‘युरोपमा पर्यटन प्रबर्द्धन गरिरहेका छौं’:- राजदूत प्रमेशकुमार हमाल


नेपालको कूटनीतिक सम्बन्धका बारेमा हुने गरेको बहस पछिल्लो समय केही फेरिएको छ । रणनीतिक महत्व भएका छिमेकी र केही शक्ति मुलुकबाहेक अरूसँगको कूटनीतिको खास महत्व अर्थतन्त्रसँग गाँसिएको हुन्छ । यस अर्थमा अबको बाटो भनेकै आर्थिक कूटनीतिको हो । मुलुकको समृद्धिमा मद्दत पुर्‍याउने यही आर्थिक कूटनीति र युरोपसँगको सम्बन्धका बारेमा यो साता हामीले युरोपेली संघ र बेनेलक्स -बेल्जियम, नेदरल्यान्ड र लेक्जेम्बर्ग) राष्ट्रका लागि नेपाली राजदूत प्रमेशकुमार हमालसँग कुराकानी गरेका छौं । व्यवस्थापनमा स्नातकोत्तर गरेका हमाल राष्ट्रसंघका लागि नेपालका स्थायी उपप्रतिनिधिसमेत रहिसकेका छन् । दुई वर्षअघि ब्रसेल्स गएका एमालेसमद्ध कूटनीतिज्ञ हमालसँग  कुराकानी

दुई वर्षअगाडि जुन योजना बनाएर ब्रसेल्स जानुभएको थियो, अहिले समीक्षा गर्दा आफूलाई कहाँ पाउनुहुन्छ ?

युरोपेली संघ र बेनेलक्स -बेल्जियम, नेदरल्यान्ड र लक्जेम्बर्ग) मुलुकसँग नेपालको सम्बन्ध विकसित गर्ने, पारस्परिक सहयोग विस्तार गर्ने र आपसी हितका कुरालाई अभिवृद्धि गर्ने हिसाबले एउटा राजदूतको भूमिका निर्वाह गर्ने जिम्मेवारी मलाई दिइएको हो । म दुई तीनवटा सम्भावना हेरेर गएको थिएँ । पहिलो, युरोपसँग नेपालको सम्बन्ध अझ प्रगाढ बनाउने । दोस्रो, शान्ति प्रक्रियाका निमित्त युरोपेली संघको समर्थन र सहयोग प्राप्त गर्नेे । त्यसमा हामीले राम्रो सहयोग प्राप्त गर्‍यौं । जस्तो, आन्दोलनका बेला पनि युरोपेली संसद्बाट महत्त्वपूर्ण निर्णय पारित भएका थिए ।

संविधानसभा निर्वाचनमा युरोपेली आयोगबाट १ सय २० जनाको, युरोपेली संसद्बाट ११ जनाको उच्चस्तरीय पर्यवेक्षक टोली आएको थियो । नेपालको संविधान निर्माण प्रक्रियामा उनीहरूले ठूलो आर्थिक र नैतिक सहयोग गरेका छन् । त्यतिमात्र होइन, युरोपियन संघले हामीलाई सहयोग गर्न ५ वर्षको लागि राष्ट्रिय रणनीति पत्र -सीएसपी) बनाएका छन् । त्यसअन्तर्गत गत वर्ष तीन वर्षका लागि ६ करोड मिलियन युरो -झन्डै साढे ६ अर्ब रुपैयाँ) सहयोग राशिको सम्झौतामा मैले हस्ताक्षर गरेको थिएँ । त्यसबाहेक हामीले होरिजेन्टल एअर सर्भिस एगि्रमेन्ट गरेका छौं जसले गर्दा हामीलाई उडान भर्न अझ सजिलो हुन्छ । बेनलक्स मुलुकका व्यवसायी र उद्योगपतिलाई नेपालको विविध सम्भावनामा लगानी गर्न प्रोत्साहित गरेका छौं । यस आधारमा मलाई सन्तोष नै लागेको छ । तर गर्ने काम अझै नभएका होइनन् ।

तपाईंकै कार्यकालमा युरोप र नेपालबीच सीधा हवाई उडान पुनः सुरु भयो । पर्यटन प्रवर्द्धन र त्यसलाई विस्तार गर्नेतर्फ कस्तो कदम चाल्नुभएको छ ?

नेपालमा शान्ति प्रक्रिया र स्थायित्व कायम हुने बित्तिकै अधिकतम संख्यामा युरोपेलीहरू नेपाल आउन आतुर छन् । हाम्रो प्रयत्नमा आरके फ्लाईले आम्स्टरडम र काठमाडौं उडान गत वर्ष सुरु गर्‍यो । उडानका कारण पनि बजार विस्तार हुन्छ । सँगै हामीले पर्यटन प्रवर्द्धनमा बढी प्रचारप्रसार गर्नुपर्छ । उनीहरूलाई नेपाल सुरक्षित पर्यटक गन्तव्य रहेकोमा विश्वस्त तुल्याउनुपर्छ । त्यो प्रयास हामीले गरिरहेका छौ ।

दूतावासको अर्को महत्त्वपूर्ण प्रयास नेपालमा लगानी भित्र्याउने पनि हो । युरोपको लगानीकर्ताका दृष्टिकोणबाट हेर्दा नेपाल अहिले कस्तो देखिन्छ ?

नेपालमा लगानीका लागि सबै कुरा ठीक छ । नियम कानुन राम्रा छन् भन्ने उनीहरूको बुझाइ छ । तर, बन्द-हडताल, चन्दा र लोडसेडिङ आदिजस्ता कुराहरूले लगानीका लागि भरपर्दो र उपयुक्त वातावरण बनिनसकेको उनीहरू ठान्छन् । हामीले यी कुरा हटाउन सक्यौं भने उनीहरू लगानी गर्न तयार हुनेछन् । तर हामी अहिले संक्रमणकालीन अवस्थामा छौं । यसका आफ्नै किसिमका विशेषता हुन्छन् । सबै कुरा तुरुन्तै र सहज रूपमा प्राप्त हुन सक्दैन । राजनीतिक तहको समस्या समाधान गरेपछि आर्थिक एजेन्डालाई प्राथमिकता दिनुपर्छ । राजनीतिक इच्छाशक्ति चाहिन्छ । त्यसलाई सहयोग गर्ने निकायहरू हुनुपर्‍यो । कानुन र नीति हुनुपर्‍यो । त्यसअनुसारको जनशक्ति पनि हुनुपर्‍यो । लगानीका लागि कम्पनी र वित्तीय संस्था हुनुपर्‍यो ।

त्यसैगरी अन्तर्राष्ट्रिय लगानीकर्तासँग हाम्रो पहँुच हुनुपर्‍यो । लगानीको खाँचो रहेको जलस्रोतमा संसारभरका लगानी आकषिर्त गर्न सक्छौं । करिब ३० लाखभन्दा बढी नेपालीहरू सार्क क्षेत्रभन्दा बाहिर काम गर्छन् । हामीले हाम्रो जनशक्तिलाई अर्ध दक्षमात्र बनाउन सक्यौं भने रेमिटेन्स त्योभन्दा धेरै बढी पाउन सक्छौं ।

युरोपमा नेपाली सामग्रीकोे कस्तो बजार छ ?

युरोपमा हाम्रो हस्तकलाको राम्रो बजार छ । बेनलक्स मुलुकमा बजार ठीकै छ । तर, हाम्रा सामग्रीको गुणस्तर र विश्वसनीयता कायम गर्ने, नियमित आपूर्ति गर्नेजस्ता कुरा हुनुपर्छ । केही समयअगाडि त्यहाँ नेपालको चाँदीको गहनाको गुणस्तरमा प्रश्न उठेको बुझिएको छ । हामीले तयारी पोसाक नियमित आपूर्ति गर्न र गुणस्तर विश्वसनीयता कायम गर्न सकेका छैनौं । यी केही उदाहरणमात्र हुन् ।

युरोपियन संघले नेपाललाई ईबीए -एभि्रथिङ्स बट आर्मस्) अन्तर्गत उनीहरूको बजारमा पहुँच दिएको छ । यसअन्तर्गत हामीले गत वर्षसम्म १०/१२ हजार मेटि्रक टन चिनी निकासी गथ्यौर्ं । तर, यो वर्ष नेपालमै चिनीको अभाव भएको हुनाले पठाउन सकेनौं । त्यसका अलावा, युरोपियन संघले नेपाललाई गार्मेन्ट प्रोडक्टका सम्बन्धमा ‘रुल्स अफ ओरिजिन’बाट पछाडि हटेर सुविधा दिएको छ । नेपालबाहेक अर्को एउटा राष्ट्रले मात्र यस्तो सुविधा प्राप्त गरेको छ । तर, यसबाट हामीले अधिकतम फाइदा लिन सकिरहेका छैनौं ।

त्यसको निमित्त के हुनुपर्छ ?

त्यसका निमित्त सबैभन्दा पहिला हामीले हाम्रो उत्पादन पहिचान गर्नुपर्‍यो । हामी कुन देशमा जान सक्छौं, कुन कुरामा प्रतिस्पर्धा गर्न सक्छौं, के उत्पादन गर्दा हामीले सबैभन्दा बढी बजार सुरक्षित गर्न सक्छौं भन्ने निश्चित गर्नुपर्‍यो । केही कुरा त हामीले निश्चित पनि गरिसकेका छौं । जस्तो, पर्यटन । त्यसका निम्ति पर्यटक आकषिर्त हुने गतिविधि हुनुपर्‍यो । सुरक्षित वातावरण हुनुपर्‍यो । त्यसअनुसारको पूर्वाधार विकास हुनुपर्‍यो ।

त्यतिमात्र होइन, उत्पादन विविधीकरण पनि आवश्यक छ । हाम्रो अर्गानिक कफी अन्तर्राष्ट्रिय बजारमा आकर्षणको केन्द्रमा छ । तर, थोरै र व्यक्तिगत तहमा बिक्री गर्दा हाम्रो अर्थतन्त्रलाई सम्भावनाअनुसार सहयोग पुग्न सकेको छैन । हामीले यसलाई कमर्सियल ट्रेडिङको रूपमा विकास गर्न सक्नुपर्छ । त्यसका लागि ठूलो परिमाणमा उत्पादन हुनुपर्छ । त्यसबाहेक त्यसबाहेक अरू धेरै जडिबुटीजन्य उत्पादन छन्, जसको हामी अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सक्छौं ।

युरोपमा नेपाली लगानीकर्ताको अवस्था कस्तो छ ?

नेपालीहरू युरोपमा सानोतिनो लगानीकर्ताका रूपमा विकास भएका

छन् । केही केही त ठूला लगानीमा पनि छन् । युरोपमा रहेको सानोतिनो लगानी पनि नेपाल ल्याउन सकियो भने त्यो ठूलो लगानी हुनसक्छ । त्यसैले हामी गैरआवासीय नेपालीलाई पनि आकषिर्त गर्नुपर्छ ।

युरोपेली संघ विश्व राजनीति रंगमञ्चमा एउटा महत्त्वपूर्ण खेलाडी भएर उदाइरहेको छ । नेपालमा यसको कस्तो रुचि छ ?

अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका निमित्त युरोपेली संघ एउटा बेग्लै शक्तिका रूपमा अगाडि आइरहेको छ । उनीहरू आफ्ना समर्थक बढाइरहेका छन् । उनीहरूले चीनसँग सम्बन्ध स्थापित गरेका छन् । हालै सरकारप्रमुख स्तरमा बैठक गरेका छन् । हामीसँग पनि उनीहरूको सम्बन्ध विस्तार हुँदै गइरहेको छ । क्षेत्रीय स्थिरता र विकासमा मद्दत पुर्‍याउने भएकाले हाम्रो स्थिरता र विकासमा उनीहरूको रुचि छ । हामी प्रत्येक वर्ष उनीहरूसँग संयुक्त आर्थिक परिषद्को बैठक गर्छौं । तर, हामीले सधैं सहयोगको अपेक्षामात्र गर्नुहुँदैन । आफैँ सक्षम पनिहुनुपर्छ । त्यसको निमित्त कूटनीति सञ्चालन गर्नुपर्छ ।

युरोपेली संघबाट के सिक्न सकिन्छ ?

युरोपियन संघ ठूलो शक्तिको रूपमा उदय भएको छ । यो एउटा २७ वटा सानादेखि ठूला देश अटाएको प्रजातान्त्रिक संस्था पनि हो । उनीहरूले कसरी मिलेर एक ठाउँमा रहन सकिन्छ भन्ने उदाहरण पेस गरेका छन् । विश्व राजनीतिमा नयाँ अस्तित्व विकास गरेका छन् । अमेरिकाको जीडीपीभन्दा युरोपियन संघको जीडीपी बढी छ । आर्थिक रूपमा मात्र होइन, राजनीतिक र सांस्कृतिक रूपमा पनि युरोपको पहिचान अगाडि बढाइरहेका छन् । यसबाट हामीले पनि सिक्नुपर्छ जस्तो मलाई लाग्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: