‘अव्यवस्थित कामदार पठाउन रोक्नुपर्‍यो’ मधुवन पौडेल, राजदूत कुवेत


तपाईं भर्खरै मात्रै दूतावास खोल्न कुबेत पुग्नुभएको छ, नेपाली कामदारको हितमा कस्ता योजना अगाडि सार्नुभएको छ ?

यहाँजस्तो अव्यवस्थित र अनियन्त्रित किसिमले नेपाली कामदार कुनै पनि देशमा गएको जस्तो लाग्दैन । सरकारको नियम, कानुन नाघेर, मिचेर यहाँ दलालका पछि लागेर आउनेको संख्या धेरै छ । दूतावासबाट त्यसलाई व्यवस्थित गर्ने प्रयास हुनेछ । यसको निमित्त नेपाल सरकारद्वारा कामदारलाई जागरुक बनाउनु आवश्यक छ । यहाँ के काम गर्ने, कति तलब पाउने, के के अरू सुविधा छन् भन्ने कुरामा कम चासो राख्ने र लहलहैमा घरबाट भागेर आउने पनि छन् । धेरैलाई एउटा काम भनेर झुक्याई अर्को काममा लगाइएको पनि छ । जब हाम्रो देशमा सरकारी संयन्त्र छ, सरकारद्वारा इजाजत लिएर बसेका म्यानपावर कम्पनी छन् भने किन दलालको पछि लागेर चोरी बाटोबाट आउने ? यसबारे सरकारले कामदारलाई सञ्चारमाध्यमद्वारा नेपालमा नै जानकारी दिनुपर्छ । मैले सुरुदेखि नै दूतावासले लागू गर्ने एउटा खाका तयार गरेको छु । जसअनुसार नेपाली कामदार ल्याउने कुनै व्यक्ति वा कम्पनीले पहिले दूतावासलाई जानकारी दिने र सहमति लिने । नेपालमा श्रम स्वीकृति लिने र त्यसपछि कामदार आउनासाथ कामदारका कागजातहरूको १-१ प्रतिलिपि उपलब्ध गराई दूतावासले तोकिएको संस्थाबाट कामदारको बिमा गराउनुपर्नेछ । भारतबाट आउने कामदारको निमित्त पनि यस्तो व्यवस्था गरिएको छ । यसका लागि व्यक्तिगत र कम्पनीमार्फत आवेदन गर्ने बेग्लै ढाँचाको र्फम हुनेछ । एजेन्सीले व्यक्ति अर्थात् स्पोन्सरको तर्फबाट ल्याउन चाहेको हो भने उसले दुवै विवरण पेस गनुपर्नेछ । सुरुमा केही कठिनाइ र झन्झट परे पनि यसले कामदारको विषयमा जानकारी राख्न मद्दत गर्नेछ । कुनै पनि बेला केही  समस्या परेमा हामीलाई सम्पर्क गर्न अथवा उद्धार गर्नुपर्ने रहेछ भने त्यसमा मद्दत पुग्नेछ ।

नेपाली कामदारको समस्या कस्तो देखिरहनुभएको छ ?

यहाँको समस्या राम्रोसँग बुझेको छैन । दूतावास पनि खुलिसकेको छैन, केही स्थानीय प्रक्रिया पूरा गर्न बाँकी छ । तर समग्र रूपमा नेपाली कामदारप्रति यहाँ राम्रो धारणा छ । तैपनि यहाँ बसोबास गरिरहेका नेपाली समुदाय भेट गर्दा, कुरा सुन्दा समस्या निकै ठूलोजस्तो लाग्छ । यी समस्या सजिलै हल गर्न सम्भव छैन । यहाँको कानुनअनुसार चल्नुपर्छ । यसो हेर्दा खासगरी श्रमसम्बन्धी कानुनी परिधिबाहिरका घरेलु कामदारका समस्या बढी विकराल देखिन्छन् । काम गर्ने घरबाट भाग्ने भगाउने क्रम यहाँ निरन्तर रहेछ । यहाँको सरकारलाई पनि यसबारे ज्ञान छ । त्यसरी भागी गैरकानुनी भएर बस्नेलाई समयसमयमा आममाफी हुने रहेछ ।  यो वर्ष अहिलेसम्म त्यस्तो भएको

छैन । तर गएकोपल्ट आममाफी पाउँदा डकुमेन्ट लिएर बस्ने, तर नजाने छन् भन्ने सुन्छु । त्यस्तो हो भने अर्कोपल्टको निमित्त कागजात उपलब्ध गराउन गाह्रो पर्छ । अरू समस्यामा तलब स्केल न्यून, जसको कारण अशिक्षा र अव्यवस्थित रूपमा  आउनु पनि हो । लामो समयसम्म काम गर्नुपर्ने पनि छन् । नेपालीहरू अरबी भाषा बुझ्दैनन । न त यहाँको रहन सहनसँग अभ्यस्त छन् । आफ्नो कागजपत्र राम्ररी सुरक्षित रहनुपर्छ भन्ने थाहा छैन । कसैसँग पूरा कागजात पनि हुन्नन् ।

कुबेत घरेलु महिला कामदारका समस्या बढी देखिने मुलुक हो, हाल महिला कामदारलाई कस्ता समस्या बढी देखिन्छन् ?

घरेलु महिला कामदारको समस्या ठूलो छ । कसैसँग पूरा कागजात हुन्नन् । नगण्य कामदार मात्रै नेपालबाट सरकारी स्वीकृति लिएर आएका छन् । घरेलु कामदारहरू कति छन्, कहाँ छन्, कस्तो अवस्थामा छन् जान्ने संयन्त्र छैन । उनीहरू श्रम कानुनअन्तर्गत पर्दैनन् । मलाई भगाएर लग्यो, बलात्कार गर्‍यो, पेट बोकायो भन्ने पनि छन् । यदि सरकारसँग स्वीकृति लिएर आएको भए यहाँ कुन एजेन्टले ल्याएको भन्ने रेकर्ड हुन्थ्यो, त्यो पनि छैन । यस किसिमको अवस्थामा आममाफी कुरेर अवैध रूपमा बसेकालाई फर्काउन प्रयास गर्ने अथवा कागजातसहित आउनेलाई यहाँको सरकारी निकाय गुहारेर फिर्ता पठाउने कारबाहीको प्रक्रिया अघि बढाउनेबाहेक अरू उपाय छैन । केही कामदार बिनाकारण पनि भाग्छन् भन्ने सुनेको छु । एकजना इरानी मूलकी एकल महिलाले राखेको नेपाली महिला तीन दिनपछि केही पनि नभनी भागेकी कुरा गर्थिन् ।

धेरै महिलाका बच्चा र गर्भवती  भएको खबर पनि सुनिन्छ नि ?

दूतावासले के गर्ने ? यो आफैं जे पनि गर्न सक्ने निकाय होइन । तर नेपाल सरकारको निर्देशन र कुवेती सरकारको कानुनी प्रक्रिया पूरा गरी केही मद्दत गर्न सकिएला । यस्ता महिलाले र्फकन इच्छा गरे भने आफूलाई पहिले प्रहरीको जिम्मा लगाउनुपर्छ, त्यसपछि दूतावाससँग त्यो निकायले कागजात तयार गर्न अनुरोध गर्छ । यस्तो प्रक्रिया छ यहाँ । दूतावास खुलेपछि त्यस प्रकारको समस्याबारे जानकारी लिई नेपाल र कुवेत सरकार दुवैलाई जानकारी दिइनेछ र समाधानको उपाय पत्ता लगाउन प्रयास गरिनेछ ।

कुवेती  अधिकारीहरूले अव्यवस्थित रूपमा कामदार पठाइरहेमा रोक लगाउने चेतावनी दिएका सन्दर्भमा के सोच्नुभएको छ ?  

कुनै चेतावनी दिएको छैन । उनीहरूको भनाइ हाम्रो देशबाट कानुनी प्रक्रिया पूरा गरी पठाउनुपर्ने भन्ने मात्र हो । बेलाबेलामा फोटो फेरिएका, केटीको नाम अगाडि मि. लेखिएका, उमेर सच्याइएका र अरू धेरै किसिमका अनियमितता भएको देख्दा उनीहरू आश्चर्य मान्छन् । कसैलाई विमानस्थलबाटै फर्काइदिने पनि गर्छन् । यस्तो प्रवृत्ति बढ्दै गएमा हामीलाई गाह्रो पर्ला । हाम्रो हेलचक्र्याइँ र अव्यवस्था बढ्दै गएको यस अवस्थामा रोक नलाग्ला भन्न सकिन्न ।

नेपाली कामदारहरू आउने, पठाउने हो भने नियम, कानुन र प्रक्रिया पुर्‍याउन नेपाल सरकारको  सम्बन्धित निकायको स्वीकृति र दूतावासको जानकारी पछि आउन पठाउने व्यवस्था हुनुपर्‍यो । तेस्रो मुलुकमा लगेर सरकारको जानकारीबिना अनियमित रूपमा आउने र पठाउने काम जसरी भए पनि तुरुन्तै बन्द गर्नुपर्‍यो । यसो नभए समस्या झन्-झन् विकाराल हुँदै जान्छ । केही वर्षअघि एउटा छिमेकी मुलुकबाट आएका कामदारको जस्तो समस्या नेपाली कामदारले भोग्नु नपरोस् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: