वैदेशिक रोजगार कतिञ्जेल ?


–     शंकर भट्टराई

यतिखेर हाम्रो देशको राजनीतिक अन्यौलता, अस्थिरता र खिचातानीका कारण आर्थिक, सामाजिक, राजनीतिक शोषण, उत्पीडनले जनता आक्रान्त बनेका छन् । दिनप्रतिदिन बेरोजगारी, भ्रष्टाचारी, रोग, भोक र शोकले छटपटाइरहेका छन् । बेरोजगारी र भ्रष्टाचारी दिन दुगुणा रात चौगुणाको दरले वृद्धि भइरहेको छ । त्यस्तै जनसंख्या पनि तीव्रगतिमा वृद्धि भइरहेको छ भने रोजगारीका अवसरहरु जनसंख्या वृद्धिको अनुपातमा बढ्नुको साटो घट्दै गइरहेको छ । प्रत्येक वर्ष ३ लाखभन्दा बढी युवाशक्ति नेपालको श्रम बजारमा उत्रिन्छ अर्थात, १८ वर्ष पुगी श्रम गर्न शारीरिक, मानसिक र शैक्षिकरुपमा योग्य हुन्छन् । तर ती तीन लाखमध्ये एक लाख जतिले पनि रोजगारीको अवसर पाउंदैनन् र बांकी दुई लाख भन्दा वढि युवा शक्ति बेरोजगारीको चपेटामा पिरोलिन्छन् । त्यहि जनशक्ती भारत, साउदी अरब, कतार, दुबई, मलेसिया, इराक, अफगानिस्तान, कुवेत, लेवनान लगायतका विदेशी गल्ली-गल्लीमा चौकीदारी, कोठी (Household Worker), या कुल्ली काम गरेरै भएपनि कमाई गर्ने र आर्थिक जीवनस्तर सपार्ने आशमा आफ्नो जवानी, रगत र पसिना सवै पराई मुलुकमा खर्चिन्छन् । यति ठूलो उर्जाशील युवा श्रमशक्ति विदेश पलायन हुंदा गाउंमा आफन्तको मृत्युपछि लास उठाउने युवा पनि पाउन गाह्रो भइसकेको छ । यो शक्ति गाउंमा बावुआमा र आफन्तको मृत्युपछिको शोक समेत विदेशी गल्ली र कोठीमा मजदूरी गर्दै मनाउन विवश भएको छ ।

अहिले खाडी मुलुक (साउदी अरब दुबइ, कतार, बहराइन, कुवेत, लेवनान) तथा मलेसिया जस्ता मुलुकमा मात्रै १९ लाखभन्दा बढी युवाहरु नुनका सस्ता ट्याब्लेटका लागी श्रम र पसिना बगाउन बाध्य छन् । जबकि नेपालको अहिलेको घरपरिवार संख्या ३६ लाख छ । यसले के देखाउंछ भने आधा घरपरिवार संख्याको प्रत्येक घरबाट एक जना ती मुलुकमा मात्रै रोजगारीको निम्ति पुगेका छन् । त्यस्तै छिमेकी मुलुक भारतमा आयआर्जन गरि घरव्यवहार चलाउनको लागि ६० लाखको हाराहारीमा नेपालीहरु त्यहां पुगेका देखिन्छन् । ३० हजारभन्दा बढी नेपाली युवाहरु त भारतीय सेनामा बलीको बोकोजस्तै बन्न विवश पारिएका छन् । अहिले खाडी मुलुक र मलेसियामा मात्रै प्रत्येक दिन ६ सयभन्दा बढी नेपाली युवाहरु रोजगारीको निम्ति विदेश पलायन भइरहेका छन् । देशको आर्थिक विकास, उन्नति र प्रगतिको निम्ति चाहिने यति ठूलो श्रमशक्ति विदेश पलायन हुनुमा देशको समग्र विकासका निम्ति दुर्दशा नै मान्नुपर्छ । यी भयानक दुरावस्थाको बारेमा हाम्रो देशको राज्यसत्ता सञ्चालनको ठेक्का लिएका राजनीतिक पार्टी र नेताले कहिले बुझ्ने हुन् ? यो रोग, भोक, शोक र बेरोजगारीले पिल्सिएका आम उत्पीडित श्रमजीवी सर्वहारा वर्गीय जनताको प्रश्न हो ।

नेपालीहरु मिठो मसिनो खाने र सुकिलो लगाउने रहरै रहरमा आफ्नो घरबारी वांझै छोडेर विदेश दौडिने र आफ्नो जन्मभूमिमै श्रम र पसिना बगाउंदापनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई बिर्सेर विदेशीको गुलामी गर्न जाने पराश्रयी परम्परा सन् १८१४ देखि १८१६ सम्म नेपाल र व्रिटिस साम्राज्यवादबीचको युद्धपछि भएको सन् १८१६ को सुगौली सन्धिपछि शुरू भएको हो ।

नेपाली युवाको साहस, बहादुरी र लडाकुपन देखेर अचम्म भएको व्रिटिस साम्राज्यवादले त्यो साहस, बहादुरी र लडाकुपनको प्रयोग गरी साम्राज्य फैलाउने सोंचले गरेको सन् १८१९ को गोर्खा भर्तीकेन्द्रको सुरुवातदेखि नै नेपाली युवाहरु व्रिटिस सेनामा भर्ना हुन थाले र त्यही बेलादेखि शुरु भएको रोजगारीको निम्ति व्रिटिस सेनामा भर्ना भई लाहुरे बन्ने यो परम्परा अंग्रेजले भारत छोडेर गएपछि गरिएको सन् १९५० को असमान सन्धिले पनि निरन्तरता दियो । युवाहरू विदेश पलायन हुने परम्पराको अन्त्य गर्नतिर हाम्रो देशका शासकहरुको चिन्तन कहिल्यै रहेन, राज्यले रोजगारीका अवसरहरु खोली युवालाई स्वदेशमै रोजगारी दिने काम कहिल्यै गरेन । बरु यसको विपरित ती विदेशी मुलुकलाई वेरोकतोक नेपाली युवाहरु सस्तो श्रममा किन्न आग्रह गर्‍यो र युवाहरुलाई रोजगारीको निम्ति विदेश पलायन हुन झन् प्रश्रय दियो । जसले गर्दा अहिले नेपाली युवाहरु सस्तो श्रममा किनिन र बेचिन बाध्य पारिएका छन् । यो नालायक पुरानो राज्यसत्ताले यति ठूलो युवा शक्ति विदेश खेदेर वैदेशिक रोजगारीबाट यति विदेशी मुद्रा भित्रियो, गरीबीको संख्या यति घट्यो भनेर नेपाल जनतालाई भ्रमित पारिरहेको छ । सम्पूर्ण नेपाली जनताले बुझ्नुपर्ने अनिवार्य कुरो के हो भने वैदेशिक रोजगारीले हामी र हाम्रो देशको आर्थिक स्तर उकास्ने होइन दीर्घकालीन रुपमा हामीलाइ झन् झन् गरीबी र बेरोजगारीको भासमा भास्सिरहने छ । किनभने वैदेशिक रोजगारी भनेको चिरकालको लागि होइन क्षणिकमात्रै हो ।

नेपालीमा एउटा उखान प्रचलनमा छ ‘बांदरले आफ्नो घर पनि बनाउंदैन, अर्काको घर पनि बनाउन दिंदैन भत्काइदिन्छ ।’ यहां त्यस्तै भइरहेको छ । संविधान सभाको चुनावपछि सबैभन्दा ठूलो दलको रुपमा उपस्थित भएको एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले ल्याएको युवा स्वरोजगार कार्यक्रम जुन कार्यक्रमले बेरोजगारी जनतालाई आफै रोजगारी गर्नलाई २ लाखसम्म ऋण अनुदान दिन निर्णय गरिएको थियो । त्यस्तै सस्तो सहकारी पसल अन्तर्गत उपभोक्तालाई सस्तो मूल्यमा वस्तु उपलब्ध गराउने र जनतालाई सहकारीमा सहभागी गराई आयस्तर बढाउने उद्देश्यले ल्याएको युवा स्वरोजगार र सस्तो सहकारी पसलको कार्यक्रमलाई राजनीतिक स्वार्थका कारण बाइस दलीय एमाले नेतृत्वको सरकारले बेपत्ता बनाएको छ । गरीबी, अभाव र बेरोजगारीले छट्पटाइरहेका जनताको पहिलो चाहना र आग्रह के हो भने जनपक्षीय कार्यक्रम जुनसुकै राजनैतिक दलले ल्याएको भएपनि त्यसलाई कार्यान्वयन हुन दिनुपर्छ भन्ने हो । नेपाल अहिले यो दुर्दशामा हुनुका धेरै कारणमध्ये राजनीतिक स्वार्थपूर्तिमा देखापरेको बांदरे प्रवृत्ति एउटा प्रमुख कारण हो । त्यसैले समग्र देश र जनताको भलाई निम्ति दलगत तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न र बांदरे प्रवृत्तिको अन्त्य हुन जरुरी छ ।

अब यो देशको राज्यसत्ताले नेपाली युवाहरुलाई रोजगारीको निम्ति कतिञ्जेल विदेश खेद्ने ? स्वदेशमै उद्योगधन्दा खोली रोजगारीको अवसर निर्माण गर्ने कहिले ? के यसरि नै नेपालको सम्पुर्ण समस्या समाधान हुन्छ ? बेरोजगारी नियन्त्रण हुन्छ ? हरेकले सोच्नैपर्ने विषय हो यो । तसर्थ यी समस्याहरूको संवोधन गर्नका लागी अब बन्ने नयां संविधानमा युवाहरुलाई स्वदेशमै रोजगारी दिन, सीप क्षमताको विकास गर्न छुट्टै युवा मन्त्रालयको व्यवस्था गरिनुपर्छ । सम्पूर्ण युवालाई राज्यले नै रोजगारीको प्रत्याभुती दिनुपर्छ, विदेश जान चाहनेलाइ उचित तालीमको व्यवस्थापन गर्नुपर्छ । यति गर्न नसके युवा बेरोजगार भत्ता दिनुपर्छ, अनिमात्र युवाले सांच्चिकै नयां नेपालको अनुभूति गर्नेछन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: