पटकको ६ हजारका दरले १२ हजार रियाल (२ लाख ४० हजार रुपैयाँ) को बिल


  कतारबाट सिक्ने कुरा

    अखण्ड भण्डारी   

 तनहुँका टुकनाथ अधिकारीले १३ मिनेटमा दुईपटक रातो बत्तीमा गाडी कटाए । भोलिपल्टै उनलाई पटकको ६ हजारका दरले १२ हजार रियाल (२ लाख ४० हजार रुपैयाँ) को बिल आयो । पैसा कमाउन प्रवास पसेका उनले खेलाँचीमै यत्रो जरिवाना तिर्नुपर्‍यो । उनका लागि यो ठूलो भार भए पनि कतारमा यस्ता घटना सामान्य मानिन्छन् । सडकमा गाडी लिएर हिँड्ने को कति बेला कति जरिवानामा पर्छ, उसैलाई थाहा हुँदैन । त्यो मात्र जोगिन्छ जसले सवारी नियम पूरा पालना गर्छ । कतारमा धूलो-धूवाँ खाँदै ट्राफिक प्रहरी बाटो ढुकेका देखिँदैनन् । तैपनि चालक नियममा बाँधिनैपर्छ । कारण के भने- जरिवाना कडा छ ! र, त्यसलाई हेर्न सडक किनारमा छोटोछोटो दूरीमा क्यामेरा राखिएका हुन्छन् ।

यस्तै नियम मिच्दा नेपालमा ५० देखि दुई सय रुपैयाँ जरिवाना लाग्छ । नियम उल्लंघन गर्ने सवारीचालक ट्राफिकको सिठी छल्दै भाग्यो भने त्यो पनि जोगिन्छ । उस्तै ट्राफिक रहेछ र २०-३० रुपैयाँ खल्तीमा हालिदियो भने कुरै सकिन्छ । हो त्यही भएर हाम्रो सडकमा अराजकता छ । नियम मिच्ने, अपराध गर्ने, तोडफोड मच्चाउने, अवरोध पुर्‍याउने सबैका लागि सजिलो ठाउँ सडक बनेको छ ।

हाम्रो देशमा दुईथरी जनता छन्- हुने खाने र हुँदा खाने । हुने खानेको दादागिरीले हुँदा खाने भोकभोकै छन् । राज्य जनताप्रति जिम्मेवार छैन । सरकार देशप्रति गम्भीर छैन । राज्यले ऋणमा डुबेर बनाएका सुविधा पनि सर्वासाधारणले निर्वाध प्रयोग गर्न पाएका छैनन् ।

अहँ, कतारमा त्यस्तो छैन । अर्कालाई बाधा पर्ने हरेक काम यहाँ निषेधित छ । यहाँको चार किल्लामा बस्ने र पस्ने हरेकले कडा अनुशासनमा रहनुपर्छ । केही वर्षअघि ३ जना नेपाली कलाकार राति सडकमा फिटान भएको अवस्थामा प्रहरी फन्दामा परे । नाम चलेका ती कलाकार करिब एक साता खोरमा थुनिए । तत्कालीन राजदूतको कूटनीतिक पहलले उनीहरू केही जरिवाना तिरेर जेलमुक्त भए ।

कलाकार नभएको र राजदूतले पहल नगरेको भए उनीहरूलाई कम्तीमा प्रतिव्यक्ति १० हजार रियाल जरिवाना र २ वर्ष कैद हुन्थ्यो । प्रतिष्ठित कलाकार भनेर कतार सरकारले सम्झौता गर्‍यो र उनीहरूको इज्जत जोगियो । नेपालजस्तो दारु खाएर मनपरी गर्न अन्यत्र कहाँ पाइन्छ ? जहाँ गए पनि जात जनाउन कहाँ मिल्छ ? हामी प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा पुग्यौं । यी सबै स्वतन्त्रताका चरण हुन् । अब हामी स्वतन्त्रताको यस्तो चरामोत्कर्षमा पुग्यौं कि यसपछि कोहीसँग केही माग्ने ठाउँ छैन । तर, त्यसले हामीलाई संस्कार दिन सकेको छैन । अर्कालाई सम्मान गर्न सिकाएको छैन । आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अर्कालाई धक्का लागे पनि हामी ‘लोकतान्त्रिक माफी’ पाइरहेका छौं । जघन्य अपराधलाई पनि राजनीतिक शक्तिका आडमा सफाइ दिइरहेका छौं ।

कतारमा बन्द-हडताल गर्नासाथ प्रहरी खोरमा पुगिहाल्छ । सडकमा कसैले अनावश्यक उभिनै पाउँदैन । उद्योग धन्दामा श्रमिक र व्यवस्थापनका समस्या छलफल वा कानुनी रूपमा मिलाउनुपर्छ । हडताललाई कानुनले रोकेको छ । काम हुनुपर्छ, दाम दिनुपर्छ ।

हामीकहाँ ठीक उल्टो छ । बन्द र हडताल गरेन भने लोकतान्त्रिक अभ्यास नै पूर्ण हुँदैन ! हामीले स्वतन्त्रता चिन्न सकेको छैनौं । अराजकतालाई स्वतन्त्रता भनेर छुट पाइरहेका छौं । स्वतन्त्रतालाई बन्द र हडताल ठानिरहेका छौं । भएका कलकारखाना बन्द गराएर खाडी छिरिरहेका छौं । आयोजनाहरू चल्न दिएका छैनौं । सडकको प्रयोग टायर बाल्न र लाठी हल्लाउन गरिरहेका छौं । अनि, हामी गरिब नभए के हुने त ?

कतारमा तेल र ग्यासबाहेक केही छैन । उसले मरुभूमिमा सुन फलाइरहेको छ । हाम्रै साढे ३ लाख नागरिकलाई रोजगार दिएको छ । हामी भने सुन्दर, शान्त र प्रचुर सम्भावना भएको देशलाई कथित स्वतन्त्रताका नाममा आगो झोसिरहेका छौं । गर्न सक्दा हाम्रो देशमा के हुँदैन ? कतार तेल बेचेर धनी भएको छ, हामी पानी बगाएर गरिब भइरहेका छौं । पानी नै पानी भएको देशलाई अँध्यारोमा डुबाएका

छौं । खोला र नदीबाट पानी बगेर गएको छ । किसानका खेत-बारीमा धाँजा फाटेका छन् । हामी आकासतिर हेर्दै थाप्लामा हात राखिरहेका छौं ।

मरुभूमि र गर्मीमा आएर हामी कतार बनाइदिइरहेका छौं तर प्राकृतिक ‘एयर कन्डिसन’ भएको आफ्नो मातृभूमि बनाउन सकेका छैनौं । किनकि हामीलाई विकास, काम र उन्नतिभन्दा नाराजुलुस, बन्द-हडताल र झैंझगडा गर्दै ठिक्क छ । आफ्नो बारीमा काम गर्न लाज हुन्छ । नेताका पछि लागेर सडकमा टायर बाल्नुलाई इज्जत मानिरहेका छौं ।

हो, हामी स्वतन्त्रता साँच्चै दुरुपयोग गरिरहेका छौं । त्यसैले पछि परेका छौं । लोकतन्त्र त्यो हो जहाँ जनताले जनतालाई गर्ने जनताकै शासन हुन्छ । तर हामी नेताले जनतालाई गरिरहेको शासनलाई लोकतन्त्र भनिरहेका छौं । नेताले बन्द भन्नेबित्तिकै देश ठप्प हुन्छ । नेताले हात झिक भन्नासाथ कलकारखाना बन्द हुन्छन् । जनताका लागि राजनीति गरेको हो भने जनतालाई किन दुःख दिन्छौं ? जनतालाई किन दुरुपयोग गर्छौ ? कतारको नियन्त्रित शासनमा अनुशासन देख्दा लाग्छ- हाम्रो लोकतान्त्रिक अभ्यास त थुइया ! जनतालाई सधैं दुःख दिनु केको लोकतन्त्र ? बन्दमा अस्पताल जान नपाई सडकमा बिरामी फत्र्याकफत्र्याक पर्नु केको लोकतन्त्र ? रोजीरोटीको काममा हिँडेको मान्छेको बाटोमा मोटरसाइकल जलाइदिनु केको लोकतन्त्र ? वास्तविक लोकतन्त्र हेर्न त कतार आउनुपर्ने रहेछ !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: