नेपालमा एनआरएनको भूमिका


डा. कुमार बस्नेत
२०६६ माघ १० –
                 नेपालीहरु परदेश पुगि त्यस देशको  भाषा, संस्कृति, रहनसहनमा भिजेर, प्रवासलाई आफ्नो कर्मभूमि बनाउने क्रम लिच्छविकालदेखि नै सुरु गरिएको हो । सातौं शताब्दीतिर नेपालकी राजकुमारी भृकुटीले  तिब्बतका राजा स्रोङसान गन्पोसँग विवाह भएपछि तिब्बतमा बुद्ध धर्म फैलाएर ल्हासामा प्रसिद्ध स्तुपाहरू जोकहान र पोत्ला बनाउन लगाई तिब्बतको विकासमा ठूलो योगदान पुर्‍याएको कुराहरू इतिहासमा पढ्न पाइन्छ । भृकुटीले उक्त समयमा तिब्बत र भुटानमा आफ्नो मातृभूमि नेपाललाई चिनाउने काममात्र नगरी दुई मुलुक बीचको मैत्री सम्बन्धमा नै उल्लेखनीय भूमिका निभाएकी थिइन् । त्यसैकारण भृकुटीलाई आज पनि हामीले धेरै सम्मान गर्ने गरेका छौं । भनिन्छ, त्यस समयमा नै भृकुटीले नेपालबाट कालिगड  झिकाइ, कलात्मक मन्दिरहरू बनाएर त्यस क्षेत्रमा कुशल नेपाली कालिगडीको परिचय दिएकी थिइन् ।

त्यस्तै १३ औं शताब्दीमा अरनिकोले प्रवासबाट नै आफ्नो कालिगडीको माध्यमले नेपाललाई विश्वसामु चिनाएका थिए । १२ वर्षको उमेरमा अरनिको तत्कालीन चीनका सम्राट कुब्लाई खानको निमन्त्रणामा बुद्ध मन्दिरहरूका स्तुपा बनाउन चीन गएका थिए । अरनिकोको क्षमताबाट प्रभावित चिनियाँहरूले उनीलाई विशेष सम्मानित कलाकारको दर्जामा राखे । उनका कामहरू चीन र तिब्बतमा मात्र सीमित नभई भियतनाम, कम्बोडियासम्म फैलियो । अरनिकोद्वारा निर्मित सेतो स्तुपा अझै पनि बेइजिङको आकर्षकको रूपमा देख्न पाइन्छ । उक्त सेतो स्तुपा भएको ठाउँमा अहिले अरनिकोको सालिक नेपाल र चीनको मित्रताको प्रतीक बनेर उभिएको

छ । तत्कालीन चीन सरकारबाट विशेष नागरिकको उपाधिद्वारा सम्मानित भएका अरनिकोले आफ्नो जीवन चीनमा नै बिताएका थिए । अरनिको आज पनि नेपालीका लागि प्रेरणाका स्रोत हुन् । यसरी भृकुटी र अरनिको हाम्रालागि प्रेरणादायी गैरआवासीय नेपाली -एनआरएन) का उदाहरणहरू हुन् । हुन त त्यसबखत यो शब्द प्रयोगमा थिएन, तर पनि सार्क मुलुक बाहेकका देशहरूमा वर्षको १८३ दिन वा सोभन्दा बढी बस्ने नेपाली अथवा नेपाली मूलका विदेशी नागरिक र उनीहरूका परिवारलाई एनआरएन भनिँदै आएको हुँदा भृकुटी र अरनिकोलाई सुरुका एनआरएन भन्दा अत्युक्ति नहोला ।

सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज -भारत उपनिवेश भएको समय) बीचको युद्धमा गोर्खाली सैनिकले देखाएको विरताप्रति अंग्रेजहरू प्रभावित भएका थिए । नेपाल र तत्कालीन अंग्रेजबीच भएको सुगौली सन्धिमा अंग्रेजहरूले नेपालीहरूलाई आफ्नो सेनामा भर्ती गर्न पाउने कुरा पनि उल्लेख थियो । सुगौली सन्धिपश्चात नेपालीहरू गोर्खा सैनिकका नाममा अंग्रेज सेनामा भर्ना भई विश्वभर आफ्नो वीरता देखाएर विश्वमाझ नेपाललाई चिनाएका छन् । त्यसता गोर्खा सैनिकहरू आज पनि भारतीय र बि्रटिस सेनामा कार्यरत छन् । भारतीय र बि्रटिस सेनामा काम गरेका कतिपय गोर्खा सैनिकहरू आफूले सेवा गरेकै ठाउँमा बसोबास गरेका धेरै उदाहरण पाउन सकिन्छ । यसरी नेपालीहरू विभिन्न कारणबाट लामो समयदेखि नै प्रवासिँदै आएका छन् । कहिले बुहारी भएर त कहिले विदेशी सेनामा भर्ती भएर कहिले अवसरको खोजीमा त कहिले आफ्ना बालबच्चाहरूको राम्रो भविष्यको सपना बोकेर प्रवासिएका छन् । आज नेपालीहरू प्रवासिने क्रमले शिखर छोएको छ र सार्क मुलुक बाहेककै देशहरूमा २६ लाख नेपालीहरू प्रवासमा रहेका छन्, जसमा ६० प्रतिशतभन्दा बढी खाडी मुलुक र मलेसियामा छन् । विदेशमा पेसा व्यवसाय गरेर बसेका यिनै गैरआवासीय नेपालीहरूले पठाएको रेमिटेन्सबाट नै वर्तमान नेपालको अर्थतन्त्र चलिरहेको छ । 

गैरआवासीय नेपालीहरू प्रवासिने इतिहाससँगै आफूलाई प्रवासमा पनि स्थापित गराउन सफल भएको पाइन्छ । विदेशमा पेसा गरेर बसेका गैरआवासीय नेपालीको संख्या बढी भए तापनि गैरआवासीय नेपालीहरूले व्यापार व्यवसायमा पनि राम्रो गरिसकेको अवस्था छ । विश्वका उच्चशिक्षण संस्था, रिसर्च इन्स्िटच्युट, कम्पनीदेखि लिएर अन्तर्राष्ट्रिय संस्थासम्म नेपालीहरूको उपस्थिति पाइन्छ । हाल नेपालको ठूलो बौद्धिक जनशक्ति पनि विदेशमा रहेको अवस्था छ । यी गैरआवासीय नेपालीहरूलाई नेपालको विकासमा कसरी परिचालन गर्ने भन्ने पनि आगामी दिनका चुनौती हुन् ।

लामो समयदेखि विदेशमा गैरआवासीय नेपालीका रूपमा धेरै नेपालीहरू बसोबास गर्दै आए तापनि गैरआवासीय नेपालीहरूको नेपालप्रतिको माया, सद्भाव, समृद्ध नेपाल देख्ने सपना र त्यस समृद्ध नेपाल निर्माणमा आफ्नो योगदान गर्ने चाहना र आफू जहाँ रहे पनि नेपाली भएर बाँच्न चाहने आफ्नो इच्छाहरूमा भने कमी आएको पाइँदैन । सन् १९९० को अन्तिम दशक र सन् २००० को सुरुमा जब भारत-चीनजस्ता नेपालका ठूला मित्रराष्ट्रहरूले आफ्ना गैरआवासीय नागरिकलाई राष्ट्रनिर्माणमा सहभागी गराउनथाले, त्यसपश्चात गैरआवासीय नेपालीहरूले पनि संगठित भई गैरआवासीय अभियानको संस्थागत सुरुवातको आवश्यकताको मनन गरेका हुन् । त्यसकै फलस्वरूप गैरआवासीय नेपालीहरूले ‘नेपालीका लागि नेपाली’ भन्ने नारा लिएर सन् २००३ अक्टोबरमा गैरआवासीय नेपाली संघ -एनआरएनए) को विधिवत स्थापना गरी आफ्ना गतिविधिहरूलाई संस्थागत गर्दै आएका छन् । यसक्रममा  गैरआवासीय नेपालीहरूले नेपालका साना-ठूला समस्याहरूको समाधानमा आवासीय नेपालीसँग हातेमालो गरेका छन् । देशमा दैविक प्रकोपको बेला होस् या राजनीतिक घटनाले देशलाई पिरोलिरहेको अवस्था, गैरआयासीय नेपालीहरूले सहयोग गर्न पछि हटेका छैनन् ।

नेपालभित्र गैरआवासीय नेपालीहरूलाई विभिन्न किसिमका नजरबाट हेरिँदै आएको छ । कसैले विदेशमा बस्ने धन कमाएका नेपाली या नेपालमा लगानी गर्नसक्ने नेपाली त कसैले  विदेशी नै हो कि भन्ने नजरले पनि हेर्ने गर्छन् । समृद्ध नेपाल हेर्न चाहने यी गैरआवासीय नेपालीहरूले जब नेपालमा आवत-जावत गर्न नेपालमा धनसम्पत्ति राख्न, त्यसको सजिलोसँग उपयोग गर्ने या नेपालमा लगानी गर्ने आजको विश्व मान्यतामा अति साधारण भनिएका जस्ता कानुन निर्माण र हालको कानुनको परिमार्जका कुरा गर्छन्, त्यसबखत यी गैरआवासीय नेपालीहरूलाई यदाकदा शंकाको दृष्टिले हेरिने गरिन्छ । यस्ता गतिविधिहरू गैरआवासीय नेपालीले आफ्ना स्वार्थका लागि गर्नलागेका हुन् भनिन्छ, तर वास्तविक रूपमा भन्नुपर्दा यी नेपालीहरूको स्वार्थ भनेको नै विश्व मानचित्रमा नेपाललाई समुन्नत राष्ट्र देख्न चाहने चाहनामात्र नै हो ।

लामो विदेश बसाइबाट गैरआवासीय नेपालीहरूले के सिकिसकेका छन् भने आफू जति नै सम्पन्न भए तापनि आफ्नो राष्ट्र सम्पन्न नभई अन्तर्राष्ट्रिय जगतमा सम्मान पाइँदैन । यस्ता अनुभवहरूको सुरुवात कुनै पनि विकसित राष्ट्रको विमानस्थलमा उत्रेर नेपालको  पासपोर्ट देखाउँदाबाट नै सुरु हुने गर्छ । विमानस्थलमा गरिने व्यवहार व्यक्तिको सम्पन्नतामा होइन कि कुन देशको नागरिक हो भन्ने कुराले निर्धारण हुन्छ । नेपाली र नेपाली मूलका विदेशी नागरिक भएर विश्वका विभिन्न ठाउँमा पाएका अपहेलनाबाट गुजि्रएका र ‘एकफेरिका नेपाली सधैंको नेपाली’ भन्ने कुरालाई आधार बनाएका यी गैरआवासीय नेपालीलाई आफ्नो मातृभूमिको विकासको अभावले सताउँछ । यस्ता अनुभव सिर्फ हामी नेपालीले मात्र गर्दै आएका होइनौं, धेरै विकासोन्मुख राष्ट्रहरूका नागरिकहरूको प्रायः यही कथा हुने गर्छ । छिमेकी मुलुक भारत र चीनका नागरिक पनि केही समय अघिसम्म यस्तै अनुभवबाट गुजि्ररहेका हुन् र यी राष्ट्रको विकाससँगै अब उनीहरूका लागि त्यस्तो समय दोहोरिएला जस्तो देखिँदैन ।

गैरआवासीय नेपालीहरूले विगतमा र अहिले झनै  नेपालको विकास चाहेका छन्, उनीहरू सम्पन्न नेपालको अभियान चलाएर नेपालीहरूको समग्र विकासमा सहभागी हुन चाहन्छन् । गैरआवासीय नेपालीहरू नेपालको चौतर्फी विकासका लागि सिर्फ आर्थिक लगानीमात्र नभई बौद्धिक लगानी गर्न पनि सक्षम भइसकेको अवस्था छ । मुलुक द्वन्द्वग्रस्त रहँदा पनि गैरआवासीय नेपालीहरूले रेमिटेन्स भित्र्याउन छाडेनन्, आफ्नो लगानीको सुरक्षा नहँुदा पनि उनीहरूले नेपालमा लगानी गर्नबाट पछि हटेनन् । वर्तमान नेपालको विकासका लागि मेरूदण्ड बन्नसक्ने यी नेपालीहरूलाई अन्यथा नहेरी भावनात्मक रूपमा नेपालको समग्र विकासमा सहभागी गराउन आवासीय नेपाली र नेपाल सरकारका हरेक अंगहरूले गैरआवासीय नेपालीहरूका अनुरोधहरूलाई विशेष महत्त्वका साथ विश्लेषण गरी कार्यान्वयनमा ढिलाइ गरिनु हुँदैन । इतिहासदेखि वर्तमानसम्म गैरआवासीय नेपालीहरू नेपाल र नेपालीको हितमा नै अघि बढेका कुरालाई बिर्सन हुँदैन ।

लेखक गैरआवासीय नेपाली संघ -एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता हुन् ।

basnet31@gmail.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: