सिताराम बराल-काठमाडौं
– तीन महिना भन्दा बढि टिक्दैन भनिएको एमाले नेता माधबकुमार नेपाल नेतृत्वको सरकार अब भने साँच्चिकै धरापमा परेको देखिएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको आगामी मंगलबारको बैठकमा सरकार परिवर्तन गरी नयाँ सरकार बनाउने बिषयमा छलफल हुने भएपछि माधब नेपाल नेतृत्वको सरकार धरापमा पर्न थालेको हो । प्रधानमन्त्री नेपाल भने आफूलाई समर्थन गर्दै आएका एमालेका नेतासमेत सरकार परिवर्तनका पक्षमा देखिएपछि असन्तुष्ट बन्न थालेका छन् ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको औचित्य नै नरहेको बताउँदै आएका प्रम नेपाल पक्षीय एमाले नेता केपी शर्मा ओलीसमेत संयन्त्रको बैठकमा भाग लिएर सत्तासमीकरणलगायतका बिषयमा छलफल गर्न तैयार भएपछि सरकारको आयु अब धेरै नरहेको अनुमान राजनीतिक बृत्तमा हुन थालेको छ । गत विहीबार भएको संयन्त्रको बैठकमा पहिलो पटक सहभागिता जनाएका ओलीले सत्ता समीकरण लगायतका बिषयमा छलफल गर्न सकिने बताएका थिए।
सम्बिधान निर्माणकालागि तीन महिनापनि बाँकी छैन । तर सम्बिधान निर्माणको पहिलो शर्त बनेको राजनीतिक गतिरोधको अन्त्यपनि भएको छैन । राष्ट्रपतिले प्रधानसेनापति प्रकरणमा चालेको असम्बैधानिक कदमका कारण यो स्थिति सिर्जना भएको हो । राष्ट्रपतिको त्यो कदमको मूर्तरुप अहिले माधब नेपालले नेतृत्व गरेको सरकार बनेको छ । वर्तमान सरकार ढल्नासाथ नयाँ सरकार बनाउन राष्ट्रपतिको कदमका ’boutमापनि छलफल हुनेछ ।
खासगरी भारतपनि बर्तमान सरकारको पक्षमा नदेखिएपछि नयाँ परिस्थिति सिर्जना भएको हो । बर्तमान सरकारका कारण राजनीतिक समस्या समाधान नभएको, जनस्तरमापनि भारतविरोधी भावना बढेको र नेपालमापनि माओवादी फेरि मुठभेडमा जाने परिस्थिति सिर्जना भएमा त्यसको असर भारतलाईपनि पर्ने भएकाले भारतपनि यो सरकार विस्थापनको पक्षमा देखिएको बताइन्छ । केही अघिसम्म सरकारकै पक्षमा देखिएका ओलीपनि सरकार परिवर्तनको पक्षमा देखिनुमा भारतकै भूमिका रहेको छ ।
श्रोतका अनुसार संयन्त्रको आगामी बैठकमा माओवादीले सरकार परिवर्तनको बिषयलाई औपचारिक रुपमा राख्नेछ भने एमाले र नेपाली कांग्रेसले त्यसकालागि माओवादीसँग आआफ्नो शर्त राख्नेछन् । नेपाली कांग्रेस र एमालेका नेताहरुले राष्ट्रपतिको कदमको सम्बन्धमा आफ्नो पुरानो अडान भने कायमै राख्ने सम्भावना छ । यद्यपी राजनीतिक निकासकालागि यस बिषयमा माओवादीपनि थोरै लचक हुने सम्भावना छ ।
त्यसैले राष्ट्रपतिको प्रकरणमा राष्ट्रपति र उनलाई उक्साउने दलहरुको पनि इज्जत रहने गरी साझा संकल्प प्रस्ताव तैयार गर्न माओवादी तैयार हुने र माओवादीको माग अनुसार बर्तमान सरकार विघटन गरी सबैलाई मान्य हुने प्रकारको सरकार बन्ने सम्भावना बढ्दै गएको छ ।
Filed under: समचार |
जवाफ लेख्नुहोस्