श्रीमान्ले दिएका अनगिन्ती दुःख:-नायिका मौसमी मल्ल 


आर्मी परिवारमा जन्मिएकी हुँ म । सानैदेखि खेलकुद क्षेत्रमा रुची थियो । खेलाडी बनेर देशविदेशमा नाम कमाउने सपना देख्थँे । माध्यमिक तहमा पढ्दै गर्दा एथलेक्टिसको राष्ट्रिय खेलाडी बन्न पनि सफल भएँ । खेलबाहेक नृत्यमा पनि मेरो राम्रो दक्खल थियो । तर, हिरोइन बन्ने सपना भने थिएन मेरो । फिल्मी क्षेत्रमा म मौसमी मल्ल भनेर चिनिए पनि मेरो खास नाम विष्णु ठकुरी हो । चितवन जिल्लामा अहिले पनि खेलाडी विष्णु ठकुरी भनेर मलाई चिन्ने धेरै छन् । 

बिहे गरेर पोखरा गएपछि म नायिका बनेँ, नायिका मौसमी मल्ल । बिहेपछि मेरो अभिनययात्रा सुरु भयो । यससँगै मेरा संघर्ष र दुःखका दिन पनि सुरु भए । त्यसबेलादेखि सुरु भएका संघर्ष र दुःख अहिलेसम्म जारी छन् । यिनले मलाई भोलि छोड्ने छैनन् भन्ने लाग्छ । 

*** 

म घरको एक्लो सन्तान, बाआमाले दस कक्षामा पढ्दै गर्दा १५ वर्षको उमेरमा नै पोखराको केटासँग बिहे गरिदिनुभयो । पन्ध्र वर्षकी केटीलाई श्रीमती र बुहारीको जिम्मेवारीबारे के नै थाहा हुन्छ र ? अहिले यस्तो लाग्छ- त्यो बिहे मेरो बालापनको हरण थियो, मेरो हाँसो-खुसीको अपहरण थियो । स्कुले पोशाकमा सजिएर साथीसँगीसँग हाँसखेल गर्दै स्कुल जानुपर्ने उमेरमा मैले सिन्दूर/पोतेमा बाँधिएर ‘घर’ गरिखानुपर्‍यो । तर, बाआमाप्रति मेरो कुनै गुनासो छैन । उहाँहरूले मेरोे राम्रो नै सोच्नुभएको थियो । 

दाम्पत्यजीवन भनेको के हो ? प्रेम केलाई भनिन्छ ? यस्ता कुरा थाहै नपाई म बच्चाकी आमा भएँ । एस.एल.सी परीक्षा दिँदा मेरो पेटमा बच्चा थियो । अरूहरूजस्तै स्वतन्त्र भएर परीक्षा दिन पाएको भए मैले कति राम्रो नतिजा ल्याउँथे होला भन्ने लाग्थ्यो । तथापि, मैले एस.एल.सी राम्ररीनै पास गरेँ । 

*** 

२०४० सालमा बी.एस. थापाले निर्देशन गरेको ‘कान्छी’ फिल्ममा बच्चाको भूमिकाबाट अभिनय सुरु गरेँ । त्यसबेला मेरो चार महिनाको छोरो थियो । राम्रो नृत्य गर्न सक्ने बच्चीका रूपमा मैले चितवनमा परिचय बनाएको थिएँ । म चितवनबाट बिहे गरेर पोखरा आएको थाहा पाएपछि निर्देशक थापाले मलाई खोजेर त्यस फिल्ममा खेल्ने अवसर दिनुभएको हो । त्यसबेला मैले परिवारमा निकै संघर्ष गरेरमात्रै फिल्म खेल्न पाएँ । 

श्रीमान्को जागिरको कारण पोखरामा एक वर्ष बसेपछि काठमाडौँ आए । काठमाडौँ आएपछि कलेज पढ्ने रहरले पद्मकन्या कलेज भर्ना त गरेँ, तर त्यसबेलासम्म दोस्रो बच्चा भइसकेकाले पढ्ने रहर पूरा हुन सकेन । सँगैका साथीहरू कलेज पढ्न गएको देख्दा मलाई पीडा हुन्थ्यो । 

काठमाडौँ बस्न थालेको चार वर्षपछि निर शाहले निर्देशन गर्नुभएको पच्चीस वसन्तमा दोस्री नायिकाको रूपमा अभिनय गर्ने अवसर पाएँ । यसमा अभिनय गरेपछि एकाएक मेरो माग बढ्यो । मैले ‘भाग्यरेखा’, ‘तिलहरी’, ‘भुमरी’ गरी आधा दर्जन फिल्ममा अभिनय गरेँ । तर, सिनेमाको पर्दामा जुन भूमिका गरिरहेको हुन्थेँ, वास्तविक जीवनमा पनि म त्यही भूमिकामा थिएँ । अर्थात्, फिल्ममा शोषणमा परेको पात्रको रोल गरिरहँदा वास्तविक जीवनमा पनि म घरेलुहिंसाबाट पीडित भइरहेकी हुन्थेँ । 

काठमाडौँमा सुरुका एकदुई वर्ष त श्रीमान्बाट राम्रै माया पाएँ । तर, पछि श्रीमान्मा एकाएक परिवर्तन आयो । त्यसपछि म श्रीमान्बाट अनेकौँ प्रताडना सहन बाध्य भएँ । श्रीमान्बाट धुस्नो हुनेगरी कैयौँपल्ट चुटिएँ म । अन्य दुव्र्यवहारका त के कुरा गर्नु र ? 

श्रीमान्लाई म र दुईवटा छोराभन्दा अर्कै प्रेमिका प्यारी भइसकेकी थिइन् । सानातिना कुरामा पनि उनी मलाई शारीरिक र मानसिक यातना दिन्थे । ‘बाहरवाली’  सित रंगिन जीवन बिताउन थालेपछि ‘घरवाली’ को अनुहार देख्यो कि रिस उठ्दोरहेछ श्रीमान्हरूलाई । मेरो श्रीमान् बाहरवालीको प्रेममा पागलनै भएका थिए । उनलाई मेरो चिन्ता त छँदै थिएन, दुई जना अबोध छोराहरूका पनि वास्ता गर्दैन थिए । श्रीमान्बाट भनिसाध्य नहुने पीडा पाएँ, तर पनि कसैलाई भन्न सकिनँ । सर्वसाधारण महिला भएको भए श्रीमान्ले कुट्यो भन्दै हिँड्न सजिलो हुन्थ्यो होला । तर, फिल्मजगतकी एउटी स्थापित नायिकाले त्यसरी भन्दै हिँड्न कहाँ सक्थी र ? स्टार हुनु भनेको धेरै बन्धन र अप्ठ्यारामा पर्नु हो । भित्र हजार पीडा र दुःख सहनु परे पनि बाहिर खुसीको नाटक गरेर हिँड्नु पर्ने बाध्यता थियो । फिल्मी-जिन्दगी बाँचेर फिल्म खेलिरहँे ।

**** 

छोराहरूको भविष्यका लागि धेरै दुःख-पीडा सहेर भए पनि केही वर्ष श्रीमान्सँगै बसेँ । यो एकप्रकारको सम्झौता थियो । तर, जब श्रीमान्ले अर्की श्रीमती ल्याए, त्यसपछि सम्बन्धबिच्छेद गर्नुबाहेक अर्काे विकल्प देखिनँ । जतिसुकै स्थापित र जतिसुकै चर्चित नायिक भए पनि आखिर म यौटी नारी थिएँ र, एउटा नारीले श्रीमान्बाहेक अरू सबै कुरा बाँड्न सक्छे । 

नारीका दुस्मन नारी नै हुन् भन्ने सत्य मैले राम्ररी बुझेँ । वास्तवमा श्रीमान्भन्दा बढी त्यस महिलाप्रति मेरो घृणा र गुनासो छ, जसले मेरो जीवन तहसनहस गरिदिई । 

सम्बन्धविच्छेदअघि श्रीमान्लाई दुई छोरा र श्रीमती हुँदाहुँदै दोस्री श्रीमती ल्याउनुको कारण धेरैपल्ट सोधेँ, तर उत्तर पाइनँ । उत्तरको सट्टा यातना पाएँ । ती दिनहरूमा मैले बेहोरेको पीडा र मैले बगाएका आँसु सम्भिmँदा मलाई अहिले अत्यास लागेर आउँछ । तर, मैले इमानदार भएर भन्नुपर्छ- तिनै पीडा र आँसुले मलाई अघि बढ्ने ऊर्जा दिएका हुन् । 

अदालतमा सम्बन्धविच्छेदका लागि उभिएको त्यो क्षण मेरो जीवनको सबभन्दा सुखद् र दुखद् क्षण थियो । सुखद्- किनभने म श्रीमान्का प्रताडनाबाट मुक्त हुँदै थिएँ । र दुखद् यसअर्थमा कि अब मैले समाजका अनेक प्रश्नका सामना गर्नुपथ्र्याे । तर, श्रीमानसँग रहँदा पाएका दुःखका कारण उसबाट टाढिनु मेरा लागि पीडाको विषय भएन, अलिकति पनि भएन । 

धेरै महिला श्रीमान्ले दोस्री श्रीमती ल्याएपछि पनि श्रीमान्सँगै बसेका छन् । मलाई के लाग्छ भने ती महिला, जोसँग कुनै विकल्प हुँदैन, श्रीमान्का पीडा र यातना सहेर पनि ऊसँगै बस्न बाध्य हुन्छन् । तर, मसँग थुप्रै विकल्प थिए । मसँग दुई छोरा र आफूलाई पाल्न सक्ने क्षमता र साहस थियो । त्यसैले मैले सम्बन्धविच्छेद गरँे । 

***** 

मैले श्रीमान्सँग नौ वर्ष बिताएको थिएँ । यस अवधिमा एउटी श्रीमतीले श्रीमान्बाट पाउने मायाको खासै अनुभव गर्न पाइनँ । बरु, ‘म लोग्ने हुँ’ भन्ने दम्भपूर्ण र विकारग्रस्त मनोविज्ञान भएको पतिदेव भनाउँदाहरूबाट श्रीमतीहरू कति पीडित हुन्छन्, त्यसको प्रशस्त अनुभव गर्न पाएँ । 

तर, सम्बन्धविच्छेदपछि पनि मैले पीडा र प्रताडनाको शृंखलाबाट मुक्ति पाइनँ । श्रीमान्सँग रहँदा उसबाट प्रताडित भएँ, श्रीमान्बाट छुट्टएिपछि समाजबाट प्रताडित भएँ । पीडा दिने मामिलामा सिंगो समाज कुनै ‘टिपिकल लोग्ने’ भन्दा कम रहेनछ । 

श्रीमान्सँग छुटेपछि समाज र आफन्तका मलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो, आमूल परिवर्तन भनेजस्तो ! ‘कसैसँग सल्किएकी थिई होला, र त लोग्नेले छाड्दयो’ भन्न थालेका थिए मान्छेहरू । तर, ‘त्यसको लोग्ने अर्कीसँग सल्केकाले उसले त्यसलाई छाडिदिई’ भन्ने कोही भएनन् । 

श्रीमान्सँग बस्दा कामबाट राती अबेर घर फकिर्ंदा कसैले केही भन्दैनथे, तर सम्बन्धविच्छेदपछि बेलुका अलिकति ढिलो हुँदा छरछिमेक र साथीसङ्गी कुरा काटिहाल्थे । मेराअगाडि केही नभने पनि मेरापछाडि नराम्रा कुरा गरिहाल्थे । एक्लै भएपछि हरेक पाइला विचार गरेर चाल्नुपर्दाे रहेछ । पहिले श्रीमान्सँग बस्दा मलाई चरित्रवान् देख्नेहरू पछि एक्लै भएपछि मलाई चरित्रहीन देखिरहेका थिए । यस्तै हो समाज ! मान्छेहरू अरूका छोरीबुहारीलाई चरित्रहीन भनेर आफ्ना छोरीबुहारीलाई सतीसावित्री साबित गर्न खोजिरहेका हुन्छन् । 

आफ्ना दुई सन्तानको भविष्य सम्झेर म समाजका शंका, उपशंका, आरोप, आक्षेपआदि सबैको बेवास्ता गर्दै अघि बढेँ । एक्लो जीवनमा पीडा जति भए पनि केही स्वतन्त्रता भने हुँदोरहेछ । कुनै काम गर्दा श्रीमान्, सासुससुराले के भन्लान् भनेर डर मान्नुनपर्ने ! 

***** 

श्रीमान्सँग छुट्टएिपछि केही समय माइत गएर बसेँ । माइती पनि श्रीमान्सँग जानु र एक्लै जानुमा फरक हुँदोरहेछ । म एक्ली छोरी भएकाले बाआमाबाट मैले सबै खालका सहयोग पाएँ । तर, माइतीमा बस्दा पनि समाजको मलाई हेर्ने दृष्टिकोण भने उस्तै थियो । सबैका नकारात्मक नजरबाट हुने पीडा र तनावबाट मुक्त हुन आफ्ना दुई छोरालाई चितवनमा बाआमाको घरमा छाडेर म बेल्जियमतिर लागेँ । बेल्जियममा पनि हाइसञ्चो त कहाँ थियो र ? तर, हरेक पाइलामा सहनुपर्ने आलोचनाबाट भने म मुक्त थिएँ । नेपालमा ब्युटिसियनसम्बन्धी काम गरेकाले बेल्जियममा पनि त्यही काम गरेँ । 

बेल्जियममा चार वर्ष बसेर नेपाल फर्किएपछि एकल महिला समूहमा आबद्ध भएर महिलाहिंसाविरुद्ध काम गर्न सुरु गरेँ । एकल महिलाका पीडा र समस्याका भुक्तभोगी भएकाले एकल महिलाको पक्षमा काम गर्न मलाई धेरै सजिलो भयो । त्यही अभियानमा एकल महिलासम्बन्धी वृत्तचित्र बनाएर देशव्यापी प्रदर्शन पनि गरेँ । अहिले पनि महिलाहिंसाविरोधी अभियानमा लागेर काम गरिरहेकी छु । 

***** 

बिहेको प्रस्ताव लिएर धेरै पुरुष आए र आइरहेका पनि छन् । मेरी आमा पनि मलाई घरजम गरेर बस भनिरहनुहुन्छ । तर, बिहे भन्नासाथ म आतंकित हुन्छु । उसो त, कहिलेकहीँ गाह्रो-अप्ठ्यारोमा सहयोग गर्ने र साथ दिने कोही भइदिए कति जाति हुन्थ्यो भन्ने नलाग्ने होइन । तर, आफ्नो ध्वस्त वैवाहिक जीवन सम्भिmनासाथ झसंग हुन्छु । त्यसैले पुनः बिहे गर्ने कल्पनासम्म गरेकी छैन । 

सम्बन्धविच्छेदपछि फिल्मीक्षेत्रबाट लामो समय हराएँ म । एक हिसाबले पलायन भएँ भने हुन्छ । तर, सबै कुरा मिलाएपछि तेह्र वर्षपछि फिल्म ‘गिरफ्तार’ निर्माण गरेर यस क्षेत्रमा पुनः आएँ । 

मलाई मेरो जीवन पनि फिल्मजस्तै लाग्छ । महिलाहिंसालाई समेटेर बनाइएका फिल्मका कथा मेरै कथाजस्ता लाग्छन् । म आफँैले खेलेको ‘तिलहरी’ त झन् मेरै कथाजस्तो लाग्छ । तिलहरीमा सानै उमेरमा बिहे भएकी एउटी महिलाले श्रीमान्बाट शारीरिक र मानसिक यातना पाएकी छे भने समाजबाट मानसिक यातना । यसबाहेक मेरो जीवनसँग मेल खाने धेरै फिल्म छन् । 

आफ्नै जीवनका घटनालाई समेटेर फिल्म बनाउने योजनामा छु । मेरो कथा हजारौँ नेपाली महिलाको कथा हो । मेरो कथामाथि बनाइएको फिल्म सुपरहिट नहोला र ? 

2 Responses

  1. नमस्कार! वास्तव भन्ने हो भने यस्ता सणेन्त्र धेरै परिवार मा हुन्छ । यस्लाई नै गिन्दगी भनिन्छ । तर मौसमी मल्ल जि को गिन्दगी फिलिमी गिन्दगी जस्तै हो रहिछ । र म भन्न चाहान्छु! मौसमी जि तपाईंको गिन्दगिलाई समेटेर फिल्म बनाउनु भयको फिल्म जरुर सफल हुनिछ । बकी त म बाट केनै सुझाब दिना सक्छु र ? God Bless u and ur family ..हो तपाईं को श्रीमानले सचैन सणेन्त्र गर्नु भयको रैछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: