल्का सवारीचालक संघ र टेम्पो एकाइ समितिले ट्याक्सी र टेम्पोको र्याली निकालेर विराटनगरको मुख्य बजारको परिक्रमा गरेका थिए।

विराटनगरको बरगाछीचौकमा नेपाल सांस्कृतिक संघको आयोजनामा सामूहिक मुण्डन कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा एक सयभन्दा बढी युवाले मुण्डन गरेको संघका अध्यक्ष राजु थापाले बताउनुभयो। यसबाहेक विराटनगरका जनआन्दोलनचौक, कोइराला निवासमा पनि सामूहिक मुण्डनका कार्यक्रमहरू सम्पन्न भए।

यसैबीच मोरङ व्यापार संघले ७० फिट लामो र ७ फिट चौडा फ्लेक्स पेपर सोमबारदेखि जनआन्दोलन चौकमा राख्ने भएको छ। श्रद्धाञ्जली व्यक्त गर्नेहरूले उक्त फ्लेक्समा आफ्नो दस्तखत गर्नेछन्।
शोक प्रकट गर्नेहरूका लागि कोइराला निवासमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्नेहरूको ताँती आइतबार पनि उल्लेख्य थियो।

नेपालगन्ज संवाददाताका अनुसार नेपाली राजनीतिका शिखर व्यक्तित्व एवम् पार्टीसभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको शोकमा नेपाली कांग्रेसका बाँकेस्थित कार्यकर्ताले आइतबार शोक मनाएका छन्।

जिल्ला पार्टीकार्यालय, सुगन्धित मार्ग नेपालगन्जमा भेला भएका कांग्रेस कार्यकर्ताहरूले स्वर्गीय कोइरालाको योगदानको चर्चा गरेका थिए। उनीहरूले कोइरालाको निधनले नेपालको शान्तिप्रक्रिया र संविधान निर्माण अन्योलमा परेको धारणा राखेका थिए।
नेपाल विद्यार्थी संघले उहाँको निधनको शोकमा नेपालगन्जमा आइतबार केश मुण्डन कार्यक्रम गरेको छ। कार्यक्रममा करिब ३ दर्जन युवा विद्यार्थीले केश मुण्डन गरेका थिए। नेविसंघका स्थानीय नेता भूमबहादुर भण्डारीका अनुसार दशौं दिनसम्म केश मुण्डन कार्यक्रम जारी रहनेछ।

त्यसै गरी शोककै क्रममा बाँकेको क्षेत्र नं. ४ स्थित कांग्रेस समितिले खजुरा बजारमा आइतबार शोकसभा गरेको छ। क्षेत्रीय सभापति रामेश्वर कँडेलको सभापतित्वमा भएको कार्यक्रममा ठूलो संख्याका कांग्रेस कार्यकर्ता, शुभचिन्तक, विभिन्न राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा कांग्रेस बाँके प्रवक्ता कमलराज रेग्मी, कार्यसमिति सदस्य उत्तमराज घिमिरे, महासमिति सदस्य महेन्द्र मल्ललगायतले बोल्नुभएको थियो।

कोइरालाको निधन भएको शोकमा नेपालगन्ज बजार आइतबार सुनसान रहयो। सधैं घुइँचो रहने नेपालगन्जमा आइतबार मानिसहरूको संख्या निकै पातलो देखिन्थ्यो। नेपालगन्ज उद्योग वाणिज्य संघको आहवानमा बजारका अधिकांश पसल, व्यवसाय बन्द भएको थियो भने उद्योग, कलकारखाना पनि सञ्चालनमा आएनन्।

कोइरालाको निधनको शोक एवम् उहाँको सम्मानमा आइतबार बाँकेका सबै विद्यालय, सरकारी कार्यालय, बैंकिङ तथा वित्तीय संस्था बन्द भएका थिए। बाँकेको खजुरा बजार पनि पूर्ण रुपमा बन्द भएको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिनुभयो।

धरान संवाददाताका अनुसार कोइरालाको निधनमा धरानमा १३औं दिनसम्म शोक मनाउन लोकतन्त्रका नायक कोइरालाको स्मृतिमा १० लाख रुपियाँको लगानीमा लोकतान्त्रिक चौतारी निर्माण गर्ने घोषणा गरिएको छ।

देशभर शोक मनाइरहेका बेला आइतबार धरानमा शोक व्यक्त गर्न बजार बन्द गरेर भानुचौकको लोकतान्त्रिक चौतारीमा बिहानैदेखि श्रद्धाञ्जली अर्पणको कार्यक्रम गरिएको थियो।

नेपाली कांग्रेस धरानको आयोजनामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दिनभर स्वर्गीय कोइरालाप्रति श्रद्धा अर्पण गर्नेको भीड लागिएको थियो। धरान कांग्रेसका नगर सभापति किशोर राईका अनुसार शिखर पुरुष कोइरालाको मृत्युमा शोक व्यक्त र श्रद्धाञ्जली अर्पण गर्ने कार्य १३औं दिनसम्म जारी राखिनेछ। लोकतन्त्रका नायकका रुपमा स्थापित कोइरालाको स्मृतिमा धरानको लोकतान्त्रिक चौतारीलाई १० लाख रुपियाँ खर्च गरेर बनाइने पनि सभापति राईले घोषणा गरेका छन्।

शिखर पुरुष कोइरालाको निधनप्रति सबैले गहिरो शोक व्यक्त गर्दै उहाँको अभावमा मुलुकको शान्तिप्रक्रिया र नयाँ संविधान निर्माणको कार्य पूर्ण हुनेमा सबैले शंका व्यक्त गरेका थिए।
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष हर्षसुब्बाले कोइरालाको स्वास्थ्य अवस्था ठीक नभएकै कारणले समेत अवरुद्ध भएको शान्तिप्रक्रिया उहाँको निधनपश्चात पुनः सुचारु होला भन्न नसकिने बताउनुहुन्छ।

2 Responses

  1. तिनै जनताहरु हुन जिबित हुँदा यस्तो देश दुबाउने, नेपाल बेच्ने, लाउडा खाने गिरिजा कहीले मर्छ भन्थे अब मरेपछी चाँही सबैलाई शोक भयो। बाचिन्जेल नुनभात मरेपछी दुधभात भनेको यही नै हो।
    राजेश
    मोरङ नेपाल

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: