मदनहत्यामा प्रचण्डको संलग्नता’


टंक पन्त, (काठमाडौं), एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समययता पटकपटक जननेता मदन भण्डारीको हत्या राष्ट्रवादी भएकै कारण भएको भनिरहेका बेला सत्तारूढ दल नेकपा (एमाले) केन्द्रीय कमिटीको शनिबारको बैठकमा भण्डारीको हत्यामा स्वयम् माओवादी र त्यसका नेता प्रचण्डको संलग्नता भएको बारेमा पहिलो पटक छलफल भएको छ।

सो बैठकमा केन्द्रीय सदस्यहरूले एमालेका तत्कालीन महासचिव भण्डारीको हत्यामा माओवादीको संलग्नता भएका आधारहरू प्रशस्त पाइएकाले छानबिन आयोग बनाई प्रचण्डलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने प्रस्तावसमेत राखेका छन्।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले त माओवादीले भण्डारीको हत्या भएको जानकारी थियो भनी अहिले आएर मात्रै बताउनु, हत्याको एक मात्र साक्षी अमर लामाको माओवादीद्वारा नै हत्या हुनु, अधिकांश समय भारतमै बसेका प्रचण्ड र अन्य माओवादीका नेताहरूले अहिले आएर भारतले हत्या गरेको भन्नु, मातृका यादव, सुरेश आलेमगरजस्ता नेताहरू भारतमा पक्राउ पर्नु तर प्रचण्ड पक्राउ नपर्नुजस्ता थुप्रै आधारले भण्डारीको हत्या माओवादी र अध्यक्ष प्रचण्डको समेत संलग्नतामा भएको पुष्टि हुने दाबी गर्नुभएको थियो।

‘माओवादीले विगतमा संशोधनवादीलगायत विभिन्न आरोप भण्डारीमाथि थोपर्ने गरेको तर अहिले आएर मात्रै उनी एक असल राष्ट्रवादी नेता भएको बताउनु, प्रचण्ड प्रधानमन्त्री भएको बेला कुनै कुरा नउठाउनुले पनि हत्यामा माओवादीको संलग्नता स्पष्ट हुन्छ, त्यसैले छानबिन आयोग बनाएर प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनुपर्छ’ -केन्द्रीय सदस्यहरूको सरकार र एमाले नेतृत्वसमक्ष माग थियो।

नेता केपी ओलीले ‘संविधान निर्माण र शान्तिप्रक्रियाको मूल बाधक उग्रवामपन्थ नै हो, त्यसैले माओवादीबाट तर्सिएर होइन, उसलाई एमालेले व्यापक रूपमा वैचारिक संर्घषमार्फत रूपान्तरित गरी शान्ति र संविधान निर्माणको मूल कार्यमा संलग्न गराउनुपर्छ’ भन्नुभयो।

माओवादीले हिंसा नछोडेकाले उसको नेतृत्वमा सरकार बनाउने कुरा हुन सक्दैन भन्दै ओलीले यदि सम्पूर्ण रूपमा हिंसा त्याग गर्ने हो भने सोच्न सकिने उल्लेख गर्नुभयो। उहाँको भनाइ थियो- ‘माओवादीको खरिपाटी भेलाले हिंसा त्याग्ने होइन, सत्ता कब्जा गर्ने नीति पास गरेको छ। यो कुरा सोही पार्टी महासचिव रामबहादुर थापा बादलले बाहिर ल्याएको धारणाबाट पनि थप प्रस्ट हुन्छ।’

उहाँले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई माया गरेर होइन, देश-जनता र लोकतन्त्रलाई माओवादीले समाप्त गर्न खोजेकाले राष्ट्रिय हितमा प्रधानमन्त्री बनाइएको बताउनुभयो ।

पार्टीध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत प्रतिवेदनबारेमा उहाँको भनाइ थियो- ‘जंगलमा घाँस काट्न जाँदा शुरूमा गोरेटो बाटो हुन्छ, त्यसपछि बाटाहरू फाट्दै जान्छन् अनि कता जाने भन्ने अलमल हुन्छ, अलि पर गएपछि बाटै सकिन्छ, प्रतिवेदन पनि त्यस्तै छ।’
पार्टी पावर दिए मात्र चिम चम्किने हो तर पार्टी पावर नदिईकन चम्किन सकिन्छ भन्ने सोचाइ पार्टीध्यक्षको भन्दै नेता ओलीले त्यस्तो कार्यशैली नअपनाउन सुझाव दिनुभयो।

उच्चस्तरीय राजनीतिक संयन्त्रका बारेमा नेता ओलीले तीन ठूला दलका ठूला नेताको मात्र संयन्त्र हो, यो वैधानिक पनि छैन र त्यो पावर हाउससँग नजोडिएको संयन्त्रको शक्ति पनि छैन भन्दै पावर हाउसबिना हजार वाटको बल्ब आफूलाई नेताहरूले नठान्न चेतावनी दिनुभयो। उहाँले संविधानसभाका सबै दलको सहमतिमा संयन्त्र भए मात्र त्यो उच्चस्तरीय राजनीतिक संयन्त्र हुन सक्ने बताउनुभयो।

एमालेका अर्का प्रभावशाली नेता प्रदीप नेपालले नयाँ खालको अवधारणा राख्दै विस्तृत शान्तिसम्झौता र त्यसपछि सात दल र तत्कालीन माओवादीबीच भएको सहमतिको असहयोगी कुन-कुन पार्टी बनेका छन्, त्यसको पहिचान गरी र्सार्वजनिक गर्नुपर्ने बताउनुभयो।

‘माओवादीले आफ्ना लडाकूको समायोजन संविधान निर्माणपछि मात्रै र सरकारले संविधान निर्माणअगाडि नै गर्ने भनेको उल्लेख गर्दै त्यति खेर भएको सम्झौता र सहमति के थियो, त्यो बाहिर ल्याएमा यो विवाद स्वतः अन्त हुनेछ’ -नेपालले भन्नुभयो। नेपालले उच्चस्तरीय राजनीतिक संयन्त्रका विषयमा टिप्पणी गर्दै तीन नेताहरूको चिया बिस्कुट खाने थलो मात्र हो भन्नुभयो।

प्रधानमन्त्रीका सल्लाहकारसमेत रहनुभएका केन्द्रीय सदस्य रघुजी पन्तले आगामी जेठ १४ गते संविधान जारी नभए पुनः ताजा जनादेश लिएर मात्र संविधान बनाउनुपर्ने धारणा राख्नुभयो।
बैठकमा केन्द्रीय सदस्यहरूले संविधान निर्माण र शान्तिप्रक्रियालाई प्रमुख कार्यभारका रूपमा लिई एमालेले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने, सरकार र पार्टी दुवैले प्रभावकारी रूपमा काम गर्न नसकेको, राष्ट्रिय सहमति निर्माण गर्न नसके त्यसको जिम्मेवारी नेताहरूले लिनुपर्नेजस्ता कुराहरू उठाएका थिए।

बैठकमा सदस्यहरूले उच्चस्तरीय राजनीतिक संयन्त्रले आचारसंहिताविपरीत सरकारका बारेमा छलफल गर्ने भन्नु आफैंमा बेठीक भएको र त्यसबारे बोल्ने अधिकार संयन्त्रलाई कसले दियो भनी प्रश्न उठाएका थिए।

बैठकमा लालबाबु पण्डित, प्रकाश ज्वाला, काशीनाथ अधिकारी, दलबहादुर राना, ललित बस्नेत, टुकराज सिग्देल, तुलबहादुर गुरुङ, थममाया थापा, ममता गिरी, रामचन्द्र यादव, उर्वादत्त पन्त, महमद आलम, गरिमा शाह, अग्नि खरेल, किरण गुरुङ, सत्यनारायण मण्डलले पनि बोल्नुभएको थियो

One Response

  1. ho yasari nai sabailaai kanuna ko dayaramaa lyaunu parcha . satya ho ya hoina yo sabai patta lagaera kanuni karbahi garnu ati aabasyaka cha. ho yaha rajaniti ko aada liera diniyamaa ladai garne haru janatalaai dukha dine sabai laai eka eka gari karbahi garnu sarkar ko daitya ho.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: