मुख्य योजनाकार पूर्वडीएसपी चन्द प्रहरीकै सूचनाबाट भगाइए


केदार ओझा

काठमाडौ, फाल्गुन १९ –
जमिम शाह हत्या प्रकरणमा मुछिएका पूर्वडीएसपी जगदीश चन्द काठमाडांैबाट फरार भई बुधबार भारत पुगेका छन् । बयानका लागि पक्राउ गर्ने निर्णयपूर्व नै प्रहरीकै सूचनाबाट उनलाई भगाइएको हो । प्रहरीले बुधबार कार्यालय समयमा पक्राउको निर्णय गरेको थियो भने उनले बिहानै काठमाडौं छाडेका थिए । उनलाई पक्राउ गर्न प्रहरी टोली उनी काम गर्ने थापाथलीस्थित नर्भिक अस्पताल पुग्दा बुधबारैदेखि उनी बिदामा बसेको जानकारी अस्पतालले दिएको थियो ।
प्रहरीले घटनाको मुख्य योजनाकार भनी किटान गरेको बब्लु श्रीवास्तवसँग चन्दको नियमित सम्पर्क रहेको सूचना घटनालगत्तै पाएको थियो । तर गृह प्रशासनकै दबाबमा चन्दलाई बयानका लागि समेत बोलाउन सकेको थिएन ।
जमिम हत्या प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका सई प्रकाश छेत्रीले लिखित बयानका क्रममा आफ्नोभन्दा बढी पूर्वडीएसपी चन्दको संलग्नता रहेको बयान दिएका थिए ।
छेत्रीको बयानपछि पनि चन्दले भनाइ फेर्न माथिल्लो निकायबाट ठूलो दबाब दिएका थिए । तर प्रयास असफल भएपछि र आफू पक्राउ पर्ने सूचना पाएपछि चन्द बुधबार बिहानै भागेका हुन् ।
‘भारतको लखनउस्थित जेलमा रहेका मुख्य अभियुक्त बब्लु श्रीवास्तवसँग नेपालबाट धेरै जनाको पटकपटक सम्पर्क भएको देखिएको छ तर अपराधमै ककसको संलग्नता छ भन्नेबारे अनुसन्धानरत थियौं,’महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख रणबहादुर चन्द बुधबार अपराह्न पत्रकार सम्मेलनमा भन्दै थिए, ‘अनुसन्धानपछि पूर्वडीएसपी चन्दलाई समेत ल्याउने निर्णय भएको छ, सम्भवतः उहाँलाई ल्याइसकिएको छ या चाँडै नै उनलाई ल्याइन्छ ।’ जतिखेर पूर्वडीएसपी चन्द भारत पुगिसकेका थिए । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार पूर्वडीएसपी चन्द, पक्राउ परेका सई छेत्री र जमिमलाई गोली हान्ने बब्बु तीन जना पटकपटक थापाथलीस्थित गि्रन लाइन रेस्टुरेन्टमा बसी हत्या योजनाका लागि भारतीय जेलमा रहेको बब्लु श्रीवास्तवसँग फोनवार्ता गरेको खुल्न आएको छ ।
फरार चन्दले प्रहरी सेवा प्रवेश गर्ने क्रममै प्रमाणपत्र तहको नक्कली शैक्षिक कागजपत्र पेस गरेको खुल्न आएपछि उनी निलम्बित छन् । निलम्बनपछि अँगालेको रेस्टुरेन्ट र डिस्कोलगायत पेसामा समेत उनी सफल हुन सकेनन् । त्यसपछि उनी नर्भिकमा ‘प|mन्ट अफिस म्यानेजर’ को काम गर्दै आएका छन् ।
पक्राउ गर्न गएका प्रहरीलाई अस्पतालले जानकारी गराएअनुसार उनी बुधबारदेखि एकमहिने बिदा स्वीकृत गराई बसेका छन् ।
भारतीय जेलमा रहेका बब्लु श्रीवास्तवसँग फोनमा पटकपटक कुराकानी भएको जानकारी टेलिकममार्फत प्रहरीले पाएपछि चन्दले आफ्नो कुनै गल्ती नभएको भन्दै पीडित शाहका परिवारलाई अनुरोध गर्दै आएका थिए ।
यसैक्रममा अनुसन्धान महाशाखाले जमिम हत्या प्रकरणमा सहयोगीको भूमिका खेलेका थप तीन जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ गरिएकामध्ये एकजना घटनाको सक्रिय सहयोगी हुन् भने दुई जना प्रहरीलाई सूचना दिएर सहयोग गर्ने छन् । उनीहरूले प्रहरीलाई अभियुक्तबारे हुलिया र अन्य सूचना दिएका थिए । ‘घटनामा सहयोग गर्ने एक मुख्य सहयोगी पक्राउ परेका छन्, त्यसबारे अनुसन्धान भइरहेकाले अहिले केही नभनौं,’ अनुसन्धान महाशाखाका प्रमुख चन्दले पत्रकार सम्मेलनमा भने ।
स्रोतका अनुसार ती सहयोगी अभियुक्त लक्ष्मण धमला हुन् । प्रहरीलाई सूचना दिँदादिँदै पनि सहयोगीका नाममा पक्राउ पर्ने अन्य दुई जनामा रोशन पाण्डे र दिलीप थापा छन् । उनीहरू दुवै यसअघि नै प्रहरीले पटकपटक बयान लिएर छाडेका व्यक्ति हुन् । उनीहरूमध्ये एकले सिमकार्ड उपलब्ध गराएका थिए भने अर्काले मोटरसाइकल बिक्री गरेका थिए । 
निकै मेहनतपछि पक्राउ परेका मोटरसाइकल चालक धमलाले अभियुक्तलाई भगाउन सघाएका थिए । स्रोतका अनुसार प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका कृष्ण पौडेलको निर्देशनमा काम गरेको बयान उनले प्रहरीलाई दिएका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: