‘दीपेन्द्रलाई नसाले छुँदैनथ्यो’


        १९ जेठ ०५८ । तत्कालीन युवराजाधिराज दीपेन्द्र आफैंले ल्यान्डक्रुजर हाँकेर सातदोबाटोस्थित खेलमैदानमा पुग्नुभयो । म युवराजका साथ उहाँकै गाडीमा थिएँ । युवराजलाई खेलकुद परिषद्का त्यसवेलाका सदस्यसचिव विनोदशंकर पालिखे र ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशमशेर राणालगायतका खेलपदाधिकारी र खेलाडीले स्वागत गरे । युवराजले खेलमैदानमै केहीबेर स्क्वास खेल्नुभयो । 

 अपराह्न त्यस्तै चार बजेको हुँदो हो । युवराज र म सँगै सोही गाडीमा नारायणहिटी दरबार फर्कियौँ । त्रिभुवन सदनबाहिर पुगेपछि युवराजले मलाई बिदा दिनुभयो । मैले त्यसवेला बिदा हुनैलाग्दा ‘सरकार, आज बडागुरुज्यूकहाँ निम्तो पनि छ, सरकार सवारी होइबक्सनुपर्छ’ भनेर साँझको कार्यक्रमबारे जानकारी गराएको थिएँ । युवराजले ‘ल, ल तिमी अहिले जाऊ’ भनेपछि म सोझै कार्यालयतर्फ गएँ र काम सकेर घर फर्किएँ ।  

घर पुगेर खाना खाइवरी टिभी हेरेर बसिरहँदा एक्कासि दरबारबाट फोन आयो । त्यसवेला त्यस्तै नौ बजेको थियो । फोनमा युवराज दीपेन्द्रका अंगरक्षक राजु कार्की थिए । उनको स्वर निकै अत्तालिएको सुनियो । ‘सर, सबै सरकारहरूलाई माथि छाउनी अस्पताल पुर्‍याइएको छ । स्थिति गम्भीर छ, तपाईं तुरुन्तै आउनुपर्‍यो,’ एडिसी राजुले भने । त्यसवेला मैले केही मेसो पाइनँ । साढे नौ बजेतिर युवराजको निजी सचिवालयमा पुग्दा पनि यथार्थ जानकारी पाउन सकिनँ । कसैले पनि केही बताएनन् । अन्योलको बन्दी बनेर रातभरि दरबारभित्र कार्यालयमै बसियो । भोलिपल्ट १० बजेतिर मात्र हामीले थाहा पायौँ, दरबारमा अकल्पनीय नरसंहार भएको रहेछ, जसले हाम्रा प्यारा राजारानी र उनको वंशै चुँडेर लगेछ ।

 

०२५ सालतिरको कुरा हो । त्यसवेला भर्खर नारायणहिटी दरबारमा प्रमुख राजदरबार पदाधिकारीको कार्यालय स्थापना गरिएको थियो । त्यही कार्यालयमार्फत दरबारमा मेरो सेवा सुरु भएको हो । मैले पछि दरबारको प्रमुख संवाद सचिवालयमा पाँच वर्ष काम गरेँ । तत्कालीन प्रमुख संवादसचिव नरेन्द्रराज पाण्डे विदेशयात्रामा गएका वेला मैले नै उनको जिम्मेवारी सम्हालेको थिएँ । सोही क्रममा तत्कालीन राजा वीरेन्द्रसँग नजिक हुने मौका पाएँ । पछि मलाई युवराज दीपेन्द्रको निजी सचिवालयको प्रमुख बनाइयो ।

 

काम गर्ने दौरान मैले युवराज दीपेन्द्रलाई हामी कर्मचारीको अगाडि कहिल्यै कसैसँग रिसाएको वा क्रूद्ध भएको देखिनँ । सबैसँग मित्रवत् व्यवहार थियो, उहाँको । अहिले पनि म उहाँको ‘स्माइलिङ फेस’ सम्झन्छु । त्यस्तो मानिसले आफ्ना बुबा, आमा र नातागोतालाई मार्ने हदको रौद्र रूप देखाउनुभयो होला भन्ने मलाई पटक्कै विश्वास छैन । मैले जानेसम्म उहाँ बुबा, आमालाई निकै आदर गर्नुहुन्थ्यो । आप\mना गुरुहरूलाई पनि उत्तिकै सम्मान गर्नुहुन्थ्यो । पढाइ पूरा भएपछि पनि उहाँ बुढानीलकण्ठ स्कुलमा गइरहनुहुन्थ्यो । स्कुलमा गएको वेला सोझै पि्रन्सिपल नारायण शर्मा बस्ने क्वाटरमै गएर गुरुहरूसँग गफ गरेर फर्किनुहुन्थ्यो ।

 

जब दरबार हत्याकाण्ड भयो र त्यसमा दीपेन्द्रको हात रहेको समाचार आयो, मैले बुढानीलकण्ठ स्कुलमा दीपेन्द्रलाई नेपाली पढाउने टिचर रामबाबु सुवेदीसँग सोधेँ, ‘सर के त्यत्रो हत्याकाण्ड तपाईंकै शिष्यबाट भएको हो त ?’ रामबाबुले भनेका थिए, ‘होइन, मलाई उनले त्यत्रो नरसंहार गराए भन्ने कुरामा एकरत्ति विश्वास छैन ।’

 

आमजनतासँग राजपरिवारका अन्य सदस्यहरू खासै घुलमिल गर्दैनथे । तर, युवराज दीपेन्द्र मेरै आग्रहमा पनि धेरैपटक जनसम्पर्कका अनौपचारिक कार्यक्रमहरूमा सहभागी हुनुभयो । मध्यपुर थिमी महोत्सवका वेला दीपेन्द्रले पैदलै सात किलोमिटर क्षेत्रमा भ्रमण गर्नुभएको थियो । ०५८ वैशाख २८ गते पर्यटन बोर्डमा आयोजित मध्यपुर थिमी प्रदर्शनी नै उहाँ सहभागी भएको अन्तिम औपचारिक कार्यक्रम थियो । त्यहाँ खट जात्राको झाँकी प्रस्तुत गरिएको थियो । युवराजले बडो श्रद्धाका साथ जुत्ता फुकालेर खटभित्रका देवताको दर्शन गर्नुभयो र दर्शनपछि फुड फेस्टिभलका हरेक स्टलमा गएर टिकिन चिउरा र पालाको रक्सी खानुभयो । कीर्तिपुरमा आमजनतासँगै मिलेर उहाँ वृक्षरोपणमा पनि सहभागी हुनुभएको थियो ।

 

भक्तपुर नगरपालिकाले आयोजना गरेको ‘भक्तपुर महोत्सव’मा पनि युवराज सहभागी हुनुभएको थियो । त्यहाँ पनि थिमीमा झैं उहाँ करिब सात किलोमिटर पैदलै टोलटोलमा घुम्नुभयो । महोत्सवमा राजसंस्थाविरोधी नेताका रूपमा चिनिएका नेमकिपाका नेता नारायणमान बिजुक्छे पनि सहभागी हुनुहुन्थ्यो । मैले नै उहाँलाई युवराजाधिराजको पछि-पछि हिँडाएको थिएँ । त्यहाँ युवराजको हाउभाउ देखेर भक्तपुरवासी मोहित भएका थिए ।

 

शरतसिंह भण्डारी खेलकुदमन्त्री भएको वेला नेपालमा साफ खेल आयोजना भयो । त्यसवेला युवराजको सक्रियताको सबैतिर प्रशंसा भएको थियो । आफैं करातेका आठौं डन दीपेन्द्र बिहान आठ बजेदेखि नै खेल आयोजनाको निरीक्षण गर्नुहुन्थ्यो । राम्रो खेल खेल्नेलाई आश्वासन दिनुहुन्थ्यो र धाप मार्नुहुन्थ्यो । खेलाडी चाहे विदेशी हुन् या स्वदेशी, हार्ने हुन् वा जित्ने, सबैलाई उहाँ हौसला प्रदान गर्नुहुन्थ्यो । ‘ल है राम्रो गर’ भन्नुहुन्थ्यो । हार्ने खेलाडीलाई उहाँ भन्नुहुन्थ्यो, ‘खेलमा हार-जित भइहाल्छ, डन्ट वरी ओके !’

 

एकपटक मैले युवराज दीपेन्द्रलाई आफ्नै घरमा अतिथि बनाएँ । मेरा दुई छोरा र भान्जाको संयुक्त ब्रतबन्ध थियो । युवराज सहजै मेरो निमन्त्रणा स्वीकार गरेर कुलेश्वर आवास क्ष्ाेत्रमा रहेको मेरो घरमा आउनुभयो । उहाँका साथमा अधिराजकुमार नीराजनसहित अन्य चारजना साथी पनि थिए । ब्रतबन्धमा सहभागी भएका अन्य आगन्तुकले पनि युवराजसँग भेट गरे । मैले युवराजलाई आफूले घरमै तयार पारेको स्पेसल मदिरा टक्र्याएँ । सो गृहनिर्मित मदिरामा सुगन्धका लागि ल्वाङ, सुकमेलका साथै पानमसला पनि मिसाइएको थियो । करिब एक-दुई गिलास पिउँदा नै मताइदिने सो मदिरा युवराजलाई कति मीठो लाग्यो भने थपेको थप्यै गर्नुभयो ।

 

चार बोतल रित्तियो । तर, युवराज र उहाँसँग आएका मित्रहरूको प्यास मेटिएन । अन्तिममा अरू एक बोतल थप्नुभयो । आश्चर्यको कुरो त के भने त्यतिविधि मदिरा पिएर पनि र्फकने वेलामा युवराज बिल्कुल होसमा हुनुहुन्थ्यो । उहाँ आफैंले गाडी हाँकेर फर्किनुभएको थियो । त्यसक्रममा उहाँले कुनै अस्वाभाविक व्यवहार प्रदर्शन गरेको मलाई हेक्का छैन । अब म कसरी विश्वास गरूँ, दीपेन्द्रले नसाको सुरमा भटटट… गोली चलाउनुभयो भनेर ?

 

उद्योगपति पियुषबहादुर अमात्यका भाइ हिरेन्द्रबहादुर अमात्यको घरमा गल्फ कोर्सका पदाधिकारीहरू भेला भएका थिए । युवराज र म पनि त्यहाँ पुगेका थियौँ । रमाइलो जमघट थियो त्यो । खानपिनका साथ रोचक गफ चलिरहेको थियो । कुरैकुरामा कसैले ‘संस्कृत भाषाको अस्तित्व लोप हुन लागेको, नेपालमा संस्कृत भाषा बोल्ने मानिस फेला पार्न मुस्किल हुने गरेको’ बताए । त्यो कुराले युवराजलाई छोएछ क्यार । तुरुन्तै प्रतिवाद गर्दै भन्नुभयो, ‘कसले भन्छ, संस्कृत भाषाको अस्तित्व लोप हुन लाग्यो भनेर ? मलाई त सबै कण्ठै आउँछ ।’ त्यसपछि त युवराजले धमाधम संस्कृतका विभिन्न श्लोकहरू उच्चारण गर्न थाल्नुभयो, त्यो पनि पण्डितले झैं भाका हाली-हाली । विदेशमा पढेका युवराजले संस्कृतका श्लोक पाठ गरिरहँदा र त्यसको नेपालीमा अर्थसमेत लगाइरहँदा सबै दंग परेर उहाँलाई हेरिरहेका थिए ।

 

योचाहिँ त्यसवेलाको कुरा हो, जतिवेला दीपेन्द्र जोग्राफीमा विद्यावारिधिको तयारी गर्दै हुनुहुन्थ्यो । भूगोल विभागका प्राध्यापकहरूसँग उहाँको उठबस भइरहन्थ्यो । एक दिन युवराजले मलाई ‘एयरपोर्ट हिँड’ भन्नुभयो । युवराजकै गाडी चढेर एयरपोर्ट गएँ । एयरपोर्टमा केही विदेशी गुरुहरू पनि रहेछन् । युवराजले हामी सबैलाई हेलिकोप्टरमा चढ्न संकेत गर्नुभयो । हामी सबै चढ्यौँ । चालकलाई साइडमा राखेर हेलिकोप्टर उहाँले नै उडाउन थाल्नुभयो ।

 

 

दीपेन्द्रले हेलिकोप्टर उडाएर सम्बन्धित इन्स्टिच्युटबाट चालकको लाइसेन्स नै लिनुभएको थियो । त्यसैले हामीलाई कुनै भय थिएन । कुनै अज्ञात हिमाली भूभागमा उहाँले हेलिकोप्टर ओराल्नुभयो । त्यहाँ जताततै हिउँ नै हिउँ थियो । भुइँमा टेक्दा घुँडाभन्दा माथिसम्म हिउँ रहेछ । त्यही ठाउँमा क्याम्प खडा गर्न भन्नुभयो, युवराजले । त्यहीँ खानपिन हुन थाल्यो । हिउँका डल्ला हानाहान गरेर हामीले रमाइलो गर्‍यौँ करिब तीन घन्टासम्म । पछि काठमाडौं फकर्ंदा पनि युवराजले नै हेलिकोप्टर चलाउनुभएको थियो ।

 

 

दरबार हत्याकाण्ड नेपाल र नेपालीका लागि एउटा त्रासदीपूर्ण, अकल्पनीय र कारुणिक ‘दुर्घटना’ थियो । राजा, रानी, युवराज र सम्पूर्ण राजपरिवारका सदस्यको एकैपटक संहार भएको त्यो घटना हामी सबै नेपालीका लागि कहिल्यै निको नहुने घाउका रूपमा रहेको छ । सो नरसंहारबारे अनुसन्धानदाताहरूले आगामी दिनमा पनि अनुसन्धान गर्लान् नै । त्यसको सत्यतथ्य पत्ता लगाउने काम राज्यको हो, अनुसन्धान गर्ने निकायहरूको हो । यहाँ म त्यसबारेमा केही भन्न गइरहेको छैन । मेरो आग्रह के मात्र हो भने सो हत्याकाण्डलाई लिएर जसरी तत्कालीन युवराजाधिराज दीपेन्द्रलाई पूर्ण रूपमा खलनायक बनाउन खोजिएको छ, त्यसबाट सत्य-तथ्यलाई उजागर गर्ने होइन, छोप्ने काम भइरहेकोजस्तो देखियो भन्ने मलाई लाग्छ । अनुसन्धानदाताहरूले अनुसन्धानपछिको निष्कर्ष र ठोस प्रमाणका आधारमा कसैलाई दोषी, हत्यारा वा अभियुक्त ठहर गर्नु स्वाभाविकै हुन सक्ला, तर कतिपयले हचुवाकै भरमा दरबार हत्याकाण्ड युवराज दीपेन्द्रले नै गराएको दाबी गरिरहेका छन्, जुन जनमानसले पत्याउन गाह्रो छ ।

 

हत्याकाण्डको म प्रत्यक्षदर्शी होइन । त्यसबारेमा किटेरै म केही पनि भन्न सक्दिनँ । तर, हालै मात्र हिमालयशमशेर जबराले आफ्नो एक पुस्तकमा ‘दरबार हत्याकाण्ड दीपेन्द्रबाटै भएको’ दाबी गर्नुभएको रहेछ । आफूले आँखाले नदेखेको विषयमा त्यसरी लेख्नु ठीक होइन । कि उहाँले मैले आपनै आँखाले देखे भन्नुपर्‍यो, होइन भने कुनै सूत्रको हवाला दिएर कसैलाई अभियुक्त किटान गर्नु हँुदैनथ्यो । जहाँसम्म मेरो कुरा छ, युवराज दीपेन्द्रबाट त्यस्तो नरसंहार भएको भन्ने कुरामा मलाई कत्ति विश्वास छैन । युवराज दीपेन्द्रको निजी सचिवालय, प्रमुखका नाताले मैले उहाँलाई नजिकबाट जसरी बुझेँ, कार्यालयको कामको सिलसिलामा उहाँसँग जति निकट रहेँ र त्यसक्रममा उहाँको स्वभावबारे जति कुरा देखेँ, सुनेँ, भोगेँ, त्यसका आधारमा भन्नुपर्दा उहाँबाट त्यत्रो नरसंहार भएको हो भन्ने कुरा म मान्दिनँ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

One Response

  1. आदरणीय सौजन्य जोशी शर, तपाईंको लेख र सोचाई को कदर सम्पुर्ण नेपालीहरुले गरेका छन् तर जसले त्यो नरसंहारको रचना रचेका छन् तिनिहरुले यसलाई कुनै न कुनै माध्यम इस्यु गरेर दबाउन खोजेका छन्। हेर्नुस् न त्यो नेपाली मिडीया को वेब-साइट मा भएको डिस्कोभरी च्यानल मार्फत पनि काल्पणिक नाटक सृजना गरेर त्यहि दिपेन्द्र सरकारलाई नै दोषी देखाउन खोजेका छन् जब कि त्यस् नाटकमा कोही पनि सक्कली अनुहारका छैनन्।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: