प्रवासमा नेपाली श्रमिकको हितमा समाचार


काठमाडौंबाट खाडी बुझिन्न

दिनेश रेग्मी

           ‘अहिलेको शताब्दीमा समाज उत्थानमा मिडियाको भूमिका अग्रपंक्तिमा छ, प्रवासमा नेपाली श्रमिकको हितलाई ध्यान राखेर समाचार दिनुहोला ।’ कतारबाट नियमित प्रकाशित कान्तिपुर प्रवास साप्ताहिकको हालै दोहामा सम्पन्न वाषिर्कोत्सवको अवसरमा शुभकामना दिँदै एकजना इन्जिनियरले भनेका थिए । पत्रिकाप्रति प्रवासी नेपालीको अगाध माया देखेर यसलाई अझै उपयोगी बनाउने जिम्मेवारी एकातिर थियो भने अर्कोतिर पत्रिकाको दुईवर्षे यात्रा सुरुवातको झल्झली याद आइरहेको थियो, जुन यात्राले हामीलाई प्रवासमा ल्याएको थियो । त्यो बेला काठमाडौंमा कान्तिपुर दैनिकको चौथो तलाको ठूलो हलभित्रको एउटा सानो कोठामा बैठक डाकिएको थियो । यो दुई वर्षअघि, ठ्याक्कै भन्नुपर्दा ०६४ पुस ४ गतेको कुरा हो । तर त्यो दैनिक पत्रिकाको नियमित बैठकभन्दा अलि बेग्लै थियो । त्यो थियो- दोहाबाट कान्तिपुर प्रवास साप्ताहिक प्रकाशन गर्नेबारे ।

त्यसको केहीअघि व्यवस्थापन र सम्पादकसहितको टोली दोहा आएर सम्भाव्यताबारे बुझेर फर्केको थियो । त्यो टोलीले खाडीमा कान्तिपुरको बजारमात्र होइन, आवश्यकता पनि रहेको निक्र्योल निकालेको थियो । त्यसैलाई मूर्तरूप दिने सिलसिलामा बैठक बसेको थियो । बैठकमा कान्तिपुर सम्पादकीय समूहका प्रमुखहरूसहित यही साप्ताहिकका लागि छुट्टाइएका हामी सातजना थियौं, जुन टिम कान्तिपुर दैनिकमै कार्यरत मध्येबाटै तयार गरिएको थियो ।

हुन त यो बैठकको एक वर्षअघि पनि दोहाबाट पत्रिका प्रकाशन गर्ने भनेर एउटा टिम बनेको थियो । त्यो बेला हामीले पत्रिकाको एउटा नमुना अंक नै तयार गरेका थियौं । तर निस्कनसकेको थिएन । अझै त्यसअघि पनि दोहाबाट निकाल्ने कुरा भएको थियो । तत्कालीन शाही शासनको देशभित्र मिडिया संकटमा परेकाले परदेशको योजना थाती राखिएको थियो ।

उद्देश्य लिएर लागिपरे पूरा हुन्छ भनेजस्तै यो बैठक पत्रिका सुरुवाततर्फ केन्दि्रत थियो । पत्रिका निकाल्ने निश्चित भएपछि हामी के-कस्ता विषयबस्तु समेट्नुपर्छ भन्नेमा केन्दि्रत थियौं । सम्पादकले कतारको वस्तुस्थिति, नेपालीको अवस्था, पत्रिकामा समट्न सकिने विषय आदिबारे जानकारी गराए । ‘जसले विदेशमा पसिना चुहाएर रेमिट्यान्स सहयोग गरेका छन्, उनै नेपाली ठगिएका छन्, । हो, तिनलाई हामीले टेवा पुर्‍याउनुपर्छ’, उनले भनेका थिए । त्यो बैठकदेखि नै हामी दोहामा पत्रिका निकाल्नेबारे कस्सिन थाल्यौं । पत्रिका त निकाल्ने भनियो, तर पाठकहरूले कस्तो सामग्री चाहेका छन् भन्ने प्रतिक्रिया पाएका थिएनौं । यो हाम्रो योजनामात्र थियो, जुन पाठकबाट मूल्याङ्कन हुन बाँकी थियो ।

हाम्रो टिममा कार्यविभाजन गर्‍यौं, जसअनुसार स्वदेशदेखि विदेशसम्म, गाउँघरदेखि सहर-बजारसम्मका विविध विषय कसरी समेट्ने भन्नेमा छलफल गर्दै समाचार सामग्री तयार गर्‍यौं । जिल्ला र केन्द्रमा कार्यरत साथीहरूसँगबाट पनि थप विषयहरू खोजी गर्‍यौं । बढी ध्यान वैदेशिक रोजगारसम्बन्धी विषयमा केन्दि्रत हुन्थ्यो । रिपोर्टिङकै क्रममा ०६४ पुस १८ गते राजधानीमा आयोजित एउटा कार्यक्रममा गम्भीर विषय जानकारीमा आयो- एउटी नेपाली चेलीलाई कुवेतको अदालतले मृत्युदण्डको फैसला सुनाएछ । ती सिन्धुपाल्चोककी डोल्मा शेर्पा थिइन् । खाडीबाट फर्केका थुप्रै पीडितहरूसँग पनि काठमाडौंमा भेट हुँदै जान थाल्यो । यस्ता घटनाले वैदेशिक रोजगारीका गम्भीरताहरू पनि खुल्दै गए । कल्पनामा वैदेशिक रोजगार जति मीठो छ, यथार्थ कति कटु छ भन्ने प्रस्ट भयो । हुन त वैदेशिक रोजगारीमा दुःख गरेर सुख-सुविधा पाएकाहरू पनि प्रशस्त भेटिएका छन्, तर पत्रिकामा सुखभन्दा दुःख पाउनेहरूकै बढी सम्पर्क हुन्थ्यो ।

रिपोर्टिङका विषयवस्तु कतारमा बढी केन्दि्रत भए । पत्रिका त्यहींबाट निस्कने भएकाले यो जरुरी थियो । काठमाडौंमा यो पत्रिकाको तयारी चल्दै गर्दा साथी देवेन्द्र भट्टराई कतार हान्निए- रिपोर्टिङका लागि । उनी आएपछि दैनिकजसो सम्पर्क भइरह्यो, जसबाट यता र उताको विषयवस्तु समेट्न सजिलो भयो । यसरी ०६४ माघ ११ गतेदेखि कान्तिपुर प्रवास साप्ताहिकको प्रकाशन आरम्भ भयो । हो, त्यही अंकको सम्पादकीयले भनेको थियो- ‘विदेशमा सफलता-असफलताको साँधमा दुःखसुख गरिरहेका नेपालीका लागि हामी सूचना, विचार, खोजिनिती, वार्ता अभिमत, जिज्ञासा, जवाफ, गुनासा लगायत सबै आवश्यक समाचार सामग्री प्रस्तुत गर्दैछौं । पाठकहरूकै रुचि र आग्रहअनुसार परिमार्जन पनि गर्दै जानेछौं ।’

पत्रिका प्रकाशन सुरु भयो, तर पाठकका रुचिअनुसार छन् कि छैनन् भन्ने लागिरहन्थ्यो । कहिलेकाहीं त्रिभुवन विमास्थल गएर खाडीबाट फर्केकासँग सोध्थ्यौं । जतिले पत्रिका पढ्न पाएका थिए, उनीहरू नेपाली पत्रिका थपिएकामा खुसी थिए र अझ थप विषयवस्तु आवश्यक भएको जानकारी दिन्थे । यी भेटहरूबाट के थाहा हुन्थ्यो भने कोही पनि नेपाली देश-विदेश र आफ्नो गाउँ-सहरका खबरबाट बेखबर हुन चाहँदा रहेनछन्, जसलाई पत्रिकामा समेट्नुपर्छ । काठमाडौंमा रिपोर्टिङ गर्दा होस् वा डेष्कमा बस्दा खाडीमा कार्यरत नेपाली श्रमिकको चाहना कसरी पूरा गर्न सकिन्छ भन्ने सधंै जिज्ञासा भइरहन्थ्यो ।

त्यही बीचमा गल्फ टाइम्सका पत्रकार सुमन मल्ल, तत्कालीन स्थानीय व्यवस्थापक केदारनाथ ढकाल, साथी दीपक पुडासैनी र युवराज पाठक दोहाबाट काठमाडौं आउँदा भेट हुन्थ्यो । पत्रिकाको समाचारदेखि व्यवस्थापन र बिक्री-वितरणसम्मका कुरा हुन्थे । जनकपुरबाट साथी श्यामसुन्दर शशी पनि रिपोर्टिङका लागि कतार आए । कतारबाट देवेन्द्र र शशीले समाचारमात्र होइन, प्रतिक्रिया पनि पठाइरहन्थे । काठमाडौंको टिमले त्यसलाई संयोजन गथ्र्यो । एकवर्षे बसाइपछि देवेन्द्र फर्किए र शशी र्फकने बेला म यहाँ आएँ । त्यो पनि ६ महिना बितिसकेछ । लाग्छ, काठमाडौंमा जति सोधखोज गर्दा पनि थाहा नभएका विषय यहाँ आएर बुझिए । नेपालमा हुँदा खुबै सुनिन्थ्यो- काठमाडौं बसेर कर्णाली बुझ्न सकिँदैन । हो, म आफैंले अनुभव गरेको छु- काठमाडौं बसेर खाडी बुझ्न सकिँदो रहेनछ ।

अहिले भर्खर कान्तिपुर प्रवास साप्ताहिकले दोहामा दोस्रो वाषिर्कोत्सव मनाएको छ । यो समय भनेको विगतको मूल्याङ्कन गर्दै भावि योजना कोर्ने दिन हो । ठीक त्यति नै बेला सम्पादक र संयोजक दोहामै आए । यसले फिल्डमै बसेर पत्रिकाको समीक्षा र भावि योजना बनाउनमात्र सजिलो बनाएन, कतार र यहाँका नेपालीको अबस्था बुझ्न पनि ठूलो मद्दत गर्‍यो । दोहा आएदेखिको घुमफिर, मजदुर र किसान, पीडितदेखि व्यवसायी, पेसाकर्मी र विज्ञसँगको भेटले पत्रिकालाई धेरै सुझाव दिएका छन् । आसपासका साउदी अरेबिया, युएई, बहराइन र कुवेतबाट नेपालीहरूले पत्रिकालाई खाडीभरि नियमित बनाउन भनिरहेका छन् । उनीहरूको आवाज छ- ‘यसले नेपाल र बाहिर रहेका नेपालीबीच सेतुको काम गर्नुपर्छ । संविधान निर्माणमा प्रवासी नेपालीका भावनाहरू ठाउँमा पुर्‍याउनुपर्छ ।’

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: