के संघियता रामवाँण नै हो त?


 

भीम के.सी. कुवैत

मोवाइल नं. ९९९२०७१२

      अहिले नेपालमा अधिकांश पार्टी वा नेताहरुले सबै कुराको ओखती अथवा सबै समस्याको समाधान संघिय गणराज्य वा संघियता हो भन्ने गरेका छन् । के संघियतामा जाँदैमा सबै समस्याहरुको समाधानहोला त के फेरि नेपालीले नेपालीलाई मार्ने सम्मका कामहरु रोकिएलान् त ?के एक छाक राम्रोसँग खान नपाउने, एक सरो राम्रोसँग लगाउन नपाउने, ओत लाग्ने झुपडी नभएकाहरुका समस्याहरुको समाधान होलान त? के संघियता रामवाँण नै हो त?

       सर्वप्रथम हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने यदि संघिय गणराज्य बनाउँदैमा समस्याहरु समाधान हुन्छन्,लडाई झगडा र हतियारको प्रदर्शन हुँदैन भन्ने हो भने विश्वको धेरै जसो देशहरु संघिय गणराज्यमा गैइसकेकाछन् संघियताको स्वाद चाखिसकेका छन् । यसका फाइदा र वेफाइदाहरु देखिसकेका छन, के ति संघियतामा गैसकेका देशहरुमा हाम्रा नेताहरुले भने जस्तो सबै समस्याहरुको समाधान भएका छन् त ? के ती देसहरुमा अमन-चयन, सुख-शान्ति, र समृद्धि नै छाएको छ त ? के ति संघियता अंगिकार गरेका देशहरु सम्पन्न र आधुनिक नै छन् त अवश्य पनि छैनन । सबै देशहरुमा समश्याहरु मात्र देखिएकाछन् भन्ने मेरो मनसाय होईन। कतिपय देशहरुले संघिय गणराज्य अंगिकार गरेपछि समस्याको न्युनिकरण गर्न सफल भएका छन् भने कतिपय देशहरु केन्द्रिकृत राज्य व्यवस्थाबाटै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यहाँ प्रश्न संघियता राम्रो र नराम्रो भनेर व्यख्या र चिरफार गर्न खोजिएको होइन । कुरा मात्र के हो भने कुनै पनि व्यवस्था आफैमा निपूर्ण हुँदैन तर त्यसलाई चलाउनेमा निर्भर हुन्छ । कुनै पनि कुरामा राम्रा, नराम्रा दुबै पक्ष हुन्छन् तर मात्रात्मक रुपमा तल माथि हुन सक्छ। विभिन्न देशको भौगोलीकता र जनसंख्या आदी विशिष्ट कुराले कुन देशमा कुन राज्य व्यवस्था उपयोगी हुन सक्छ भन्ने कुरा निर्क्यौल गर्न सक्छ। हरेक व्यवस्थाका आ-आफ्नै फाइदा र वेफाइदाहरु हुन्छन् “एउटा सिक्काको दुई पाटो भने झैं।”

        प्रश्न केवल तपाईले कुन बाटो के का लागि र कुन रुपमा अंगाल्न चाहनुहुन्छ भन्ने नै हो। तपाई हामी सबैलाई थाहा छ, कोब्रा सर्पको एकै डंकले दशौं जनालाई मार्न प्रर्याप्त हुन्छ। के यसको मतलव कोब्रा सर्प विषालु र खतरनाक मात्रै हो त ? के त्यो हामीलाई अनावश्यक नै हो त ? पक्कै होईन। हामीलाई थाहा छ, उसको पनि आफ्नै महत्व छ। उसले पनि वातावरण सन्तुलनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यदि तपाई सक्नुहुन्छ भने उसको विषबाट जीवनोपयोगी औषधी पनि बनाउन सक्नुहुन्छ,यथार्थमा उ पनि तपाई हामी जस्तै प्राणी हो। तपाई हामी जस्तै उसले पनि बाँच्न पाउने पुरा अधिकार राख्छ।

        कुरा संघियताकै गरौं । संघियतामा जानुमा मेरो विमती होईन। तर संघियतालाई जुन रुपमा व्याख्या गरिएको छ। जुन रुपमा जनतालाई सपनाको लड्डु वाँडिएको छ । विमती त्यसमा मात्र हो, जनताका गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा आदि सबै समस्या संघियतामा गए पछि पुरा हुन्छ भन्ने मानसिकता रहेको पाइन्छ। के संघियता जादुको छडी हो र ?के संघियता रामवाँण नै हो र समाधान ?त्यहाँ पुग्ने वित्तीकै सबै कुरा उपलब्ध हुने । यो सबै भ्रमको खेती हो र मेरो विमती पनि यसैमा हो।

         यदि हाम्रो देश हाँक्ने नेताहरु सवल र सक्षम छन् । अन्तरात्मा देखी नै नेपाल र नेपालीको हित गर्नको लागि राजनीतिमा लागेका हुन भने सबै पर्टीले देश र देशवासीकै लागि  राजनीति गरेका हुन भने व्यवस्था चाहे जुनसुकै होस्। उनिहरु आफ्नो सामर्थ्यता आफ्नो कौशलता जुन सुकै व्यवस्थामा पनि देखाउन सक्छन्। के अहिले हैन संघियतामा गएपछि म मेरो कुशलता देखाउँछु भन्न मिल्छ ? के केन्द्रिकृत राज्य व्यवस्थामा तपाईको हातमा, तपाईको बुद्धिमा कसैले रोक लगाएको छ र ? तपाईलाई भ्रष्टचार गर्न जथाभावी मनपरी बोली हिंड्न मनपरी गरि हिंड्न मिल्ने अनि गरीब निमुखा जनताको समस्याको लागि संघियता मै जानु पर्ने ? के साँच्चै गरीब निमुखा जनताको जीवनस्तर उकास्न नै संघियको राग अलापिएको हो त?  कदापि हैन। संघियतामा जाँदैमा सबै समस्याहरु समाधान हुन्छन्, जनताको जीवनस्तर हवात्तै उकासिन्छ। गरीब निमुखा कोही पनि रहँदैन भन्ने के ग्यारेन्टी छ। के पुर्व सोभियतसंघ, कंङगो, इथोपिया लगायत अधिकाँश अफ्रिकन राष्टको इतिहाँस साक्षी छैन र ? इतिहाँसबाट हाम्रा नेताहरुले कहिले सिक्ने ? अथवा उनिहरुले जानेर पनि अन्जान बन्न खोजिरहेछन्। के संघियता अंगिकार गरेका अफ्रिकन राष्टका आफ्ना भू-भागहरु अलग राष्टमा परिणत भएका छैनन ?अझै तपाईहरु आत्मा निर्णयको अधिकारको कुरा गर्नु हुन्छ। के आत्मा निर्णयको अधिकारले कुनै संघिय प्रान्तलाई अलग्गै हुने वा छुट्टै राष्ट बनाउने वा छिमेकी राष्टमा विलय गराउने सम्मको अधिकार हुँदैन र ?कतिपय अफ्रिकन मुलुकहरुमा यस्तो सम्म भैसकेको छ। नेपालमा हुँदैन भन्न सकिन्छ र? नेपालमा बसेर नेपालको नागरिकता अंगिकार गरेर पनि हामी नेपाली होइनौ भन्ने मुठ्ठीभर शासकहरुको हातमा आत्मा निर्णयको अधिकार सहित एक मधेस एक प्रदेश सुम्पीएको खण्डमा के त्यो संघिय राज्य भोली भारतमा विलय नहोला भन्न सकिंदैन। इतिहाँस साक्षि छ कतिपय देशहरुमा यस्तो भैसकेको छ। जुन नेपालको परिप्रेक्षमा पनि नहोला भन्न कता सकिंदैन।

         संघियता राज्यको अवधारणामा जे र जस्तो भएपनि विचारणीय कुरा के हो भने यो कसले कसरी र के का लागि  र कुन रुपमा भन्ने कुरा बुझ्नु पर्ने जरुरी हुन्छ। नेपालको परिप्रेक्षमा यो विशुद्ध जनताको हितको लागि विशुद्ध नेपालको समृद्धिको लागि भन्दा पनि आ-आफ्नो दलिय स्वार्थको कारण वढी अलाप्ने र गलत रुपमा व्याख्या गर्ने गरिएको पाइन्छ। कतिपय पर्टीले यसलाई आफ्ना कार्यकर्ता पाल्ने अथवा आफ्ना कार्यकर्ता मन्थन गर्ने वा पदलोलुप नेताहरुले पदमा पुग्ने र बाँडी-चुँडी खाने ठाँउ बनाउन खोजेको आभास प्रष्टै हुन्छ। नेपाल जस्तो बहुभाषीक,बहुजातीय र छ्यासमिसे जनजाती वसोवास भएको देशमा जातीयताको आधारमा प्रान्त बनाउनु झनै दर्भाग्यपूर्ण हुन जानेछ। के जातिय राज्य बनाउँदैमा ती अमुक जातीहरुको भलो होला त ? के जनजाती वा अल्पसंख्यक अथवा लोपोन्मुख जातीहरुलाई उनिहरुको जातको आधारमा प्रान्त बनाइदिनु समाधान हो त ?अर्को कुरा नेपालमा एक सय एक जात-जातीको साझा फूलवारी हो। के सब जात-जातीको अलग्गै राज्य दिनु सम्भव छ ? पटक्कै सम्भव छैन। एउटा जातीलाई खुसी पार्न उसको जातिलाई प्रान्त बनायो भने भोली अर्को जातिले हतियार नउठाउलान भन्ने के छ ? यसरी भोली फेरी जातीय दंगा भडकिन बेर लाग्दैन। जुन कतिपय अफ्रिकी देशहरुमा अहिले भैरहेको छ।

        अन्तमा देशको र देशवासीको विकास संघियतामा गएर मात्रै सम्भव छ भन्ने विलकुलै होइन। देश हाँक्ने नेताहरुको नियत सफा भए केन्द्रीकृत राज्यव्यवस्थाबाट पनि देशको कायापलट गर्न सम्भव छ। मात्र नेताहरुको विकाश सम्भव छ। मात्र नेताहरुको नियतहोस् देश विकासमा,समस्याको निकासमा र जनताको आधारभूत समस्याहरुको समाधान गर्नमा हुनुपर्यो,न कि पदको बाँडफाँड,कुर्सीको भागवण्डा आदिमा ?सबैले जानेकै कुरा हो फुटेर भन्दा जुटेर र लडेर भन्दा मिलेर नै देश विकास सम्भव छ। जातीका आधारमा राज्य बाँडदै हिँड्दा नेपालको अस्तित्व के होला ? देशको अस्तित्व माथि नै खलल पुग्ने काम नगरौं। सम्पूर्ण समस्यालाई समाधान गर्ने सम्पूर्ण जातजातिहरुलाईमान्य र समान अधिकार प्रदान गर्ने र समान अवसर प्रदान गर्ने नयाँ संविधान बेलैमा बनाउँ ताकि भोली फेरि हतियारको प्रदर्शन हुन नपाओस्। बम र बारुदको गन्धले नेपाल आमाको आँखाबाट बलिन्द्र धारा आँशु बग्नु नपरोस्। नेपाल हामी सबैको हो र हामी सबै नेपाली हौं भनेर गर्व गर्न सकियोस्।

          ईश्वरले हाम्रा नेताहरुलाई सद् बुद्धि दिऊन।  

 

One Response

  1. के संघियता रामवाँण नै हो त? ramro lagyo,sandarbhik chha keep it long…………….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: