के गर्दै छन् पञ्चायती प्रधानमन्त्रीहरू ?


काठमाडौं, ७ माघ

तालतालको जीवन बिताइरहेका छन् पञ्चायतकालका प्रधानमन्त्रीहरू । उनीहरू प्रायः राजनीतिबाट विरक्तिएका छन्, त्यसैले दिल बहलाउने लतमा लागेका छन् ।पञ्चायतकालका ६ प्रधानमन्त्रीमध्ये तीनजना मरिचमानसिंह श्रेष्ठ, कीर्तिनिधि विष्ट र तुलसी गिरी राजनीतिबाट पलायन भएका छन् भने लोकन्द्रबहादुर चन्द पनि राष्ट्रिय राजनीतिमा छैनन् । नगेन्द्रप्रसाद रिजालको मृत्यु भइसकेको छ । सूर्यबहादुर थापा मात्र सक्रिय राजनीतिमा छन् ।

पञ्चायतकालीन प्रधानमन्त्रीमध्ये मरिचमानले धेरै वर्षसम्म कुखुरा फार्म चलाए । धापासीस्थित आफ्नै घरपरिसरमा उनको फार्म थियो । तर, प्रधानमन्त्रीमा जस्तै कुखुरा व्यवसायमा पनि असफल भएपछि उनले फार्म हटाएका छन् ।

त्यसो त उनले खोलेको सेभ द नेसन पार्टीले पनि केही गर्न सकेन । त्यसैले सबै छोडेर उनी पुराना साथीहरूसँग कोठेगफमै सीमित छन् । कोठेगफमा पनि उनीहरूबीच कुनै योजना बन्दैन, बसिबियाँलो मात्रै हुन्छ ।

साँझमा कहिलेकाहीँ दारु खाने मरिचमान चुरोट भने निरन्तर पिइरहन्छन्, चिया पनि पिइरहन्छन् । ‘चुरोट छाड्नैपर्‍यो भनेर डाक्टरले पटक-पटक भने, तर के गरौँ, छोड्नै सक्दिनँ,’ उनले नयाँ पत्रिकासित भने ।

स्वास्थ्यप्रति उति उदासीन भने उनी होइनन् । ‘म त योगा गर्छु, रामदेवको योगाले निक्कै फाइदा पनि भएको छ,’ उनले भने । बाँकी समयमा उनी पत्रपत्रिका पढ्छन्, टेलिभिजन हेर्छन् ।

सूर्यबहादुर थापा पनि ८४ वर्षका भए, तर समकालीनहरूभन्दा उनी बढी फूर्तिला र सक्रिय छन् । उनको खाना खाने स्टाइल पनि गजबको छ । ‘वरिपरि आठ/दसजना कार्यकर्ताको मण्डली राख्ने र गफ गर्दै खाने उहाँको बानी छ, कार्यकर्ता चिया पिउँछन्, उहाँ -थापा) रमाइलो गर्दै खानुहुन्छ,’ राप्रपा नेता खेमराज पण्डित भन्छन् । पण्डित पनि कुनैवेला थापाको खानामण्डलीका सदस्य थिए ।

खाना खाँदा थापा कार्यकर्ताहरूसँग राजनीतिक ठट्टा गर्छन् । ‘व्यंग्य गर्दै मनोरञ्जन गर्ने र त्यही लयमा खाना खाने उहाँको अनौठो बानी छ,’ पण्डितले भने ।

जनशक्ति अध्यक्षसमेत रहेका थापा भने राजनीतिक भेटघाट र छलफलमै समय बिताउँछन् । उनी प्रायः हरेक दिन बिहान साढे चार बजे ब्युँझन्छन् र ओछ्यानबाट निस्केपछि करिब एक घन्टा घरको कम्पाउन्डवरिपरि मर्निङवाक गर्छन् ।

‘मर्निङवाक’लगत्तै थापा आफ्नै घरसँगै जोडिएको कान्छीबहिनीको घरमा गएर चिया पिउँछन् । बहिनीको घरैमा पत्रपत्रिका पढ्छन् र टेलिभिजन हेर्छन् ।

बहिनीको घरबाट फर्केपछि साढे एघार-बाह्र बजेतिर खाना खान्छन् । खाना खाइसकेपछि करिब एक घन्टा सुत्छन् । उठेपछि राजनीतिक कार्यक्रममा सहभागी हुन्छन् ।

उनलाई भने सरकारले स्कर्टिङसहितको सुरक्षा दिएको छ । कृष्ण सिटौला गृहमन्त्री भएको वेलादेखि यस्तो सुविधा दिन थालिएको हो ।

लोकेन्द्रबहादुर चन्दले राजनीतिकभन्दा धार्मिक कार्यक्रममा बढी चासो राख्न थालेका छन् । उनी बिहान कम्तीमा एक घन्टा पूजाआजा गर्छन् भने जोगीहरूको कार्यक्रम र संगतमा बढी नै सहभागी हुन्छन् ।

उनी राप्रपा संसदीय दलका नेता हुन्, तर राजनीतिक कार्यक्रममा खासै देखिँदैनन् । ‘उहाँ धार्मिक कार्यक्रमतिर निकै आकषिर्त हुन थाल्नुभएको छ,’ छोरा जयन्त चन्दले भने । जयन्त पनि राप्रपाका केन्द्रीय सदस्य हुन् ।

अब राजनीतिबाट सन्न्यासै लिएर धार्मिक गतिविधिमै लीन हुने सोचाइ बनाएका छन् । ‘राजनीतिबाट सन्न्यास लिने सोचाइ बनाएको छु, तर अझै घोषणा भने गरिहालेको छैन,’ चन्दले भने ।

सरकारप्रति चन्दको गुनासो पनि धेरै छ । सरकारले आर्थिक व्यवस्था गरिदिएन, सुरक्षामा पनि चासो दिएन भन्ने उनको गुनासो छ । ‘पूर्वप्रधानमन्त्रीले आयआर्जनको काम गर्न सक्दैनन्, त्यसैले सरकारले जीवननिर्वाहको जिम्मा लिनुपर्छ,’ उनले भने । अन्य देशमा पनि यस्तो चलन भएकोले नेपालमा पनि लागू गर्नुपर्ने उनको तर्क छ ।

७० वषर्ीय चन्द पञ्चायतकालमा दुईपटक र संसदीयकालमा दुईपटक प्रधानमन्त्री भएका हुन् । तर, अहिले हेपिएको महसुस गर्छन् । ‘हामी त अपांगजस्तै भयौँ । केही गर्न सक्दैनौँ । अनि कसरी जीवनयापन गर्ने ?’ चन्दले प्रश्न गरे, ‘देशका लागि हामीले गरेको लगानीको मूल्यांकन खोइ ?’

पूर्वप्रधानमन्त्रीमध्ये पनि थापाको सुरक्षाका लागि ‘स्कर्टिङ’ छ । चन्द, विष्ट, गिरी र सिंहलाई त्यस्तो व्यवस्था छैन । त्यसमा पनि चन्दको गुनासो छ । ‘पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाको जिम्मा त राज्यले लिनुपर्ने हो, तर यहाँ त अनुरोध गर्दा पनि पाइएको छैन,’ उनले भने । कृष्ण सिटौला गृहमन्त्री भएको वेला फोन गरेर स्कर्टिङ पठाइदिन्छु भनेको तर कहिल्यै नपठाएको पनि उनले बताए ।

आठ महिनाअघि मण्डिखाटारमा घर किनेरै बसेका डा. तुलसी गिरी मिडियाको सम्पर्कमा आउनै चाहँदैनन् । शाहीकालीन मन्त्री टंक ढकालको सहयोगमा नयाँ पत्रिकासँग सम्पर्कमा आएका गिरीले सुरुमा सरकारसँग आक्रोश पोखे । उनलाई पनि चिन्ता सुरक्षाकै रहेछ । ‘के हामी पूर्वप्रधानमन्त्री होइनौँ ? राज्यका लागि गिरिजाप्रसाद कोइराला र म बरारबर हौँ,’ उनले भने, ‘तर यो भेदभाव किन ? सरकारले अझै पनि सक्छ भने गिरिजाप्रसाद कोइरालालाई दिएको सुविधा र सुरक्षा मलाई पनि देओस् ।’

श्रीमती सहाना योञ्जनसँग बस्दै आएका डा. गिरी अब भारत नजाने बताउँछन् । ‘म किन भारत जाने ? नेपालमै बस्छु,’ गिरी भन्छन् ।

राजाको प्रत्यक्ष शासनमा उपाध्यक्ष बनाउन उनलाई बेंग्लोरबाट बोलाइएको थियो । पञ्चायतकालमा पनि उनी ०३० देखि ०३२ सम्म प्रधानमन्त्री भएका थिए । तर, राजतन्त्र जोगाउने उनको पछिल्लो प्रयास असफल भयो । ‘राजा आफैंले खुट्टा कमाए, हामीले थेगेर के गर्नु ?’ उनी कोठेगफमा यस्तै प्रतिक्रिया दिन्छन् । गफमा शाहीकालीन मन्त्री र पूर्वअञ्चलाधीशहरू पनि हुन्छन् । शाहीकालीन मन्त्रीहरूमा पनि टंक ढकाल गिरीका सबैभन्दा नजिकका मान्छे हुन् ।

तर, सार्वजनिक कार्यक्रममा भने गिरी कतै देखिँदैनन् । पूर्वराजासँग पनि उनको भेट हुँदैन ।

८५ वर्षका गिरीको बिहान उठ्नेबित्तिकै व्यायाम, योगा गर्ने र पत्रपत्रिका पढ्ने बानी छ । निकट स्रोतका अनुसार मण्डिखाटारको घर बेचेर बुढानीलकण्ठमा किन्ने तयारी भइरहेको छ ।

पञ्चायतका अर्का प्रधानमन्त्री कीर्तिनिधि विष्ट त नामी जुवाडे हुन् । ‘पार्टनर’ पाउनेबित्तिकै उनी जुवामा नारिन्छन् । देवकीनन्दन सुरेखा उनका ‘पार्टनर’ हुन् । एक जमानामा पूर्वअञ्चलाधीश जनकबहादुर शाह उनका ‘पार्टनर’ थिए । ‘अहिले पार्टनर घटे, उमेर बढ्यो, त्यसैले खेल पनि कम भएको छ,’ उनको पारिवारिक स्रोतले भन्यो ।

विष्ट अहिले पनि हरेक दिन ‘मर्निङवाक’ गर्छन् । ज्ञानेश्वरबाट रातोपुल, गौशाला हुँदै पशुपति मन्दिर पुगेर र्फकंदा उनलाई डेढ घन्टाजति लाग्छ ।

८४ वषर्ीय विष्ट बूढो भएकाले राजनीतिबाट टाढिएको बताउँछन् । ‘यो उमेरमा म के गर्न सक्छु र ? तैपनि आफ्ना विचार त व्यक्त गरिरहेको छु,’ उनले भने । पेटको क्यान्सरबाट पीडित उनी केही समयअघि मात्र घर फर्किएका हुन्, उनको औषधि चलिरहेको छ ।

सुरक्षा र सुविधा नदिएकोमा विष्ट पनि सरकारसँग आक्रोशित छन् । ‘हामीलाई जस्तो विभेद र अन्याय तपाईंले कहीँ देख्नुभएको छ ? पञ्चायतकालका प्रधानमन्त्री भनेर यस्तो विभेद गरिएको हो, तर प्रधानमन्त्री त प्रधानमन्त्री नै हो नि,’ उनको भनाइ छ ।

फरक-फरक प्रधानमन्त्रीलाई फरक-फरक सुविधा

पञ्चायतकालीन प्रधानमन्त्रीलाई राज्यले फरक-फरक सुविधा दिएको छ । पाँचजना पूर्वप्रधानमन्त्रीमध्ये सूर्यबहादुर थापाले बहुदलकालीन प्रधानमन्त्रीसरह सुविधा पाएका छन् भने अरूले पाएका छैनन् ।

सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले सरकारी गाडी र गाडीका लागि तेल सुविधा पाएका छन् । यी दुई प्रधानमन्त्रीलाई सरकारले सुरक्षाको व्यवस्था गरेको छ । थापाका सुरक्षाकर्मीको गाडीका लागि महिनाको सय लिटर थप तेल उपलब्ध गराइन्छ । तर, थापालाई स्कर्टिङको सुविधा छ भने चन्दलाई त्यो सुविधा छैन ।

पञ्चायतकालीन दुईजना प्रधानमन्त्री कीर्तिनिधि विष्ट र तुलसी गिरीले राज्यबाट गाडी र सुरक्षाकर्मी केही पनि पाएका छैनन् । मरिचमान सिंहको सुरक्षाका लागि भने असईको नेतृत्वमा चारजना प्रहरी खटाइएको छ । उनलाई अन्य कुनै सुविधा छैन

मन्त्रिपरिषद्को १६ मंसिरको बैठकले पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीको सुरक्षा तथा सुविधाको व्यवस्था गर्न गृहसचिवको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ, कार्यदलले काम सकेको छैन ।

गृह मन्त्रालयको शान्ति-सुरक्षा शाखाका उपसचिव एकमनि नेपाल पूर्वप्रधानमन्त्रीहरूले सुरक्षाको माग गरे वा उनीहरूप्रति खतरा रहेको सूचना पाएको अवस्थामा गृह मन्त्रालयले सुरक्षा दिने बताउँछन् । ‘तर सुरक्षा चाहियो भने त उनीहरूले पनि माग गर्नुपर्‍यो नि,’ नेपाल भने ।

सुरक्षाको स्थिति हेरेर फरक-फरक व्यक्तिलाई फरक-फरक सुरक्षा दिनु स्वाभाविक रहेको उनको भनाइ छ । ०४६ सालपछिका सबै प्रधानमन्त्रीलाई सुरक्षा दिइएको तर त्यसअघिकालाई अवस्था हेरेर मात्र व्यवस्था गर्ने उनले बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: