संविधानसभाका लागि नयाँ चुनाव गर्ने प्रस्ताब


काठमाडौं, ८ फागुन

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले १४ जेठमा संविधान जारी नभए संविधानसभाका लागि नयाँ चुनाव गर्ने प्रस्ताब राखेका छन् । एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै पन्तले निर्धारित समयमा संविधान जारी नभए संविधानसभाका लागि अर्को चुनावमा जानुको विकल्प नभएको धारणा राखेका छन् ।image

बैठकमा पोलिटब्युरो सदस्य एवं प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले निर्धारित समयमा संविधान बनाउन माओवादीले अवरोध गरिरहेको दाबी गर्दै समयमै संविधान नबने संविधानसभाको नयाँ निर्वाचन गर्नुको विकल्प नभएको बताए । ‘संविधान नबनाउने षड्यन्त्र भएको भाषण गर्दै माओवादी नेताहरू आफैँ संविधान निर्माणमा अवरोध खडा गर्न उद्यत छन्,’ बैठकमा पन्तले भने, ‘निर्धारित समयमा संविधान बन्न नसके संविधानसभाको नयाँ चुनाव गराउनुपर्छ ।’त्यस्तै, नेता केपी ओलीले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रले संविधान निर्माण र शान्तिप्रक्रियामाथि झन् आशंका बढाएको पनि बैठकमा बताएका थिए । ‘संविधान बनाउन निर्वाचित गरिएको संविधानसभालाई उपेक्षा गरेर संवैधानिक स्पष्टताविना नै संयन्त्रका गतिविधि बढेको देखिन्छ,’ ओलीले भने, ‘संविधान र शान्तिका लागि संविधानसभालाई नै बढी प्रभावकारी बनाउनुपर्छ, यसरी त झन् आशंका बढ्दै जान्छ ।’ संविधानसभालाई कानुन र संविधानबाहिरबाट कुनै पनि निकायले निर्देशित गर्न नहुने उनले बताए । उनले अध्यक्ष खनालको प्रतिवेदनले राष्ट्रिय समस्याको पहिचान गर्न नसकेको र त्यसले समाधानका उपाय दिन नसक्ने आशंका गरे । उनले राष्ट्रिय कार्यभार पूरा गर्न पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा पनि जोड दिएका थिए ।

अध्यक्ष झलनाथ खनाल पक्षका केही केन्द्रीय सदस्यले राष्ट्रिय सहमतिका लागि सरकारको नेतृत्व त्याग्नुपर्ने र समयमा संविधान नबने संविधानसभाको म्याद एक वर्ष थप्नुपर्ने बताएका छन् । वरिष्ठ नेता केपी शर्मा ओलीपक्षीय नेताहरूले भने सरकारलाई बलियो बनाएर माओवादीको सत्ता कब्जाको योजनालाई असफल पानुपर्ने र निर्धारित समयमा संविधान बन्न नदिए संविधानसभाको नयाँ चुनाव गराउनुपर्ने धारणा अघि सारेका छन् ।अध्यक्ष खनालको राजनीतिक प्रतिवेदनमाथि तेस्रो दिन पनि भएको छलफलमा खनालपक्षीय नेताहरूले वर्तमान सरकार राष्ट्रिय सहमतिको बाधक भएको बताउँदै आएका छन् । ओलीपक्षीय नेताहरूले भने पार्टी नेतृत्वले नै सरकारलाई असफल बनाउन खोजेको आरोप लगाउँदै आएका छन् । अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि शनिबार टिप्पणी गर्दै नेता केपी शर्मा ओलीले माओवादीको सत्ता कब्जा गर्ने योजना रहेकाले त्यसलाई असफल पार्न वर्तमान सरकार अझ बलियो बनाउनुपर्ने बताए । उनले माओवादी सेनाविहीन पार्टी नहोउन्जेल उसलाई विश्वास गर्न नसकिने पनि बताएका थिए । ‘माओवादीले सत्ता कब्जाको रणनीति छोडेर शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरोस्, पुष्पकमलको नेतृत्वमा सरकार बनाउन कुनै आपत्ति हुनेछैन,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निःशस्त्र नभएसम्म माओवादीलाई विश्वास गर्न सकिँदैन, उसको सत्ता कब्जा गर्ने योजना छ ।’

माओवादीको उग्रवामपन्थी सत्ता कब्जाको सोच र व्यवहारका कारण अहिलेको सरकार बनेको उल्लेख गर्दै ओलीले त्यो राजनीतिक ‘ग्राउन्ड’ अझै कायम रहेको बताएका थिए । ‘सेना, अदालतलगायत राज्यका अंगमाथि कब्जा जमाउने अराजकतावादी व्यवहारका विरुद्ध सबै राजनीतिक दल एकजुट भएर यो समीकरण तयार गरिएको हो, पार्टीलाई पनि एकढिक्का बनाएर सरकारलाई अझ बलियो बनाउनुपर्छ,’ बैठकमा ओलीले भनेका थिए । उनले शान्ति र संविधान पार्टी र मुलुकको मुख्य कार्यदिशा भएकाले संविधान निर्माणमा सहयोग पुर्‍याउन माओवादीलाई सकेसम्म यही सरकारमा आह्वान गर्नुपर्ने र शान्तिप्रक्रियाको पूर्णताका लागि उसलाई हतियारबाट अलग गर्नुपर्नेमा पनि जोड दिए ।

राष्ट्रिय सहमतिका लागि वर्तमान सरकार बाधक देखिएकाले सरकार विस्थापन गरी राष्ट्रिय सहमतिको सरकार बनाउन बाटो खुलाउनुपर्ने केही केन्द्रीय सदस्यले बैठकमा बताए । ‘राष्ट्रिय सहमतिविना शान्ति र संविधान सम्भव छैन, राष्ट्रिय सहमतिका लागि वर्तमान सरकार बाधक देखियो,’ केन्द्रीय सदस्य किरण गुरुङले भने, ‘प्रधानमन्त्रीलाई राजीनामा गराउने हो कि अरू विकल्प खोज्ने हो सहमतिका लागि बाटो खुलाउनुपर्छ ।’ उनले अध्यक्षको प्रतिवेदनको भने चर्काे आलोचना गरे । ‘प्रतिवेदनले राजनीतिक संकटको रोडम्याप दिएन, १४ जेठसम्म संविधान बन्न सक्दैन भन्ने स्पष्ट भइसकेको छ, त्यसलाई प्रतिवेदनले एड्रेस गरेन,’ गुरुङले भने, ‘अन्तरिम संविधान संशोधन गरेर संविधानसभाको म्याद एकवर्ष थप गर्न केन्द्रीय कमिटीले निर्णय गर्नुपर्छ ।’शनिबारको बैठकमा ओली, पन्त, गुरुङसहित केन्द्रीय सदस्य थममाया थापा, गरिमा शाह, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, महोम्मद आलम, दलबहादुर राना, तुलबहादुर गुरुङलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: